काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेइजिङ भ्रमणले कुनै ठोस नतिजा दिन नसकेको चर्चा सेलाउन नपाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । विश्व राजनीतिका दुई शक्तिशाली नेता सी जिनपिङ र पुटिनबीचको यो भेटले विश्व शक्ति सन्तुलनको पारो ह्वात्तै बढाएको छ । एकातिर युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध, अर्कोतिर पश्चिमा देशहरूसँगको चिसिँदो सम्बन्धका बीच पुटिनको बेइजिङ भ्रमणले अबको विश्व राजनीति चीन र रुसको बलियो गठबन्धनको वरिपरि घुम्नेछ । ट्रम्पको बाहिरी तामझामभन्दा पुटिनको भित्री र रणनीतिक निकटताले विश्वको ध्यान पूर्णरूपमा बेइजिङतर्फ तानेको छ । युक्रेन युद्ध, मध्यपूर्वको तनाव, ऊर्जा राजनीति र अमेरिकासँगको चिसिँदो सम्बन्धको पृष्ठभूमिमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा भेटवार्ता भएको हो । यी दुई नेताले रुस र चीनबीचको सम्बन्ध अभूतपूर्व उचाइमा पुगेको र यो सम्बन्ध रणनीतिक रूपमा अत्यन्त बलियो रहेको दाबी गर्नुभएको छ । दुई दशकभन्दा लामो समयदेखि सत्तामा रहनुभएका पुटिनको यो २५औँ चीन भ्रमण हो । चिनियाँ राष्ट्रपति सीले पुटिनलाई पुरानो मित्र भन्दै विशेष स्वागत गर्नुभएको छ । गत साता मात्रै चिनियाँ राजधानीमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई रातो कार्पेटसहित भव्य स्वागत गरिएको थियो । तर, व्यापार, सुरक्षा र मध्यपूर्वको तनावका विषयमा ट्रम्प र सीबीच कुनै पनि ठोस सहमति हुन सकेन । विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमणमा धेरै बाहिरी तामझाम देखिए पनि भित्री रूपमा त्यो भ्रमण उपलब्धिहीन रह्यो । त्यसको ठीक विपरीत, पुटिनको भ्रमणमा बाहिरी तामझाम कम भए पनि यसले दुई देशबीचको संरचनात्मक र व्यावहारिक सहकार्यलाई अझ गहिरो बनाएको छ ।
असन्तुलित तर मजबुत आर्थिक साझेदारी
रुस र चीनले आफ्नो सम्बन्धलाई सीमाविहीन मित्रताका रूपमा व्याख्या गर्दै आएका छन् । तर, अर्थतन्त्रका जानकारहरूका अनुसार यो सम्बन्ध निकै असन्तुलित छ । अहिले रुस पूर्णरूपमा चीनको आर्थिक भरमा परेको छ । पश्चिमी देशहरूले युक्रेन युद्धपछि रुसमाथि लगाएको कडा आर्थिक प्रतिबन्धका कारण मस्कोले आफ्नो व्यापारका लागि बेइजिङलाई नै मुख्य सहारा बनाउनुपरेको छ । चीन अहिले रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष दुई देशबीचको व्यापार २२८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको थियो । तर, चीनको कुल अन्तर्राष्ट्रिय व्यापारमा रुसको हिस्सा जम्मा चार प्रतिशत मात्र छ । यसले के देखाउँछ भने रुसलाई चीन जति आवश्यक छ, चीनलाई आर्थिक रूपमा रुस त्यति आवश्यक छैन ।
यसका बाबजुद पनि दुवै देशबीचको व्यापार तीव्र रूपमा बढिरहेको छ । युक्रेन युद्धमा आवश्यक पर्ने प्रविधि र उपकरणका लागि रुस पूर्णरूपमा चिनियाँ बजारमा निर्भर छ । हालै सार्वजनिक भएका रिपोर्टहरूका अनुसार रुसले आफूलाई आवश्यक पर्ने प्रतिबन्धित प्रविधिको ९० प्रतिशतभन्दा बढी हिस्सा चीनबाट नै आयात गरिरहेको छ । पश्चिमी कम्पनीहरूले रुस छाडेपछि चिनियाँ प्रविधि कम्पनी ह्वावेदेखि चिनियाँ गाडी र मोबाइल फोनले रुसी बजार कब्जा गरेका छन् । रुस यस असन्तुलनबारे जानकार भए पनि पश्चिमासँगको सम्बन्ध बिग्रिएका कारण ऊसँग चीनको भरपर्नुको अर्को कुनै बलियो विकल्प छैन ।
ऊर्जा कूटनीति र मध्यपूर्वको संकट
पुटिनको यस भ्रमणको सबैभन्दा महत्त्वपूर्ण एजेण्डा ऊर्जा सहकार्य हो । रुस अहिले चीनलाई कच्चा तेल आपूर्ति गर्ने सबैभन्दा ठूलो देश बनिसकेको छ । पश्चिमी प्रतिबन्धका कारण युरोपेली बजार गुमाएको रुसले सस्तो मूल्यमा चीनलाई तेल र ग्यास बेचिरहेको छ । यस भ्रमणका क्रममा पुटिनले मंगोलिया हुँदै चीनसम्म पुग्ने पावर अफ साइबेरिया दुई नामक प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउन विशेष पहल गर्ने अनुमान गरिएको छ । यदि यो पाइपलाइन बन्यो भने यसले वार्षिक ५० अर्ब घनमिटर रुसी ग्यास चीन पुर्याउनेछ ।
यसका साथै, मध्यपूर्वमा अहिले चलिरहेको अमेरिका, इजरायल र इरानबीचको तनावले पनि रुस र चीनको वार्तामा महत्त्वपूर्ण स्थान पाएको छ । मध्यपूर्वको तनावका कारण विश्वव्यापी रूपमा तेल र ग्यासको आपूर्तिमा असर परेको छ । चीन विश्वभर आफ्ना सामान बेच्नका लागि हर्मुज जलमार्ग जस्ता प्रमुख समुद्री मार्गहरू सधैँ खुला र सुरक्षित रहुन् भन्ने चाहन्छ । त्यसैले चीन मध्यपूर्वको तनाव चाँडै अन्त्य होस् भन्ने पक्षमा छ ।
तर, रुसको स्वार्थ भने यहाँ अलि फरक छ । मध्यपूर्वमा तनाव बढ्दा विश्व बजारमा तेलको मूल्य बढ्छ, जसबाट रुसले सिधै आर्थिक लाभ लिन्छ । साथै, मध्यपूर्वबाट ऊर्जा आपूर्तिमा समस्या आउँदा रुसले आफूलाई चीनको सबैभन्दा भरपर्दो ऊर्जा आपूर्तिकर्ताका रूपमा उभ्याउने अवसर पाएको छ । रुसले कुनै पनि परिस्थितिमा चीनको ऊर्जा अभाव पूर्ति गर्ने आश्वासन दिँदै आएको छ ।
समान विश्व दृष्टिकोण र जनस्तरको सम्बन्ध
चीन र रुसबीच कुनै औपचारिक सैन्य गठबन्धन नभए पनि उनीहरू विश्व व्यवस्थाबारे समान धारणा राख्छन् । दुवै देश अमेरिकाको नेतृत्वमा रहेको एकध्रुवीय विश्व व्यवस्थाको अन्त्य चाहन्छन् र बहुध्रुवीय विश्वको वकालत गर्छन् । उनीहरू ब्रिक्स र सांघाई सहयोग संगठन जस्ता मञ्चहरूमा सधैँ एउटै आवाज उठाउँछन् । पश्चिमी देशहरूले जस्तो मानव अधिकार वा आन्तरिक मामिलाका विषयमा यी दुई देशले कहिल्यै एक-अर्काको आलोचना गर्दैनन्, जसले गर्दा उनीहरूको राजनीतिक सम्बन्ध निकै सहज बनेको छ ।
यस भ्रमणका क्रममा दुई नेताबीचको व्यक्तिगत घनिष्ठता झल्काउने एउटा रोचक प्रसंग पनि बाहिर आएको छ । पुटिन र सीबीच मानव अंग प्रत्यारोपणमार्फत मानव जीवनलाई १५० वर्षसम्म कसरी लम्ब्याउन सकिन्छ ? भन्ने विषयमा समेत अनौपचारिक कुराकानी भएको थियो । ३९ वर्षभन्दा बढी समयदेखि आ-आफ्नो देशको सत्ता सम्हालिरहनु भएका यी दुई शक्तिशाली नेताबीचको यस्तो संवादले उहाँहरू अझै लामो समयसम्म सत्तामा रहिरहने चाहना राख्नुहुन्छ भन्ने संकेत गर्छ ।
अहिले राजनीति र अर्थतन्त्रमा मात्र नभई जनस्तरमा पनि रुस र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको छ । भिसामुक्त यात्राको व्यवस्था भएपछि मस्को र बेइजिङबीच नागरिकहरूको आवतजावत निकै बाक्लो भएको छ । विद्यार्थी आदानप्रदान, छात्रवृत्ति र संयुक्त अनुसन्धानका कार्यक्रमहरूले दुई देशका नागरिकलाई अझ नजिक ल्याइरहेका छन् ।
(अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा )







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र