काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद झन्/झन् गहिरिँदै गएको छ । विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगनकुमार थापालाई तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले अझै स्वीकार गर्नुभएको छैन । पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतले निरूपण गरे पनि राजनीतिक विवाद भने बढ्दो ग्राफमा छ । असन्तुष्ट पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन सभापति थापाले ध्यान नदिएको भन्दै रुष्ट रहनुभएका पूर्व-उपसभापति पूर्णबहादुर खड्का पक्षले काठमाडौंको अनामनगरमा अलग्गै सम्पर्क कार्यालय खालेको छ । विशेष महाधिवेशनपछि असन्तुष्ट बनेको खड्का पक्षले छुट्टै सम्पर्क कार्यालय खोलेपछि कांग्रेसमा जारी आन्तरिक विवादले नयाँ मोड लिएको छ ।
पार्टीको १४औँ महाधिवेशनमा देउवा प्यानलबाट केन्द्रीय सदस्यमा विजयी भएका नेताहरू गुरु बराल, जीतजंग बस्नेत, कुन्दनराज काफ्ले, गण्डकी प्रदेशका अर्थमन्त्री एवं बागलुङका जिल्ला सभापति जीत शेरचन, कोसीका पूर्व–मुख्यमन्त्री केदार कार्कीलगायत नेताहरूको सक्रियतामा सम्पर्क कार्यालय खुलेको बताइएको छ । सम्पर्क कार्यालयमा पार्टीको चारतारे झण्डासँगै नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्काको तस्वीर लहरै झुण्ड्याइएको छ । असन्तुष्ट पक्षको पछिल्लो कदमले विगत चार महिनादेखि जारी कांग्रेसको आन्तरिक विवाद तत्काल थामिने सम्भावना कमजोर बन्दै गएको छ ।
संस्थापन पक्षसँग असन्तुष्ट समूहले छुट्टै सम्पर्क कार्यालय खोलेरै समानान्तर गतिविधिको तयारी गरेको छ ।
असन्तुष्ट समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न सम्पर्क कार्यालय खालेको दाबी गरेका छन् । तर, राजनीतिक वृत्तका जानकारहरूले भने निवर्तमान सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहनु भएका तत्कालीन उपसभापति खड्का पक्षको पछिल्लो कदमलाई पार्टी विभाजनको पूर्वाभ्यासको रूपमा विश्लेषण गर्न थालेका छन् । तर, देउवा पक्षीय नेता गुरु बरालले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न र आसन्न १५औँ महाधिवेशनको तयारी गर्न सम्पर्क कार्यालय खोलेको दाबी गर्नुभएको छ । असन्तुष्ट पक्षका नेताहरूले समूहमा रहेका शीर्ष नेताहरू पनि छुट्टै सम्पर्क कार्यालय स्थापनाको तयारीमा रहेको दाबी गरेका छन् ।
पार्टीले हाल केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेशस्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेका छ । संस्थापन पक्षले २६ वैशाखमा सुदूरपश्चिम प्रदेशको धनगढीबाट प्रदेशस्तरीय भेला सुरु गरेको थियो । असन्तुष्ट समूह पनि आन्तरिक रणनीति तय गर्न प्रदेश भेलाहरूलाई तीव्रता दिएको छ । देउवा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले आन्तरिक रणनीति बनाउन सातवटै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू भइरहेको जनाएको छ । उक्त समूहले अहिलेसम्म बागमती र कर्णाली प्रदेशमा भेलाहरू सम्पन्न गरिसकेको छ । उक्त समूहले ९ जेठमा गण्डकी र १० जेठमा सुदूरपश्चिम प्रदेशस्तरीय भेलाको तयारी गरेको छ । असन्तुष्ट समूहले कोसी प्रदेशबाट २९ वैशाखमा प्रदेशस्तरीय भेला सुरु गरेको थियो । खड्का समूहले सातै प्रदेशमा भेलाहरू सम्पन्न भइसकेपछि राष्ट्रिय भेला बोलाउने आन्तरिक तयारी गरेको छ ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्व र बाहिरिएको नेतृत्वबीचको मतभेद पछिल्लो समय शक्ति संघर्षमा रूपान्तरण भएको छ । नेताहरूले पार्टीभित्र एकताको सन्देश दिएको दाबी गरे पनि शीर्ष नेतृत्वबीच दूरी घट्नुको सट्टा झन् बढ्दै गएको छ । दुवै पक्षले सार्वजनिक रूपमा पार्टी एकताको कुरा गरिरहे पनि औपचारिक पहल हुन सकेको छैन । तर, असन्तुष्ट समूहका अधिकांश नेता तथा कार्यकर्ताहरू भने विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापालाई नै मानेर अगाडि बढ्नुपर्ने पक्षमा छन् ।
६०/४० को भागबण्डा अब दन्त्य कथा बनिसक्यो : उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले इगोको चस्मा उतारेर हेर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । बुधबार मधेस प्रदेशको बर्दिबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले वडामा क्रियाशील सदस्यता अद्यावधिक गर्न केन्द्रीय सभापति गगन थापा पुग्ने नभई वडा सभापतिले नै गर्ने स्पष्ट पार्नुभएको हो । नेतृत्वले आफू पक्षलाई मात्रै जिम्मेवारी दिएर अगाडि बढे पार्टी कमजोर हुने उल्लेख गर्दै उपसभापति शर्माले भन्नुभयो, ‘नेतृत्वले हिजोजस्तै आफूसँग सहमतहरूलाई मात्रै जिम्मेवारी दिँदै अघि बढेमा पार्टी कमजोर हुने र विभाजनलाई बल पुग्ने हुन्छ । तर, विशेष महाधिवेशनको विपक्षमा रहेका कैयौँ साथीलाई केन्द्रमा, संसदीय दलमा र भ्रातृ संस्थाहरूमा ल्याइएको छ । यद्यपि, ६०/४० को भागबण्डाको विषय अब दन्त्य कथा बनिसक्यो ।’
थापालाई सभापति मानेर जाऔँ : पूर्व-सहमहामन्त्री यादव
पार्टीको १४औँ महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएका वर्तमान केन्द्रीय सदस्य महेन्द्र यादवले विशेष महाधिवेशनका विपक्षमा रहेका सबैलाई सभापति गगन थापाको नेतृत्वमा अघि बढ्न आग्रह गर्नुभएको छ । पार्टीमा यो भेला र त्यो भेला गर्न आवश्यक नरहेको उहाँको जिकिर छ । महोत्तरीको बर्दिवासमा आयोजित दुईदिने प्रदेशस्तरीय कार्यक्रममा यादवले पूरै मधेस एक ढिक्का भएर क्रियाशील सदस्यता अद्यावधिक गर्न लाग्नुपर्ने स्पष्ट पार्दै भन्नुभयो, ‘पार्टीभित्र अब यो भेला त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न । अब विशेष महाधिवेशनमा सहभागी नभएका हामी अरू जो थियौँ, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौँ । क्रियाशील सदस्यता अधावधिक गर्न अब सबै जुटेर लागौँ । पूरै मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लागौँ ।’ पूर्वसंस्थापन समूहमा रहनुभएका यादवले तत्कालीन महामन्त्री थापाले चुनावअघि हुनेगरी महाधिवेशनको कार्यतालिका ल्याउँदा त्यसको काउण्टर हुनेगरी चुनावपछिको कार्यतालिका ल्याउनुभएको थियो । विशेष महाधिवेशनको विपक्षमा रहे पनि यादवलाई सभापति थापाले फागुन २१ गते भएको चुनावमा टिकट दिनुभएको थियो । पूर्वसभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला निकटका १९ जनालाई केन्द्रीय सदस्यमा सभापति थापाले मनोनीत गर्दा यादव पनि पर्नुभएको थियो ।
फुटाउने कि एकताबद्व गर्ने बल सभापतिकै कोर्टमा : बलायर
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले पार्टीलाई एकताबद्ध गरेर लैजाने दायित्व नेतृत्वको भएको बताउनुभएको छ । पार्टीको बृहत् एकता र पुनर्जागरणका लागि भन्दै १० जेठमा धनगढीमा प्रदेश समितिको आयोजनामा हुने भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बलायरले पार्टी एकताबद्व गर्ने दायित्व सभापति गगनकुमार थापाको भएको बताउनुभएको हो । तर, सभापति थापाको नियत नै पार्टी फुटाउने भएमा एकता नजोगिने टिप्पणी गर्दै बलायरले भन्नुभयो, ‘नेतृत्व तहबाट पार्टी फुटाउन खोजिएको हो भने यसको कुनै औषधि छैन ।
जोगाउन पनि सकिँदैन । विशेष महाधिवेशनबाट चयन भएका सभापति गगनकुमार थापाको कोर्टमा सबै कुरा छ । उहाँ सिंगो कांग्रेसको सभापति हुन चाहनुभएको छ भने कुनै पनि हालतमा कांग्रेस फुटको संघारमा जाने स्थिति देखिँदैन । हामीले हिजोका पदाधिकारीलाई स्थापित गर्न भनेका छैनौँ । तर, नेतृत्व गरेका नेताहरूको मानमर्दन गरिनुहुँदैन । १५औँ महाधिवेशनको सुनिश्चितताका लागि हाम्रो एकता आवश्यक छ ।’
क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापति फेरिने
नेपाली कांग्रेसले देशभरका ६ हजार ७४३ वडा कार्यसमितिलाई पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम समयसीमा तोकेको छ । क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिलाई कारबाही गर्ने पनि कांग्रेसले चेतावनी दिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार परिपत्र जारी गर्दै जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न निर्देशन दिनुभएको हो ।
अद्यावधिक कार्यको अनुगमन पालिका कार्यसमितिले गर्ने उल्लेख गर्दै परिपत्रमा भनिएको छ, ‘क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधानबमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ ।’ सदस्यता अद्यावधिकमा चासो नदिने वा अवरोध गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्यसमितिलाई निर्देशन दिइएको छ । पार्टीको विद्यमान सदस्यता वितरण र अभिलेखीकरण प्रणालीलाई व्यवस्थित, चुस्त र सहज बनाउन कांग्रेसले यसपटक विभिन्न डिजिटल माध्यमहरूको प्रयोग गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र