‘हुलमुलमा जिउ, अनिकालमा बिउ जोगाउनु’ भन्ने लोकोक्ति आजको समयमा पनि प्रासंगिक हुनसक्छ । आज जे-जस्तो छ समय, भोलि पनि उस्तै । समय, भूत न भविष्य । बरू त्यै समयलाई सदुपयोग गर्नेहरू भोलिको चिन्तामा हुन्छन् । चाहे त्यो कुनै पनि क्षेत्रमा होस् या साहित्य सिर्जनामा । समयसँग टाँसेर हिँडिरहेका हुन्छन् काम र नामहरू । तर अनेक विकल्पका पाइलाहरू चाल्दै खरानीभित्र आगोको बिउ साँचेर भविष्यमा न्यानो बाँड्न लम्किरहेका छन् एउटा साहित्यकार । यसअघि उन्नाईसवटा सिर्जनाका उम्दा बिउ रोपेर साहित्यिक भूमिलाई उर्वर बनाएका युवराज नयाँघरे मदन पुरस्कार विजेता लेखक पनि हुन् । ‘आगोको बिउ’ निबन्धसंग्रह उनको नवीन कृति हो ।
आगोको बिउभित्र छब्बीसवटा निबन्धहरूको कोलाजले अर्थपूर्ण सन्देश फरक-फरक धारमा स्थापित गरेको छ । निबन्धकारको अर्को विशेषता, जसले उत्कण्ठामात्र जगाउँदैन सोधेजस्तो पनि लागिरहन्छ, ‘तिमी पाठक भएर पढ्ने कि, लेखक भएर पढ्ने ?’ लेखक भएर पढ्नेका लागि प्रसस्त आधारहरू छोडिदिएका छन् । मुसाको दरबार, शिविरभित्र युवती, रगतले पोतिएको कालीमाई, मृत्युबस जस्ता थुप्रै बिउबाट आख्यान जन्माउन सकिन्छ ।
भौतिक शरीर रहुन्जेल पिसिरहन्छ जीवन । त्यसलाई चाल्ने सही चाल्नो खोजिरहेछ आजको लेखक । सबथोक मिसिएको जीवनलाई जतिसक्दो चाल्नु पर्छ । अनिमात्र भुस र पिठो, बालुवा र सुन, सफल र असफल, काँडा र फूल, ढुंगा र माटो, अन्न र पानी, जीवन र जगत् छुटिन्छ । एउटा सक्लो र योग्य पात्रलाई अनेक विषयवस्तुसँग तुलना गरेर चाल्नु र बाँचिरहेको वास्तविक जीवनमा उतार्ने लेखनकला गज्जबको छ । आवश्यकताले सिर्जना गरेका विभिन्न आकार प्रकारको चाल्नीको बनौट र प्वालबाट छिरेको जीवन र आचरण, पद्घति, संस्कार र भोगाइलाई ‘चल्दाचाल्दै जीवन धुलो’ चाले पनि निबन्धकारले परिपक्वताको बिउ अझै खोजिरहेको आभास हुन्छ । जो जानेर, बुझेर, सिकेर कहिल्यै पूर्ण हुँदैन ।
बुबाको गोजी-छोराका लागि बुबा एउटा शक्ति हो । बुबा शब्दमा जोस र आँट भरिए पनि समय परिस्थिति अनुसार चेतना विस्तारमा नयाँघरे सचेत देखिन्छ । ससाना कागजका टुक्राहरूले पुटुक्क उक्सेको बुबाको गोजीभित्र तीनपुस्ते दस्ताबेज भेटिन्छ । के छैन र, भएभरको जम्मै त्यै गोजीमा कोचेका छन् । कारण पुरानो घर, मुसाले काट्ने डर छ । ती सबै जोगाउन गोजीको भरोसा छ दिमागमा । जमाना फाइल र ढड्डाबाट डिजिटलमा पुगे पनि समयसँगै प्रविधिको प्रयोगबाट प्रशासनिक निकायलाई डिजिटलाइज गर्नुपर्छ भन्ने परिवर्तनको माग हो, ‘बुबाको गोजी’ ।
पढ्दापढ्दै मलाई नमज्जा लागेको शीर्षक हो, भोग । सबै पेज रगतको आहालमा डुबेको भेटिन्छ, पढ्नै सकिन्न । जो निबन्धकार दशैं मान्न गाउँ नगएको कारण उपन्न घटना हो । नवमीको दिन दक्षिणकाली मन्दिरमा पूजा गर्न पुग्छ । मन्दिर परिसरमा निर्दोष पशुहरूमाथि खुडा, खुकुरी चलाइरहेको र विभत्स हत्या गरेर भुइँ, मन्दिर, खोला सबैतिर राताम्मे भएको डरलाग्दो दृश्यले मानव किन दानब भइरहेछ भन्ने विषयलाई चित्रित गरेको छ । दक्षिणकाली मन्दिरमा पूजा गरेर श्रद्घालु भक्तजनहरूलाई साँच्चिनै पुण्य प्राप्त भयो होला त ? चिताएको कामना के पूरा होला त ? धर्मको नाममा बलि दिने कुप्रथालाई उठान गरेर त्यसको समाधान के हुनसक्छ ? प्रश्नको जवाफ खोज्न पाठकलाई जिम्मा लगाएको पाइन्छ ।
परिवर्तन खोज्ने र ल्याउने नै युवाहरूको काँधमा हुन्छ । युद्घताका क्यान्टोन्मेनभित्र पसेको एक युवतीको मार्मिक कथा हो ‘लालाबाला’ । पाखुरामा जोस र हातमा संगिन बोकेर लडाकु शिविर पसेकी युवतीबाट के परिवर्तन भयो होला । तर बन्दुक बोकेर शिविर पसेकी युवतीले बाहिर आउँदा हातमा बच्चा बोकेर फेर्केको प्रसंगले शिविरभित्रको गोप्यतालाई बाहिर ल्याएको छ । भनिएको थियो, ‘तिम्रो वर्तमान हामीलाई देऊ, हामी तिमीलाई भविष्य दिनेछौं’ पृ.५२ । सशस्त्र युद्घमा जे जति भोगे र सन्तानहरू पाए अब फेरि शिविरमा छाडेका संगिन लिन कसैको छोरीहरू जान नपरोस् भन्दै लेखक नयाँघरेले शान्ति र सद्भावको बिगुल फुकेको छ ।
अथकित थुक-थुकलाई हतियार बनाएर विविध पक्षसँग युद्घ लडेका छन् निबन्धकार । थुक मानिसको मुखमा आउने सामान्य प्रक्रिया भए पनि यसको प्रकार, आउने तरिका, अवस्था, प्रयोग, थुकले दिएको अपमान र सम्मान अनि थुकाईमा हुने विविधताको वर्णनले सामान्य विषयवस्तुलाई अर्थपूर्ण बनाउने शिल्प जो कोहीमा हुनै सक्दैन । शरीरभित्र प्रवेश गर्दा थुकले दिने फाइदा जति हुन्छ मुखबाट बाहिर फ्याक्दा ठीक उल्टो हुने दृष्टान्तलाई अनेक कोणबाट पुष्टि गरेको पाइन्छ । थुक कसैबाट सापट लिँइरहनु पर्दैन, त्यसैले थुकसँगको गहिरो सम्बन्ध रहेको निबन्धकारको ठम्याइ छ । ‘दाउमा देश’ बालमनोविज्ञानले प्रकट गराएको समय सान्दर्भिक घटनाक्रमलाई गुरूआमाले दिएको शिक्षासँग जोडेर देशप्रतिको प्रेमलाई मीठोशैलीमा प्रस्तुत गरेको छ । तर विभिन्न खेलमध्ये तासमा चाहिँ बच्चालाई समावेश नगराएको भए हुन्थ्यो कि भन्ने पनि लाग्यो ।
लोहारको छाप्रोभित्र गुम्सिएको अभाव, पीडा र दुःखलाई उजागर गरेको छ भने नेपाली नागरिक भए पनि लोहारले गर्दै आएको सिलौटो बनाउने पेशालाई हेर्ने राज्यको दृष्टिकोण किन प्राथमिकतामा पर्दैन भन्ने कुरालाई उठाइएको छ । त्यै पेशामा जीवन व्यतीत गरिहेका लोहारले बनाएको सिलौटोमा मसला पिसेझैं दुःखी गरिबले जाडो छल्न नसक्दा मुत्यु हुनुपरेको एउटा दुःखदायी स्तुतिले जो कोहीको मन मस्तिष्कलाई कब्जा गर्नसक्छ । ‘निःशुल्क त्रास’ २०७२ साल वैशाख १२ गतेको भूकम्पलाई मुख्य विषय बनाएको घटानाको सविस्तारले फेरि पनि त्यो दिन आउँला की भन्ने त्रासले झसँग बनाउँछ । अशन, इन्द्रचोकभित्रका साँघुरा गल्लीहरूमा टेकाले थामिरहेका पुराना घरहरूमा बस्ने मनहरू निर्धक्क बाँचिरहेको जीवनले फेरि सकारात्मक सोच, विचारको उदय गराउँछ । त्यो निःशुल्क त्रासमात्र हो भन्ने प्रमाणित गरेर लेखकले आफ्नो असली सोचलाई पाठकसामु पेश गरेको छ ।
कुन्यु शब्दकोश-जसरी शब्दहरू कोशको ठेलीमा भण्डारण गरिन्छ त्यसरी नै निबन्धकारले कुन्युको शब्दकोश खडा गरेर ओझेलिएका मौलिक र कथ्य शब्दहरू थन्काएका छन् । ठाउँ अनुसारको पात्र र स्थानीय बोलीचालीको प्रयोगबाट निबन्धको फरक धारलाई स्थापित गराउन कोसिस गर्नु, त्यो आफैंमा प्रशंसायोग्य छ । जसभित्र बाँचिरहेको किसानी जनजीवन, संस्कार, संस्कृति र सुनौलो बालामा झुडिण्एर अन्नले फेरेको सास भेटिन्छ । कुन्युले अर्को साल आउने जीवनको आयुलाई सुरक्षित राख्ने सुन्दर प्रस्तुतिको लहरमा लेखक भन्छ, ‘आमाको कुन्यु मन्थन आधुनिक अर्थशास्त्रभन्दा कमजोर कहिल्यै ठानिनँ मैले’ पृ.१०८ ।
कुन्यु आगोको बिउभित्र गाउँ समाजको जनजीवन, शहर बजारको बदलिँदो अवस्था अनि प्रविधिको प्रयोगबाट विदेशमा विद्यार्थीहरूले मृत्युवरण गरेकालाई उद्घार गर्न इमेल फरवार्ड गरेर जानकारीमूलक सन्देश प्रवाह गरेको छ । ‘डिल्लुको बाख्रो’मा ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको यत्रैसित्ति..’ भन्ने उखानको चरितार्थ गर्न रतुवाको पशुहाट बजारमा डिल्लुको बाख्रोले प्रथम पुरस्कार जितेको प्रसंगले मेलाको रमझममा पुर्याउँछ । साहित्यकारको सोचाई कताकता पुगेको होलाजस्तो लग्ने, बाख्रोको मोल–मोलाई, प्रसंशा गर्ने शैली र बढाइ–चढाइ गरेको सुन्दा त लेखक पनि साँच्चिकै बाख्रो व्यापारी नै थिएछन् कि क्या हो, भन्ने लाग्छ । ‘असिनाको अंशबण्डा’ अटल सगरमाथाको छहारीमा सदैव खेलिरहेका हामी नेपालीहरू । मौसमानुसार असिना पर्नु स्वभाविकै हो । तर बिम्श र प्रतिकात्मक लेखनीमा युवराज नयाँघरे नेताहरूमाथि व्यांग्यवाण प्रहार गर्नमा खग्गु देखिन्छ । जो नानीहरूले खेलाइरहेको असिना विलाएजस्तै नेताहरूले देशलाई खेलाइखेलाई विलय बनाउनसक्ने शंकास्पद र अर्थपूर्ण सन्देशले आमनेपालीको हृदयमा देशप्रेमको भाव जगाउनेजस्ता कलात्मक लेखनशक्तिले आगोको बिउमा सौन्दर्य थपेको छ ।
निबन्धकार नयाँघरेको भाषाशैली सरल र रसज्ञ छ भने ठाउँ अनुसारको मौलिक शब्दलाई ट्याप्प टाँस्न खुब सिपालु देखिन्छ । ठेट शब्दहरूको प्रयोग, लेखनशिल्पका रङहरू, विषयवस्तुको छनौट, वैचारिक विविद्वता, वस्तुगत अध्ययन आदिले ‘आगोको बिउ’ साँच्चिनै शक्तिशाली र पठनीय बनेको छ ।
लुकिलुकि गरिने काम व्यवहार अनि गीतमा लुकेका भावलाई संगीतले प्राण भरेपछिको जीवन, अनि दापभित्र लुकेका खुकुरीको धार र सियोले उनेका घागोको लुकाइले लाज छोपेको, आहा ! कस्तरी लेख्न सकेको होला, डाहा लाग्ने । लुकिलुकि गरिने राजनीतिले सफलता पाएपछि जिम्मा लिने अवस्थामा लुकेर बसेजस्तै जेन-जी अभियानको झल्को लाग्यो, लुकि सानिमा । ‘मुसे धान’ किसानले धानबाली लगाएर जीवन गुजार्नु एउटा कुरा, तर मुसाले आफ्नो दरबारभित्र पाकेको धानबाली भित्र्याएको अर्को कथाको सुन्दर बुनौटले मनै छुन्छ । यस्ता नसोचेको विषयलाई उठान गर्नु निबन्धकारको अर्को महानता । सुरक्षित भण्डारण गर्ने मुसाको मिहिनेतबाट आजका विद्यार्थीहरूका लागि शिक्षाप्रद यो ‘मुसे धान’ शीर्षकले निक्कै ठूलो महत्त्व राख्छ ।
हुक्का भन्ने बित्तिकै धुँवाको गुजुल्ठोमा रमाउनेहरूको प्रिय नाम हुनसक्छ । तर धुँवा लगाएर गरिने कर्मलाई सही सदुपयोग गर्न नसक्दा मह काढ्दा होस् या एकहाते दुहुनो गाई दुहुँदा होस् । त्यस्ता व्यावहारिक जनजीविकाको सवाललाई अघि सारेर अहिलेका किशोर-किशोरीले हुक्का तानेर जीवन नै फिक्का बनाइरहेको यथार्थले जीवन मित्था होइन भन्ने निबन्धकारको अन्तरहृदयमा तरंगित झंकार हो । जसले साहित्यमार्फत समाजको आँखा खोल्ने प्रयास गरेको छ । ‘आर्यघाटमा घडी हेर्नु हुँदैन’ भन्ने आफ्नो अनुभवको खुलास गरेको देखिन्छ । घडी हेर्नु भनेको हतारिँनु हो भन्ने अर्थले जति हतारिन्छ उतिनै छिटो मृत्युको मुखमा पुगिन्छ भन्ने मलामी गएर आर्यघाटमा देखेका विभिन्न गतिविधिले उकुसमुकुसिएको भावलाई व्यक्त गरेको पाइन्छ । जो कोही जतिखेर जसरी हतारे पनि आखिर अन्तिम गन्तव्य त्यै आर्यघाट हो, भन्ने तथ्यपरक सन्देशले सोच्न बाध्य बनाउँछ । त्यसपछिका अरू पेजहरू पढ्नै छोडिदिएँ, घडी हेर्न हतारिँन ।
आगोको बिउभित्र छब्बीसवटा निबन्धहरूको कोलाजले अर्थपूर्ण सन्देश, फरकफरक धारमा स्थापित गरेको छ । निबन्धकारको अर्को विशेषता, जसले उत्कण्ठामात्र जगाउँदैन सोधेजस्तो पनि लागिरहन्छ, ‘तिमी पाठक भएर पढ्ने कि, लेखक भएर पढ्ने ?’ लेखक भएर पढ्नेका लागि प्रसस्त आधार छोडिदिएका छन् । मुसाको दरबार, शिविरभित्र युवती, रगतले पोतिएको कालीमाई, मृत्युबासजस्ता थुप्रै बिउबाट आख्यान जन्माउन सकिन्छ । निबन्धकार नयाँघरेको भाषाशैली सरल र रसज्ञ छ भने ठाउँ अनुसारको मौलिक शब्दलाई ट्याप्प टाँस्न खुब सिपालु देखिन्छ । ठेट शब्दहरूको प्रयोग, लेखनशिल्पका रङहरू, विषयवस्तुको छनौट, वैचारिक विविधता, वस्तुगत अध्ययन आदिले ‘आगोको बिउ’ साँच्चिनै शक्तिशाली र पठनीय बनेको छ ।
(लेखक डी.आर.राई साहित्यकार हुनुहुन्छ ।)







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र