गुल्मी । गुल्मीको सदरमुकाम तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा चार जीपीए ल्याउनुभएकी दीक्षा पोखरेललाई सम्मान गरेको छ । विद्यालयले उत्कृष्ट नतिजा हाँसिल गर्नुका साथै चार जीपीए प्राप्त गर्न सफल छात्रा पोखरेललाई एक लाख एक हजार १११ नगद रुपियाँसहित प्रशंसापत्रबाट सम्मान गरेको हो ।
विशेष समारोहका बीच भएको सम्मान कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले दीक्षा पोखरेलको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय, परिवार र समग्र नगरकै गौरवको विषय भएको बताउनुभयो।
“सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट नतिजा सम्भव छ भन्ने उदाहरण रेसुङ्गा माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ।” उहाँले भन्नुभयो, “विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको साथले यस्तो उपलब्धि सम्भव भएको हो।” नगरप्रमुख पन्थीले हालको उत्तरपुस्तिका परीक्षण प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै यस वर्ष रेसुङ्गा नगरपालिकाभित्र कम्तीमा १० जना विद्यार्थीले चार जीपीए ल्याउने अनुमान गरिए पनि नतिजा त्यसअनुसार आउन नसकेको उल्लेख गर्नुभयो।
“हामीले अपेक्षा गरेअनुसार नतिजा आउन सकेन, तर यसले निराश बनाउने होइन। अझ बढी मेहनत, अनुशासन र गुणस्तरीय शिक्षामा केन्द्रित हुन आवश्यक छ।” उहाँले भन्नुभयो।
उहाँले स्थानीय सरकारले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर लगानी गरिरहेको उल्लेख गर्दै पछिल्लो समय सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधारोन्मुख रहेको धारणा व्यक्त गर्नुभयो । विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकहरूको उपस्थिति रहेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजाका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख अमृतादेवी कुँवर, शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख थानेश्वर घिमिरे, वडा अध्यक्ष हिरा बहादुर थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेर बहादुर थापा तथा विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारी लगायतले दीक्षाको सफलताले विद्यालयको शैक्षिक इतिहासमा नयाँ उचाइ थपेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक भण्डारीका अनुसार विद्यालयबाट ३.२ देखि ३.६ जीपीए समूहमा सबैभन्दा धेरै ३० जना विद्यार्थी रहेका छन् भने २.८ देखि ३.२ समूहमा ३२ जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी चार जीपीए ल्याउने एक जना, ३.९ देखि ३.९९ जीपीए ल्याउने ६ जना, ३.६ देखि ३.९ जीपीए ल्याउने १३ जना, २.४ देखि २.८ जीपीए ल्याउने नौ जना तथा २ देखि २.४ जीपीए ल्याउने दुई जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ। प्रधानाध्यापक भण्डारीले विद्यालयको नतिजा समग्रमा सन्तोषजनक रहेको उल्लेख गर्दै आगामी वर्ष अझ उत्कृष्ट उपलब्धिका लागि विद्यालय परिवार थप योजनाबद्ध रूपमा अघि बढ्ने बताउनुभयो।
“हामी विद्यार्थीको क्षमता विकास, अतिरिक्त शैक्षिक गतिविधि र नियमित शैक्षिक निगरानीमा विशेष ध्यान दिइरहेका छौं। आगामी दिनमा अझ राम्रो नतिजा ल्याउने लक्ष्यका साथ काम गर्नेछौं,” उहाँले भन्नुभयो ।
कार्यक्रममा वक्ताहरूले दीक्षा पोखरेलको सफलता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै निरन्तर अध्ययन, अनुशासन र मेहनतबाट जुनसुकै लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । विद्यालयले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने परम्पराले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र