‘क्यामेरा रोल ।’
सन् २०१६ । स्प्रिङफिल्डको एउटा सेटमा निर्देशक सन्तोष रामदमले ‘एक्सन’ ऽऽऽऽ भानु तिवारीतर्फ फर्किएर सोधे ‘तिमी रुन सक्छौ ?’
भानुले एकछिन केही बोलेनन् । अनि मुस्कुराए, त्यो मुस्कानमा धेरै कुरा लुकेको थियो । विगत, वर्तमान र भविष्य । नहिच्किचाईकन भानुले भने ‘यो त मेरै कथा हो । रुनका लागि अभिनय गर्नुपर्दैन ।’
केही हासोको फोहोरा समाल्दै- भानु सम्झन्छन् केही मीठा क्षणहरू यसरी आफ्नै कथामा !!
त्यो फिल्म थियो ‘सुरुवात’ भुटानबाट खेदिएका, नेपालका शरणार्थी शिविरमा वर्षौँ काटेका र अमेरिकामा नयाँ जीवन खोज्दै आएका मानिसहरूको भावनात्मक कथा । पर्दामा देखिएको पात्र र क्यामेराअघि उभिएको मान्छे दुवैको इतिहास एउटै थियो ।
भुटानी-अमेरिकी समुदायमा स्वास्थ्य पहुँचको अवरोध अझै ठूलो छ भाषिक बाधा, सांस्कृतिक अन्तर र भरोसाको सम्बन्ध बनाउन सक्ने स्वास्थ्यकर्मीको अभाव । भानुजस्ता व्यक्ति जसले समुदायको भाषा, इतिहास र पीडा बुझ्छन् यस खाँचोलाई पूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
ती मान्छे अरू कोही नभएर झापाको बेल्डागी शरणार्थी शिविर, सेक्टर ३, हट नम्बर ३६१ मा हुर्किएका भानु तिवारी ।
भानु तिवारीको सिंगो जीवनलाई दुई शब्दले बाँध्न सकिन्छ, कला र सेवा । तर, यी दुई शब्दका पछाडि लुकेको इतिहास न सानो छ, न सरल ।
जन्म दाइफाम, भुटानमा । पिता पूर्ण तिवारी, माता खिलेश्वरी तिवारी । परिवार विस्थापित भएपछि नेपालको बेल्डागी शिविरको कष्टपूर्ण बसाइ । अनि सन् २००८ मा अमेरिका स्प्रिङफिल्ड, म्यासाचुसेट्स र अहिले, मे २०२५ मा अमेरिकन इन्टरनेसनल कलेजबाट ब्याचलर अफ साइन्स इन नर्सिङको डिग्री ।
नेपाली भाषी भुटानी समुदाय सन् १९९०-९२ मा भुटान सरकारले नेपाली भाषी भुटानी नागरिकहरूलाई जबरजस्ती देश निकाला गर्यो । झापा र मोरङका शिविरहरूमा एक लाखभन्दा बढी मानिस दुई दशक बसे । सन् २००७ पछि अमेरिकासहित धेरै देशले पुनर्वास कार्यक्रम सुरु गरे । आज अमेरिकामा करिब एक लाख भुटानी मूलका नागरिक छन् ।
भानुले भुटान देखेका छैनन्, आफ्नै आँखाले । दाइफामको माटो, पिताको खेत, गाउँको आँगन । यी सबै उनका लागि कथा हुन्, पिता पूर्ण तिवारीले सुनाएको ।
पिताले भन्नुहुन्थ्यो ‘त्यहाँ हाम्रो सबथोक थियो । एक दिन सबै छोड्नुपरेको थियो’, भानु भन्छन्, ‘म त्यो दिन थिइनँ । तर, त्यो दिन मभित्र छ ।’
बेल्डागी शिविरको हट नम्बर ३६१ यो उनको बाल्यकालको ठेगाना । एउटा देशको सट्टा, एउटा नम्बर । त्यही नम्बरको साँघुरो हटमा खिलेश्वरीले छोरालाई हुर्काइन् अभावमा तर माया भरपुर ।
शिविरमा स्कुल थियो । साथीहरू थिए । जीवन थियो बेग्लै किसिमको, तर जीवन । भानुले त्यहीँ पहिलो पटक बुझे अभावले मान्छेलाई सिकाउँछ, जुन कुरा सुविधाले कहिल्यै सिकाउँदैन ।
‘पिताले भन्नुहुन्थ्यो त्यहाँ हाम्रो सबथोक थियो । एक दिन सबै छोड्नुपरेको थियो । म त्यो दिन थिइनँ तर त्यो दिन मभित्र छ ।’
सन् २००८ मा अमेरिका आएपछि भानुले छिट्टै बुझे यहाँ बाँच्न भाषा मात्र सिक्नुपर्दैन, प्रणाली बुझ्नुपर्छ । उनी स्वास्थ्य क्षेत्रमा मेडिकल दोभाषे बने । आफ्नै समुदायका मानिसहरू जो भाषा बुझ्दैनन्, जो अमेरिकी अस्पतालको कोरिडोरमा हराएका जस्तो महसुस गर्छन् उनीहरूको र डाक्टरको बीचमा उभिए ।
‘इन्टरप्रेटर (दोभाषे) भनेको शब्द अनुवाद गर्ने मान्छे होइन’, उनी भन्छन्, ‘त्यो एउटा मानिसको डरलाई अर्को मानिसले बुझ्नसक्ने भाषामा बदल्ने काम हो ।’
६ वर्षभन्दा बढी । हजारौँ बिरामी । हजारौँ अनुवाद । र, हरेक पटक एउटा प्रश्न मनमा ? यदि म आफैँ नर्स हुन्थेँ भने ?
सन् २०१५ मा अमेरिकी नागरिकता पाएपछि त्यो प्रश्नको जवाफ खोज्ने बाटो खुल्यो । उनी अमेरिकन इन्टरनेसनल कलेजमा नर्सिङ पढ्न भर्ना भए ।
नर्सिङ पढ्दापढ्दै, सन् २०१६ मा, भानुले एउटा फिल्ममा मुख्य भूमिका निभाए । ‘सुरुवात’ निर्देशक सन्तोष रामदमको यो फिल्मले भुटानी शरणार्थीहरूको विस्थापन, शिविरको जीवन र अमेरिकामा पुनर्बसाइको कथा भन्छ ।
धेरैले सोधे नर्सिङ स्कुलको व्यस्त जीवनमा फिल्म किन ? भानुको जवाफ सरल थियोः ‘त्यो कथा कसैले भन्नु पर्थ्यो । र, मभन्दा राम्रोसँग को भन्थ्यो र ?’
‘सुरुवात’ पछि उनले नेपाली र भूटानी संगीत भिडियोहरूमा मोडलको रूपमा काम गरे । अमेरिकास्थित भुटानी-नेपाली कलाकारहरूसँग सहकार्य गरे । भिडियोग्राफी, फोटोग्राफी र ग्राफिक डिजाइनमा हात हाले । सिर्जनशीलताले उनलाई थकेको थिएन बरु नयाँ ऊर्जा दिइरहेको थियो ।
‘स्वास्थ्य सेवा र कथा सुनाउनु दुवैले एउटै कुरा खोज्छन्’, उनी भन्छन्, ‘मानिसलाई बुझ्नु, उनीहरूको भावना र अनुभवलाई सम्मान गर्नु ।’
‘स्वास्थ्य सेवा र कथा सुनाउनु दुवैले एउटै कुरा खोज्छन्, मानिसलाई बुझ्नु, उनीहरूको भावना र अनुभवलाई सम्मान गर्नु ।’
दिनमा काम । राति पढाइ । घरमा दुई सन्तान र जीवनसाथी जानुका तिवारीको पनि विद्यार्थी जीवन । यो त्रिकोण भानुको दैनिक जीवन थियो वर्षौँसम्म ।
नर्सिङ स्कुलले उनलाई मानसिक, भावनात्मक, शारीरिक तीनै स्तरमा परीक्षा लियो । सुरुका वर्षहरू कठिन थिए । कहिलेकाहीँ लाग्थ्यो यति धेरैलाई एकैपटक सम्हाल्न सकिँदैन ।
तर, हट नम्बर ३६१ मा हुर्किएको मान्छेले अभावमा बाँच्न सिकेको थियो । थकानमा पनि अगाडि बढ्न सिकेको थियो ।
‘मैले बुझेँ सफलता सुरुदेखि नै सिद्ध हुने कुरा होइन’, उनी भन्छन्, ‘यो विस्तारै बढ्ने, नझुक्ने र अघि बढिरहने कुरा हो ।’ समय बित्दै गयो । उन्नत विषयहरूमा राम्रा ग्रेड आए । र, अन्त्यमा एउटा टेड–शैलीको क्यापस्टोन प्रस्तुति गर्ने अवसर आयो ।
उनले बोले, ट्रान्सफर्मेसनल नर्सिङ लिडरसिप, नर्स रिटेन्सन, कार्यस्थल संलग्नता र बिरामी सुरक्षाबारे । यो विषय उनले किताबबाट मात्र सिकेका थिएनन् शिविरमा, अस्पतालको कोरिडोरमा र अमेरिकामा आफ्नै जीवनमा देखेका थिए ।
भुटानी–अमेरिकी समुदायमा स्वास्थ्य पहुँचको अवरोध अझै ठूलो छ भाषिक बाधा, सांस्कृतिक अन्तर र भरोसाको सम्बन्ध बनाउन सक्ने स्वास्थ्यकर्मीको अभाव । भानुजस्ता व्यक्ति जसले समुदायको भाषा, इतिहास र पीडा बुझ्छन् यस खाँचोलाई पूर्ति गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।
यो सबै यात्रामा भानुसँग एउटा कुरा सधैँ थियो परिवार ।
जीवनसाथी र दुई सन्तान । उनी आफूलाई धनी भन्दैनन् । तर, भन्छन् ‘मसँग जे छ, त्यो अमूल्य छ । माया गर्ने परिवार, आफ्नो घर, अर्थपूर्ण लक्ष्य ।’
परीक्षाको अघिल्लो रात पनि घरमा बच्चाहरू हुन्थे सुनाउनुपर्ने कथाहरू हुन्थे । थकेको बेला पनि ती अनुहारहरूले सम्झाउँथे, तिमी किन यो गर्दै छौ ।
एउटा मान्छेले आफ्नो पहिचान खोज्दै खोज्दै, कथा भन्दै भन्दै र मानिसहरूको सेवा गर्दै गर्दै तय गरेको । सुन्दर कथा, जहा फिल्मीभन्दा जीवन्त यथार्थ अलिक धेरै छ । अभाव, अनुभव र विकासको यात्रामा माथि छन् अब नेपाली भाषी भुटानीको जीवन काहनी ।
‘मेरो परिवार मेरो किन हो,’ उनी भन्छन् ।
मे ८ को पिनिङ सेरेमनीमा जब सफेद कोट लगाइनेछ त्यो क्षणमा दाइफामको माटो, बेल्डागीको हट नम्बर ३६१, ‘सुरुवात’ फिल्मको सेट र स्प्रिङफिल्डका ती थकान भरिएका रातहरू सबै एकैसाथ उभिनेछन् ।
मे ९ मा मासम्युचुअल सेन्टरको मञ्चबाट नाम पुकारिँदा, पुर्ण तिवारी र खिलेश्वरीले सायद कहिले सोचेका थिएनन् बेल्डागी शिविरको त्यो हटमा हुर्किएको छोरा एक दिन अमेरिकामा नर्सिङको डिग्री लिनेछ ।
‘यो डिग्री मेरो मात्र होइन’, भानु भन्छन्, ‘यो बाबा-आमाको सपनाको हिस्सा हो । मेरो समुदायका ती सबैका लागि एउटा सन्देश जसले अझै हट नम्बर सम्झिरहेका छन् ।’
‘यो डिग्री मेरो मात्र होइन यो बाबा-आमाको सपनाको हिस्सा हो । मेरो समुदायका ती सबैका लागि एउटा सन्देश, जसले अझै हट नम्बर सम्झिरहेका छन् ।’
भानुको अर्को लक्ष्य डक्टर अफ नरसिङ प्राटिक्स (डिएनपी) हो । त्यसपछि वञ्चित र विविध समुदायहरूका लागि नेतृत्वकारी स्वास्थ्य सेवा ।
कला पनि जारी रहनेछ । किनकि भानुका लागि स्टेथोस्कोप र क्यामेरा फरक उपकरण होइनन् दुवैले मानिसको कथा खोज्छन् ।
‘मेरो जीवनले मलाई सिकायो लचिलोपन, परिश्रम, संस्कृति, शिक्षा, सिर्जनशीलता र करुणा । यी सबै मिलेर म बनेको छु’, उनी भन्छन्, ‘र यी सबै मिलेरै म अगाडि जानेछु ।’
भानु तिवारीको सिंगो यात्रालाई दुई बिन्दुले बाँध्न सकिन्छ बेल्डागीको हट नम्बर ३६१ र स्प्रिङफिल्डको मासम्युचुअल सेन्टर । यी दुई बिन्दुबीचको दूरी केवल भौगोलिक होइन ।
यो दूरी हो एउटा मान्छेले आफ्नो पहिचान खोज्दै खोज्दै, कथा भन्दै भन्दै र मानिसहरूको सेवा गर्दै गर्दै तय गरेको । सुन्दर कथा, जहा फिल्मीभन्दा जिबन्त यथर्थ अलिक धेरै छ । अभाव, अनुभाव र विकासको यात्रामा माथि छन् अब नेपाली भाषी भुटानीको जीवन कहानी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर