मकवानपुरमा बढ्दो लागुऔषध संकट
Read Time = 7 mins
मकवानपुरमा पछिल्ला वर्षहरूमा लागुऔषध दुर्व्यवसनको समस्या भयावह रूपमा फैलिन थालेको छ। दैनिकजसो प्रहरीद्वारा सार्वजनिक गरिने पक्राउ विवरणमा सबैभन्दा धेरै मुद्दा लागुऔषधसँग सम्बन्धित हुन थालेपछि जिल्लाको सामाजिक अवस्था गम्भीर बन्दै गएको सरोकारवालाहरू बताउँछन्।
विशेषगरी हेटौंडा उपमहानगर क्षेत्र लागुऔषध प्रयोग र कारोबारको मुख्य केन्द्र बन्दै गएको स्थानीयहरूको गुनासो छ। किशोरकिशोरीहरू विद्यालय जाने उमेरमै लागुऔषधको लतमा फस्न थालेका छन् ।
स्थानीय बासिन्दाहरूका अनुसार अहिलेको अवस्था यही गतिमा अघि बढ्ने हो भने भविष्यमा "एक घर, एक लागुऔषध प्रयोगकर्ता" हुने अवस्था आउन सक्ने खतरा बढेको छ। समाजमा मौन रूपमा फैलिरहेको यो संकटलाई समयमै नियन्त्रण नगरे यसले ठूलो सामाजिक दुर्घटना निम्त्याउन सक्ने चेतावनी समेत सरोकारवालाहरूले दिएका छन्।
हेटौंडाका विभिन्न क्षेत्रमा विद्यालय तथा कलेज पढ्ने उमेरका किशोरकिशोरीहरू लागुऔषध प्रयोगमा संलग्न भएको घटना बढ्दै गएको पाइएको छ। विद्यालय छाड्ने, घरबाट टाढा बस्ने, साथीभाइको गलत संगत तथा सामाजिक निगरानी कमजोर हुँदा धेरै युवायुवती दुर्व्यसनतर्फ आकर्षित भइरहेका छन्।
अझ दुःखद पक्ष त के छ भने, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका समेत यसको शिकार बन्न थालेका छन्। कतिपय परिवारमा बिहान–बेलुका छाक टार्न समेत समस्या भइरहेका बेला किशोरहरू लागुऔषधमा फस्नु समाजका लागि ठूलो चुनौती बनेको बनेको छ।
अभिभावकहरूको व्यस्तता, परिवारभित्रको तनाव, बेरोजगारी, सामाजिक विघटन र डिजिटल माध्यमबाट बढ्दो गलत प्रभावका कारण किशोरकिशोरीहरू मानसिक रूपमा कमजोर बन्दै गएको र त्यसको फाइदा लागुऔषध कारोबारीहरूले उठाइरहेको आरोप पनि लाग्ने गरेको छ।
पहिले पुरुष केन्द्रित मानिने लागुऔषध प्रयोग अहिले महिलामा समेत फैलिन थालेको छ । हेटौंडाका केही क्षेत्रमा युवती तथा महिलाहरू समेत प्रयोगकर्ताको रूपमा देखिन थालेपछि समाजमा थप त्रास सिर्जना भएको छ।
महिला प्रयोगकर्ताको संख्या बढ्नु केवल व्यक्तिगत समस्या नभई परिवार र समाजमै दीर्घकालीन असर पार्ने विषय भएको जानकारहरू बताउँछन्। यसको प्रभाव बालबालिकाको भविष्य, पारिवारिक सम्बन्ध र सामाजिक संरचनामा समेत पर्ने देखिएको छ।
लागुऔषध दुर्व्यसनमा फसेका व्यक्तिलाई सुधार केन्द्रमा राखेर उपचार गराउनु धेरै अभिभावकका लागि आर्थिक रूपमा सम्भव भइरहेको छैन।
स्थानीय अभिभावकहरूका अनुसार सामान्य आय भएका परिवारले आफ्ना सन्तानलाई लामो समयसम्म उपचार गराउन सक्ने अवस्था छैन। कतिपय अभिभावकले ऋण खोजेर समेत उपचार गराउन खोजे पनि नियमित खर्च धान्न नसकेको अवस्था छ।
यसका कारण धेरै युवाहरू पुनः पुरानै लतमा फर्किने गरेका छन्। सरकारी स्तरबाट पर्याप्त पुनःस्थापना केन्द्र, निःशुल्क उपचार तथा मनोसामाजिक परामर्शको व्यवस्था नहुँदा समस्या झन् जटिल बन्दै गएको देखिन्छ।
हेटौंडाका केही वडामा लागुऔषधको अवस्था निकै विकराल भइसकेको भन्दै स्थानीयहरूले निरन्तर गुनासा गरिरहेका छन्। सार्वजनिक स्थल, गल्ली, होटल, भाडाका कोठा तथा सुनसान क्षेत्रहरूमा खुलेआम लागुऔषध सेवन र कारोबार हुने गरेको स्थानीयहरूको आरोप छ।
कतिपय अभिभावकले आफ्ना सन्तान साँझ घर फर्किने बेलासम्म डर र चिन्तामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ ।
लागुऔषधको समस्या अब केवल प्रहरी प्रशासनको विषय मात्र नभई सामाजिक, शैक्षिक, स्वास्थ्य र आर्थिक संकटको रूपमा विकसित हुँदै गएको छ। यसको प्रभाव प्रत्यक्ष रूपमा युवा पुस्तामाथि परिरहेको छ भने दीर्घकालीन रूपमा समाजको संरचनामै असर पर्ने खतरा देखिएको छ।
विद्यालयस्तरमै व्यापक जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, प्रत्येक विद्यालयमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने, युवालाई खेलकुद तथा सिर्जनात्मक गतिविधिमा जोड्नुपर्ने र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता देखिएको छ।
यससँगै लागुऔषध कारोबारीमाथि कडा कानुनी कारबाही, सीमा तथा आपूर्ति नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रम र निःशुल्क पुनःस्थापना सेवाको व्यवस्था गर्न सके मात्र समस्या नियन्त्रणतर्फ जान सक्ने सरोकारवालाहरूको भनाइ छ।
यदि समयमै प्रभावकारी कदम चाल्न नसकिए मकवानपुरमा लागुऔषधको संकट अझ भयावह बन्ने र यसले आगामी पुस्ताको भविष्य नै जोखिममा पार्ने चिन्ता बढ्दो रूपमा व्यक्त हुन थालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र