काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको आयोजनामा २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, पत्रकार, निर्माता, निर्देशक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पञ्चेबाजासहित अतिथि तथा सम्मानित व्यक्तित्वहरूको स्वागत गरिएको कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिले विशेष रौनक थपेको थियो ।
कार्यक्रमका अध्यक्ष समीर बलामीले चलचित्र पत्रकारितालाई अझ संगठित, मर्यादित र जिम्मेवार बनाउँदै लैजानुपर्नेमा जोड दिँदै संघलाई थप सशक्त र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि दिनेश डिसीले नेपाली चलचित्र पत्रकारिता क्रमशः संगठित हुँदै गएको बताउँदै चलचित्र प्रवर्द्धनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारितामा अनुशासन, मर्यादा र नैतिक पक्षलाई अझ बलियो बनाउन आवश्यक रहेको धारणा राख्दै आधारहीन विषयलाई प्राथमिकता दिने प्रवृत्तिबाट जोगिन आग्रह गर्नुभयो ।
विशेष अतिथि करिष्मा मानन्धरले चलचित्र र पत्रकारिता क्षेत्र एकअर्काका परिपूरक भएको उल्लेख गर्दै चलचित्रलाई दर्शकमाझ पुर्याउने प्रमुख माध्यम पत्रकारिता रहेको बताउनुभयो । कलाकार र पत्रकारबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, राजेश हमालले चलचित्र र पत्रकारिता क्षेत्रबीच गहिरो सम्बन्ध रहेको बताउँदै समयसँगै दुवै क्षेत्रले उल्लेखनीय विकास गरेको धारणा राख्नुभयो । उहाँले वर्तमान ‘क्लिक कल्चर’ र प्रविधिका चुनौतीबीच तथ्यपरक, जिम्मेवार र गम्भीर पत्रकारिताको आवश्यकता अझ बढेको उल्लेख गर्नुभयो ।
यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान-२०८३ अन्तर्गत ५५ हजार ५५५ राशिसहित अनन्त वाग्लेलाई सम्मान गरिएको थियो । राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान-२०८३ जयन सुब्बा मानन्धर तथा कुबेरराज गिरीलाई प्रदान गरिएको थियो ।
त्यसैगरी, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८३ अन्तर्गत ५१ हजार राशिसहित वैकुण्ठराज पराजुलीलाई पुरस्कृत गरिएको थियो भने स्वर्गीय दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार-२०८३ अन्तर्गत ५१ हजार राशिसहित सुरक्षा भट्टराईलाई सम्मान गरिएको थियो । राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन सम्मान-२०८३ अन्तर्गत २५ हजार राशिसहित मिलन ढुंगानालाई सम्मान गरिएको थियो । साथै, स्वर्गीय दिनेश सिटौलाप्रति राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा संस्थापक अध्यक्ष भरत शाक्यसहित संस्थापकहरूप्रति सम्मान तथा स्मरण व्यक्त गरिएको थियो भने निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । सहभागीहरूले चलचित्र पत्रकारिता दिवस चलचित्र पत्रकारिता, सम्मान र सहकार्यलाई थप सुदृढ बनाउने साझा मञ्चका रूपमा सम्पन्न भएको बताएका थिए ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर