६०/७० वर्ष अघिको कुरा हो । दुई दिमागदार तेजिला विद्यार्थीहरू एउटै कक्षामा गाउँको स्कुलमा सँगै पढ्ने गर्दथे । एउटाको बोल्यो कि ‘बङ्गारा झार्दिम्ला’ भन्ने थेगो नै जस्तो थियो । उसको नाम बलराम थियो । ऊ कडा स्वभावको थियो तर उसको अर्को बहुतै तेजवान साथी थियो । ऊ बडा तार्किक र बहुतै नरम मृदुभाषी स्वभावको थियो । उसको नाम तर्कनाथ थियो । यी दुई कहिले तर्कनाथ कहिले बलराम प्रथम हुन्थे र पनि व्यक्तिगत रूपमा असाध्यै मिल्थे । बसाइ पनि प्राय सँगै जस्तो हुन्थ्यो । यी छुट्टिने भनेको जाँचमा पहिलो र दोस्रो स्थानमा मात्रै हो ।
अरूले आफूलाई कक्षामा जान्ने छ भनेको यी दुवैलाई मन पर्दैनथ्यो वा साथीको मान गरेको हो तर्कनाथलाई भन्यो भने होइन मभन्दा बलराम बढी जान्दछ भन्ने बलरामलाई भन्यो भने म त होइन हो होइन नभन बङ्गारा झार्दिम्ला मभन्दा तर्कनाथ धेरै जान्ने छ भन्थ्यो । न त यी दुई एउटाले अर्कोलाई जान्ने छ भनेर खसाल्न खोजेका हुन् वा मान गरेर मन नगरेर भनेका हुन् बुझ्नै सकिँदैनथ्यो । जे होस् दुईमा मित्रता भने गजबकै थियो ।
जब डाक्टरले मास्क खोलेर मुख आँ गर्नुस् भन्दै मास्क लाएर फेरि भने तर्क ! मैले केटाकेटीदेखि नै तेरो बङ्गारा झार्दिम्ला भनेको होइन देखिस् यी आज तेरो बङ्गारा झार्दै छु बुझिस् । बल्ल तर्कनाथले मुख खोले ए तँ बलराम होस् ? हो कि होइन ? मैले उहिल्यै बङ्गारा झार्दिम्ला भनेको आज दुईटा झार्दिन्छु बुझिस् ।
बन्दुकको गोली र मान्छेको बोलीको कुरा बडा अनौठो लाग्छ । गोली र बोली छुटेपछि फर्कदैनन् भन्छन् । कसैले बोलेको गाली श्रापका कुरा ट्वाक्क ट्वाक्क पुग्यो नराम्रो भयो भने कालो जिब्रे/कालजिब्रे भन्छन् । कसैले बोलेको पुग्यो भने सरस्वतीले बास गरेको मुख भन्छन् । कसैले बोलेको सकारात्मक कुरालाई तेरो/तिम्रो मुखमा दूध र भात जावोस् भन्छन् । जुन कुरा मान्छेले भनिरहन्छ त्यो कुरा सके त विपनामै भएन सपनामा भए पनि पूरा हुन्छ भनिन्छ ।
त्यसैगरी सतीले सरापेको कुरा पूरा हुन्छ भन्ने चलन छ । सतीले सरापेको देश सतीको सराप लागेको किन राम्रो हुन्थ्यो र भन्छन् । जुँगा हुनेले बोलेको कुरा पुग्दैन भने त्यो जुगा हो कि होइन ? जुँगाको भाउ रहँदैन भने त्यो जुँगा के जुँगा हो र ? होइन भन्छन् । यसरी हेर्दा जुँगा जोगाउन कुरा पुर्याउन मर्दलाई निकै गाह्रो पर्छ । मर्दले बोलेपछि पुग्दैन भने त्यो के मर्द ? आइमाईको रुद्रघण्टी हुँदैन त्यसैले तिनका पेटमा कुरा अड्दैन पनि भन्छन् । कुरो र कुलो जता लगे पनि जान्छ पनि भन्छन् । कसैले तीन न तेह्रको कुरा गर्यो भने यसको कुराको कुरो मात्र हो केही हुँदैन पनि भनिहाल्छन् । यसरी कुरा गरेर हामीले पनि समय बिताउने गरिआएका छौँ ।
यी र यस्तै प्रसंग हो तर्कनाथ र बलरामको पनि । दुवै सँगसँगै पढ्दै बढ्दै गए । गाउँको स्कुलमा प्राइमरी कक्षा सकिनेबित्तिकै गाउँका धनीमानी सहरमा राखेर पढाउन सक्नेले सहरतिर डेरा लिएर वा आफ्ना मान्छे जागिरे भए उसैकोमा रासनपानी पुर्याएर राखिदिने र संरक्षकत्व दिनु है भनेर छाड्ने गर्दथे । तर्कनाथ र बलराम पनि गाउँका हुनेखानीका छोरा भएकाले सहरमा डेरा लिएर राखिदिएर सहरी स्कुलमा भर्ना गरिदिएर पढाइ सुचारु गरिदिए । दुवै डेरा अलग भए पनि टाडा थिएन, साँझबिहान तरकारी किन्ने नपुग रासनपानी किन्ने ठाउँ एउटै भएकाले भेट भइरहन्थ्यो ।
अनि स्कुल पनि एउटै नाम चलेको जेपी हाइस्कुलमा पढ्थे । पढ्दै जाँदा एसएलसीसम्म सँगसँगै भए, अप्रत्यक्ष शैक्षिक प्रतिस्पर्धा पनि चलिरह्यो । गाउँमा जस्तो थोरै विद्यार्थी भए पो एउटै कक्षा हुनु र सहरमा त धेरै विद्यार्थी भएकोले दुई तीनवटा सेक्सन थिए । तर्कनाथ ‘ए’ मा र बलराम ‘बी’ मा थिए । बाहिर भेट हुँदा एकछिन कुरा गर्नेबित्तिकै ‘तेरा बङ्गारा झारिदिम्ला’ भनिहाल्थ्यो बलराम । तीनवटै सेक्सनका विद्यार्थी सबैले बोलाकी र जिउडाल पनि भएकोले चिनिसकेका थिए ।
तर्कनाथभन्दा अलिकति बढी नै परिचित थियो बलराम विद्यार्थीमाझ । त्यसैले होला उसले नसुन्ने नदेख्ने गरी सबैले उसलाई ‘बङ्गारे’ भन्थे । बलराम बङ्गारे नामले धेरै विद्यार्थीमाझ परिचित थियो तर उसैलाई थाहा थिएन म कति र के नामले साथीहरू माझ परिचित छु भन्ने कुरा । यो सबै कागले आफ्नो नाम आफैँ काढ्छ । तित्राको मुखै बैरी भनेझैँ बलरामले आफ्नो उपनाम आफैँले राख्यो रखायो । “बङ्गारे” जब ऊ ‘‘बङ्गारा झारिदिम्ला” भन्थ्यो सुन्ने जति मरी मरी हाँस्थे अनि ऊ पनि सँगै हाँस्थ्यो तर बढी नै साथीहरू किन हाँसिरहेका छन् बुझ्दैनथ्यो । यसरी नै दिन बित्तै गए, एसएलसी पनि दुवैले फस्ट डिभिजनमा पास गरेकाले अब आफ्नो रुचि र अभिभावकको चाहनाअनुरूप कलेजको पढाइ हुने भयो ।
बलराम स्वास्थ्य क्षेत्रमा र तर्कनाथ इञ्जिनियरिङ क्षेत्रतिरको बाटोमा लाग्ने अठोटका साथ अलग अलग कलेजमा भर्ना भए । भेट पनि पातलो र समय पनि लामो हुन थाल्यो । हुँदाहुँदा वर्षौंसम्म भेट हुनै छाड्यो को कहाँ छ ? सम्म पनि थाहा भएन । तेजवान छात्रहरू छात्रवृत्ति पाएर खाएर देशविदेश पुगे, उतै पढाइ सकेर केही समय काम गरी स्वदेश फर्किएर । आ–आफ्नै धुनमा लागे । कति उतै काम गरेर बसे । कोही उतै बिहाबारी गरेर बसे । थोरै मात्र स्वदेश फर्के । आफ्नै बारेमा सोच्ने समय नपाउनेले अर्काको के सोध्ने खोज्ने पूरै नौलो भए । नौ दिनको नौलो बीस दिन भयो बिर्सियो ।
परार सालको कुरा हो तर्कनाथलाई दाँतले अति दुःख दियो । नदेओस् पो किन सात भाइका जेठा छोरा बाहिर बाउआमाहरू कोही गएर आयो कि मिश्री पिपलामेट ल्याएर खुसुक्क दिने सबैको माया पाए मिठाई खाए । हजुरबाको त झन् यति प्यारो कि साँझबिहान छिनछिनमै ठूल्नाति खोइ ? खाँदा सुत्दा डुल्दा जहिले पनि सानामा । मेरो धुरीमा हेलिखप्टर लार छाना उडाउने पख तैँले जस्तै हावाजात उडाएर हिँड्न सक्ने पढाइ मेरो ठूल्नातिलाई पनि पानीको सामल गरेर भए पनि पढाउँछु भन्ने मान्छे बुढा जब ठूलो नाति सहरमा घरको काख छाडेर पढ्न टाढा जाने भयो भनेदेखि नै पिरिन थालेका नाति सहर गएपछिको साता दिन जुठो मुखसिवाय केही गरेनन्, राति पनि गनगनाइरहे सुतेनन् ।
यति प्यारो गरी हुर्किएको नाति थिए तर्कनाथ । आज उनैको माया मिठाईले दाँत दुःखेर मुर्छा पर्नु परिरहेकोले राम्रो डेन्टिस्टकोमा जानका लागि सोधखोज गरेर निक्कै सजधजका साथ चलाएको एउटा नाम चलेको डेण्टलमा पुगे । भित्तातिर डेन्टिस्ट डाक्टरको नाम पनि नहेरी आफ्नो पालोमा भित्र छिरे तर्कनाथ । डाक्टरले यता आउनुस्, ऊ त्यहाँ उत्तानो परेर सुत्नुस् भन्दा कता कता बोली चिनेको मान्छेको जस्तो लाग्यो र पनि भन्न तर्कनाथले केही सकेनन् । जब डाक्टरले मास्क खोलेर मुख आँ गर्नुस् भन्दै मास्क लाएर फेरि भने तर्क ! मैले केटाकेटीदेखि नै तेरो बङ्गारा झार्दिम्ला भनेको होइन देखिस् यी आज तेरो बङ्गारा झार्दै छु बुझिस् । बल्ल तर्कनाथले मुख खोले ए तँ बलराम होस् ? हो कि होइन ? मैले उहिल्यै बङ्गारा झार्दिम्ला भनेको आज दुईटा झार्दिन्छु बुझिस् ।
हेर दुईटा खत्तम भएका छन्, सफा गरेर क्राउन हालौँ कि फाल्दिम् ? क्राउन हाल्न सम्भव भए क्राउन नै हालिदेन त । ल पख सफा गरौँ अनि भनेर सफा गर्न थाले । ए साथी हेर् मेरो हातबाट तेरो बङ्गारा बचेन क्राउन अड्ने आधारै छैन । ल फालौँ है । हुन्छ फाल उहिले झार्दिम्ला भन्थिस्, आज फाल्दे त नि अब भैगो नि भने तर्कनाथले र चुप लागे । डा. बलरामले इन्जेक्सन लाएर दुवैपट्टिका पछिल्ला बङ्गारा झिकिदिएर भने सात दिनपछि आइज सबै ठिकठाक गरौँला । ल हुन्छ जे भन्थिस् त्यही गरिस् । मान्छेले जे भनिरहन्छ त्यो त आखिरमा हुने नै रहेछ यार, ल धन्यवाद तँलाई फुर्सद भएको बेला दाँत मात्र होइन बलभाइ आँत खोल्न आउँछु बरु कहिले भन् ?
भोलि मेरो अफ डे यही क्वार्टरमा १ बजेतिर आइज नभुल नि फेरि पिकनिकमा झैँ । एई, धेरै नघोच चुप । आज बाई भोलि आई सुनिस् । ल ल जा । ए पख त दुःखेको भए त्यहाँबाट पेनकिलर लैजा है प्रेसक्रिप्सन लिएर जा । फेरि राति दुःख्यो भने मलाई गाली गरेर बस्लास् नि खाएपछि निद्रा पर्छ सुत । ल बाई ! बाई ! यसरी आफ्नै साथी भेट्दा चिन्न नसकिने तर सेवा लिन सहज हुने हुनाले साथी भनेको साथी नै हो दुःखसुखको मर्दा पर्दाको । बङ्गारा झार्दिम्ला भने नि । मनमा सोच्दै बाटाभरि तर्क गर्दै घर पुगे तर्कनाथ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…