काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा नेतृत्व परिवर्तनको बहस तीव्र रूपमा उठेको छ । भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा शुक्रबारदेखि जारी आठौँ सचिवालय बैठक मूलतः पार्टीको समग्र पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहसमा मात्रै केन्द्रित हुन पुगेको छ । सचिवालय बैठकका लागि पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजनसहित ११ वटा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरू तय गरिएका थिए । तर, शुक्रबार र शनिबार दुई दिनसम्म चलेको सघन छलफल तोकिएका ती कुनै पनि एजेन्डामा प्रवेश नै नगरी केवल पार्टीको नेतृत्व र आगामी बाटोको विषयमा मात्र केन्द्रित भएको छ ।
वर्तमान अवस्था र यथास्थितिमा पार्टी कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एमालेका अधिकांश शीर्ष पदाधिकारीहरूले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न खुलेरै दबाब दिएपछि सिंगो पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ । देशमा अहिले देखिएको राजनीतिक तथा आर्थिक संकटको सामना गर्न र तल्लो तहका आम कार्यकर्तामा देखिएको चरम निराशालाई नयाँ ऊर्जामा बदल्न वर्तमान नेतृत्वले त्याग गर्नुपर्ने आवाज बैठकमा अत्यन्त बलियो गरी उठेको छ ।
यसअघिका बैठकहरूमा घुमाउरो पारामा नेतृत्वको विकल्प खोजिरहेका नेताहरू शनिबारको बैठकमा भने निकै खुलेर र आक्रामक रूपमा प्रस्तुत भएका छन् । बैठकमा आफ्नो धारणा राख्ने क्रममा उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीको सिधै राजीनामा मागेर बैठकको माहोललाई थप चर्काउनुभएको थियो ।
अब ओलीको नेतृत्वबाट पार्टी र आन्दोलन अगाडि बढ्न नसक्ने निष्कर्ष सुनाउँदै भट्टराईले तत्काल राजीनामा दिएर पार्टीलाई निकास दिन अध्यक्षलाई आग्रह गर्नुभएको थियो । पार्टीमा चारैतिरबाट उठेको समग्र पुनर्गठनको आवाजलाई सम्बोधन गर्न नेतृत्व परिवर्तन अनिवार्य रहेको उहाँको प्रस्ट भनाइ थियो । उहाँको यो प्रस्तुतिले बैठकमा उपस्थित अन्य नेताहरूलाई पनि आफ्नो धारणा निर्धक्क राख्न बल पुगेको देखिन्छ ।
महासचिव पोखरेल पनि पुनर्गठनको पक्षमा
बैठकको तेस्रो दिन शनिबार आफ्नो भनाइ राख्ने क्रममा पार्टीका महासचिव शंकर पोखरेलले पनि वर्तमान कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउनुभएको छ । सधैँजसो अध्यक्ष ओलीको पक्षमा उभिने महासचिव पोखरेलले यसपटक भने पार्टीको आन्दोलन र संगठन यही अवस्थामा कुनै पनि हालतमा चल्न नसक्ने स्पष्ट पार्नुभएको छ । महासचिव पोखरेलले अध्यक्ष ओलीलाई सिधै राजीनामा दिनुस् भन्ने शब्द प्रयोग नगरे पनि उहाँले निकास दिनुपर्ने र पार्टीको समग्र पुनर्गठन हुनुपर्ने कुरालाई प्रस्ट रूपमा राख्नुभएको छ । उहाँले पार्टीभित्र पुनर्गठनको आवाज निकै ठुलो रहेको भन्दै विगतका कमीकमजोरी सच्याएर पार्टीलाई एकताबद्ध बनाउन नयाँ ढंगले अघि बढ्नुको कुनै विकल्प नभएको कुरामा जोड दिनुभएको छ ।
भट्टको प्रस्ताव : ६० वर्षे उमेरहद र पुस्तान्तरण
बैठकमा उपमहासचिव लेखराज भट्टले पार्टी नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने भन्दै एउटा नयाँ र साहसिक प्रस्ताव अघि सार्नुभएको छ । उहाँले ६० वर्ष उमेर पूरा भइसकेका सबै पुराना नेताहरूले नेतृत्वबाट ससम्मान बिदा लिनुपर्ने र त्योभन्दा मुनिको नयाँ पुस्तालाई पार्टी आन्दोलनको सम्पूर्ण जिम्मा दिनुपर्ने स्पष्ट धारणा राख्नुभएको छ । उमेरहदको यो कुरा उठाउँदै उहाँले समग्र पुनर्गठनकै पक्षमा आफ्नो बलियो मत जाहेर गर्नुभएको हो । शनिबारको बैठकमा महासचिव पोखरेल र उपमहासचिव भट्टका साथै अर्का उपमहासचिव रघुवीर महासेठले पनि पार्टी पुनर्गठनकै पक्षमा जोड दिनुभएको छ । यसरी हेर्दा पदाधिकारी तहमा नेतृत्व परिवर्तनको पक्षमा ठुलो जनमत तयार भएको देखिन्छ ।
बैठकमा बोल्ने क्रममा सचिव पद्मा अर्यालले पार्टीको तल्लो तहको अवस्था दयनीय रहेको बताउनुभएको थियो । माथिल्लो तहका नेताहरूले सोचेजस्तो र केन्द्रबाट हेर्दा जस्तो राम्रो देखिन्छ, तल्लो तहका कार्यकर्ता र संगठनको वास्तविक अवस्था त्यस्तो नरहेको भन्दै उहाँले गम्भीर सुधारको खाँचो रहेको बताउनुभएको थियो । भुइँ तहका कार्यकर्तामा उत्साह नभएको र संगठन शिथिल बनेको उहाँको भनाइले पनि वर्तमान नेतृत्वको कार्यशैलीप्रति गहिरो असन्तुष्टि रहेको कुरालाई प्रस्ट पार्छ ।
म कुनै हालतमा नेतृत्व छाड्दिनँ : ओली
बैठकमा आफ्नो राजीनामा माग्ने स्वरहरू बाक्लिएपछि र अधिकांश पदाधिकारीहरू विपक्षमा उभिएपछि अध्यक्ष केपी शर्मा ओली निकै आक्रोशित रूपमा प्रस्तुत हुनुभएको छ । उहाँले आफूले कुनै पनि हालतमा पार्टी नेतृत्व नछाड्ने सन्देश प्रस्ट रूपमा दिनुभएको छ । पदाधिकारीहरूको धारणा सुनिसकेपछि ओलीले आफूलाई सम्झाउने प्रयास नगर्न कडा चेतावनी दिनुभयो । उहाँले कसैले सम्झाइबुझाइ गर्दैमा आफूले नेतृत्व नछाड्ने र पार्टीलाई पुनः पुरानै बलियो अवस्थामा फर्काउन आफू पूर्ण रूपमा सक्षम रहेको दाबी गर्नुभएको थियो । पार्टीलाई फेरि पुरानो अवस्थामा ल्याउने दायित्व आफ्नै भएको भन्दै उहाँले नेतृत्व हस्तान्तरणको बहसलाई सिधै खारेज गरिदिनुभएको छ । विरोधीहरूसँग मिलेर आफ्नै नेताहरूले पार्टीलाई संकटमा पार्न खोजेको भन्दै उहाँले गुनासोसमेत पोख्नुभएको छ ।
ओलीको बचाउमा बस्नेत र बादल मात्र
बैठकमा उपस्थित १९ पदाधिकारीमध्ये धेरैजसोले ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखिरहँदा सचिव महेश बस्नेत भने अध्यक्षको पक्षमा बलियो ढाल बनेर उभिनुभएको छ । उहाँले वर्तमान संकटपूर्ण अवस्थामा अध्यक्ष ओलीको राजीनामा माग्नुलाई आपराधिक कामको संज्ञा दिनुभएको छ । यस्तो बेला नेतृत्वबाट हट्नुपर्छ भन्नेहरू अपराधी हुन् भन्दै उहाँले राजीनामा माग्ने शीर्ष नेताहरूलाई नै कडा चेतावनी दिनुभएको थियो । विशेष महाधिवेशन गरेर नेतृत्व फेर्ने अन्य पार्टीहरूको हालत पनि झन् खस्किएको उदाहरण दिँदै बस्नेतले नेतृत्व हस्तान्तरणको बहसलाई औचित्यहीन भएको दाबी गर्नुभएको थियो । अहिलेसम्म बोलेका नेताहरूमध्ये उपाध्यक्ष रामबहादुर थापा र सचिव महेश बस्नेतले मात्र ओलीको खुलेर बचाउ गर्नुभएको छ । आफूविरुद्ध अधिकांश नेताहरू खनिएपछि अध्यक्ष ओलीले बैठक लम्बेतान भएको भन्दै बीचमै बैठक समापन गर्न खोज्नुभएको थियो । उहाँले धेरै जोडबल नगर्न भन्दै बैठक सकिएको घोषणा गर्न खोजेपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कडा प्रतिवाद गर्नुभएको थिो । के तपाईंले अरूलाई बोल्नै नदिएर बैठक सक्न लागेको हो भन्दै गुरुङले सिधा प्रश्न गरेपछि बैठकस्थलको माहोल निकै तनावपूर्ण बनेको थियो । गुरुङको प्रश्नको ओलीले कुनै जवाफ दिनुभएन । उहाँ बैठक सकियो भन्दै उठेर हिँडेपछि शनिबारको बैठक बिनाकुनै निष्कर्ष टुंगिएको थियो ।
दुई दिनदेखि जारी यस महत्त्वपूर्ण बैठकमा शनिबार नौ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । अब चार जना सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आफ्नो धारणा राख्न बाँकी छ । आइतबार बिहान साढे ११ बजे पुनः गुन्डुमै बस्ने बैठकमा बाँकी सचिवहरूले धारणा राखेपछि अध्यक्ष ओलीले आफ्नो विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बहुमत पदाधिकारी विपक्षमा उभिएको र अध्यक्ष ओली कुनै पनि हालतमा पछि नहट्ने कडा अडानमा रहेको वर्तमान अवस्थामा नेकपा एमालेको आगामी यात्रा र निर्णय के हुनेछ भन्ने कुराले सिंगो राष्ट्रिय राजनीतिक वृत्तमा नै ठुलो चासो र कौतूहल उत्पन्न गरेको छ । पार्टीभित्र देखिएको यो चरम असन्तुष्टि र दबाबलाई अध्यक्ष ओलीले कसरी व्यवस्थापन गर्छन् भन्ने विषयले समग्र एमालेको आगामी भविष्य तय गर्ने निश्चित छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर