काठमाडौं । नेपालका लागि बेलायती राजदुत रब फेनले नेपालको शैक्षिक विकास, गुणस्तर सुधार र बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूको वृहत्तर हितका लागि आफ्नो सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
काठमाडौंमा एक कार्यक्रममा बोल्दै राजदुत फेनले नेपालको शैक्षिक क्षेत्रमा बेलायती सहयोगलाई मुख्य तीन स्तम्भमा वर्गीकरण गर्नुभएको हो । राजदुत फेनले नेपालले शिक्षामा हासिल गरेको ‘सर्वसुलभ पहुँच’ को प्रशंसा गर्नुभयो । भौगोलिक जटिलताका बावजुद हरेक बालबालिकालाई विद्यालयसम्म पुर्याउन सक्नु नेपालको असाधारण उपलब्धि भएको उहाँको भनाइ छ ।
अबको चुनौती पहुँचबाट माथि उठेर गुणस्तरीय नतिजा निकाल्नु रहेको उल्लेख गर्दै उहाँले ‘विद्यालय शिक्षा क्षेत्र कार्यक्रम’ मार्फत आधारभुत शिक्षाको सुधारमा बेलायतले नेपाल सरकार र युनिसेफजस्ता साझेदारहरूसँग मिलेर काम गरिरहेको जानकारी दिनुभयो । नयाँ बेलायती सरकारको प्राथमिकतासँग मेल खाने गरी ‘ट्रान्सन्याशनल एजुकेशन’ (सीमापार शिक्षा) लाई उच्च सम्भावनाको क्षेत्रका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार निजी क्षेत्रको सहकार्य र शैक्षिक साझेदारीले दुई देशबीचको व्यापारिक र कुटनीतिक सम्बन्धलाई थप बलियो बनाउनेछ ।
राजदुत फेनले बेलायत अध्ययन गर्न जाने नेपाली विद्यार्थीको ‘पास्टोरल केयर’ (हेरचाह र अभिभावकत्व) लाई विशेष महत्व दिनुभयो । कतिपय विद्यार्थी पर्याप्त अङ्ग्रेजी भाषाको ज्ञान बिना वा चर्को ऋणको बोझ लिएर बेलायत पुग्दा मानसिक र सामाजिक दबाबमा पर्ने गरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीले एक्लोपन वा असुरक्षा महशुस नगरुन् भन्नका लागि आफूहरूले लण्डनस्थित नेपाली दुतावास, बेलायत-नेपाल सोसाइटी र नेपालको शिक्षा तथा परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताउनु भयो ।
राजदुत फेनले नेपालमा महिला नेतृत्व र सशक्तीकरणको प्रसङ्ग कोट्याउँदै नेपाली किशोरीहरूका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टूर्नामेन्ट’ आयोजना गर्ने सोच अघि बढाएको जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट महिला सहभागिता र नेतृत्व विकासमा सहयोग पुग्ने उहाँको विश्वास छ ।
राजदुत फेनले भन्नुभयो, ‘यदि कुनै बेलायती विश्वविद्यालयले नेपाली विद्यार्थीको हितमा ध्यान नदिएको पाइएमा म स्वयंले त्यहाँका उपकुलपतिलाई फोन गरेर ध्यानाकर्षण गराउनेछु ।’
राजदुत फेनले नेपालको विकासका आवश्यकताहरूलाई सम्बोधन गर्न बेलायत सरकार सधैँ तत्पर रहेको र शिक्षाको पूर्ण क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाल र बेलायतबीचको सम्बन्ध सुदृढीकरणमा शिक्षा र सीपको भुमिका महत्वपूर्णः बेलायती मन्त्री मल्होत्रा
संयुक्त अधिराज्य (बेलायत) की इण्डो-प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउन शिक्षा, सीप विकास र आर्थिक सहकार्य मुख्य आधार रहेको बताउनुभएको छ ।
आफ्नो पहिलो नेपाल भ्रमणका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दुई देशबीचको २०० वर्षभन्दा पुरानो मित्रता र १०० वर्षअघि हस्ताक्षरितमैत्री सन्धिलाई नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री मल्होत्राले नेपालको शिक्षा क्षेत्रमा बेलायतले विगत ७० वर्षदेखि निरन्तर सहयोग गर्दै आएको स्मरण गराउनु भयो । मन्त्री मल्होत्राले शिक्षा र अर्थतन्त्र एकअर्कासँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्नुभयो ।
नेपाल सरकारले अघि सारेको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लक्ष्यलाई सघाउन बेलायत इच्छुक रहेको उहाँको भनाइ छ । बेलायतले आफ्नै देशमा लागू गरेको ‘औद्योगिक रणनीति’ र ‘स्किल्स इङ्गल्याण्ड’ को अवधारणालाई नेपालको आवश्यकताअनुसार साझेदारी गर्न सकिने उहाँले बताउनु भयो । नेपाली विद्यार्थीले नेपालमै बसेर बेलायती विश्वविद्यालयको शैक्षिक योग्यता हासिल गर्न सकिने ‘ट्रान्सनेशनल एजुकेसन’ को महत्वमाथि प्रकाश पार्दै मन्त्रीले यसले प्रतिभा पलायन रोक्न र लागत कम गर्न मद्दत गर्ने धारणा राख्नुभयो ।
हाल नेपालका ३० वटा क्याम्पससँग १९ वटा बेलायती विश्वविद्यालयले सहकार्य गरिरहेको र १७ हजारभन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइरहेको जानकारी उहाँले दिनुभयो । मन्त्री मल्होत्राले बेलायतमा रहेका नेपाली समुदायले दुई देशबीच ‘लिभिङ ब्रिज’ को काम गरिरहेको बताउनु भयो । बेलायतमा नेपाली मूलका व्यक्तिहरू स्थानीय राजनीति र व्यावसायिक क्षेत्रमा सफल हुँदै गएकोमा खुशी व्यक्त गर्दै उहाँले बेलायत पढ्न जाने नेपाली विद्यार्थी छैटौँ ठूलो अन्तर्राष्ट्रिय समूह हुनु गौरवको विषय रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि राष्ट्रले मानवीय प्रतिभामा लगानी नगरी आफ्ना आकाङ्क्षाहरू पूरा गर्न सक्दैन। बेलायत र नेपालले दशकौँदेखि विद्यालय शिक्षा र शिक्षक तालिममा सहकार्य गर्दै आएका छन् । यदि तपाईँ आर्थिक वृद्धि चाहनुहुन्छ भने सीप चाहिन्छ, र रोजगारीका लागि उपयुक्त तालिम आवश्यक पर्छ ।’
भ्रमणका क्रममा मन्त्री मल्होत्राले नेपालका शिक्षा, परराष्ट्र र अर्थमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो । ती भेटहरूमा आधारभूत सिकाइ ढाँचा, बालिका शिक्षा र अटिज्म भएका बालबालिकाका लागि विशेष शैक्षिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । मन्त्री मल्होत्राले नेपालको समावेशी विकास, नवप्रवर्तन र समृद्धिका लागि बेलायत सदैव भरपर्दो साझेदार रहने विश्वास व्यक्त गर्नुभयो ।







ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ
बिहारको मन्दिरमा भागदौड मच्चिँदा ७
स्कुटर दुर्घटनामा युवकको मृत्यु
बेलायत निर्मित ड्रोन रुसी भूभागमा
मकवानपुरमा स्कारपियो दुर्घटना : मुख्य