अर्जुन प्रधान, अमेरिका । अमेरिकाको कोलोराडो राज्यस्थित डेनभरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन औपचारिक रूपमा आरम्भ भएको छ । विभिन्न देशबाट आएका करिब दुई सय साहित्यकार तथा प्रतिनिधिहरूको सहभागिता रहेको सम्मेलनमा नेपाली भाषा, साहित्य तथा डायस्पोरामा यसको संरक्षणका विषयमा केन्द्रित छलफल भइरहेको आयोजकले जनाएको छ ।
सम्मेलनका प्रमुख अतिथि मदन पुरस्कार विजेता डा. नवराज लम्सालले साहित्यलाई ‘विवेकको मार्ग’का रूपमा व्याख्या गर्दै लेखकले राजनीति र संगठनका सीमाभन्दा माथि उठेर मानवीय संवेदनालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले भानुभक्तदेखि माधव घिमिरेसम्मका नेपाली साहित्यका ‘अष्ट चिरञ्जीवी’हरूको योगदान स्मरण गर्दै साहित्यले निराशा र आत्महत्या जस्ता सामाजिक समस्याबाट जोगाउन भूमिका खेल्न सक्ने धारणा व्यक्त गर्नुभयो ।
अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले सन् १९९१ मा सानो समूहबाट सुरु भएको संस्था अहिले ४० भन्दा बढी देशमा विस्तार भएको जानकारी दिनुभयो । उहाँले डायस्पोरामा बसेर पनि महत्त्वपूर्ण साहित्यिक कृति सिर्जना गर्न सकिने उल्लेख गर्दै लेखकलाई प्रोत्साहन गर्न पाठकहरूले पुस्तक खरिद संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
बोर्ड अफ ट्रष्टी सभापति पदम विश्वकर्माले सम्मेलनलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै यसपटक साहित्यलाई पत्रकारिता, समुदाय र संस्कृतिसँग जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले डायस्पोरामा नेपाली भाषा संरक्षण चुनौतीपूर्ण भए पनि सामूहिक प्रयासबाट त्यसलाई अवसरमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो ।
साहित्यकार नीलम कार्की निहारिकाले संस्थामा महिला नेतृत्वको इतिहास स्मरण गर्दै इतिहासमा महिलाका अनुभव पर्याप्त रूपमा अभिलेखीकरण नभएको बताउनुभयो । उहाँले आगामी दिनमा नेतृत्व तहमा थप महिला सहभागिता हुने अपेक्षा व्यक्त गर्नुभयो ।
भुटानका साहित्यकार खेम ‘उर्जा’ रिजालले भुटानी नेपालीहरूको निर्वासन अनुभव प्रस्तुत गर्दै भाषा संरक्षणको आवश्यकता औँल्याउनुभयो । उहाँले ‘भाषा नभए साहित्य रहँदैन’ भन्दै नयाँ पुस्तामा मातृभाषा हस्तान्तरण अपरिहार्य रहेको बताउनुभयो ।
एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र साहले साहित्यविना भाषा सशक्त बन्न नसक्ने उल्लेख गर्दै डायस्पोराका बालबालिकामा नेपाली साहित्यप्रति रुचि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपाध्यक्ष प्रकाश पौडेलले सम्मेलनमा सहभागीहरूलाई स्वागत गर्दै एनआरएनएको निरन्तर समर्थन रहने बताउनुभयो ।
कोलोराडोस्थित ‘नेपाली घर’ की गंगा चौलागाईंले उक्त सांस्कृतिक केन्द्रले भाषा, साहित्य र संस्कृतिको संरक्षणमा काम गरिरहेको जानकारी दिँदै सहभागीहरूलाई केन्द्र अवलोकनका लागि निमन्त्रणा गर्नुभयो । एनआरएनए कोलोराडोका चन्द्र गुरुङले डायस्पोराका बालबालिकामा नेपाली भाषाको प्रयोग घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मातृभाषा संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्डर सहरका मेयर एरन ब्रकेटले पनि सहभागिता जनाउँदै सम्मेलनमा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्नुभयो र नेपाली साहित्यबारे जान्न इच्छुक रहेको बताउनुभयो । सम्मेलनले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनका विषयमा विभिन्न धारणा प्रस्तुत गर्दै कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।
उद्घाटनपछि ‘सेलेब्रेसन नेपाली लिटरेचर इन इंगिलिस’ बिषयमा बिभिन्न वक्ताहरूको प्रस्तुति रहेको थियो । विश्वभरी छरिएर रहनुभएका बिभिन्न लेखकहरूका एकसय भन्दा बढि कृतिहरू विमोचन पनि भएका छन् । त्यसैगरी बिभिन्न कवी कवयत्रीहरूले छन्द कविता, गद्य कविता, गजल वाचन गर्नुभएको थियो ।
आज (सोमबार)सम्म सञ्चालन हुने कार्यक्रममा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ लगायत दर्जन बढी महत्त्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिदो नेपाली साहित्यका विषयमा विमर्श गरिने तयारी रहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको सभापतित्वमा सम्पन्न उद्घाटन समारेहको सञ्चालन अनेसास महासचिव राजु सिटोला र कोषाध्यक्ष तारा अधिकारिले संयूक्त रूपमा गर्नुभएको थियो ।
सन् १९९१ मा स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिश्वभर छरिएर रहेका नेपाली भाषी स्रष्टा र साहित्य प्रमीहरूको अन्तराष्ट्रिय स्तरको साझा संस्थाका रुपमा विकास हुँदै गएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि