काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरूपयोग तथा आर्थिक अनियमिततासम्बन्धी गम्भीर आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न उजुरीका आधारमा पाँच दिनभित्र सत्यतथ्य राय, प्रतिक्रिया तथा प्रमाणित कागजात पेश गर्न क्यानलाई निर्देशन दिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते अध्यक्ष चन्दविरुद्ध उजुरी दर्ता भएको थियो । त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले वैशाख ३१ गते राखेपलाई पत्र पठाउँदै आवश्यक विवरणसहित १० दिनभित्र जवाफ पठाउन निर्देशन दिएको थियो ।
मन्त्रालयमार्फत् प्राप्त पत्रका आधारमा राखेपले गत बिहीबार क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्द तथा अन्य पदाधिकारीविरुद्ध उठाइएका विषयमा बुँदागत रूपमा स्पष्ट राय, प्रतिक्रिया र प्रमाणित कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
उजुरीमा क्यानका अध्यक्ष, कोषाध्यक्ष तथा अन्य पदाधिकारीहरूले पदीय अधिकारको दुरूपयोग गर्दै सार्वजनिक कोषको अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियामा दुरूपयोग गरेको, अपांगता भत्ताको दुरूपयोग गरेको तथा वार्षिक साधारणसभा, जर्सी र टिकट वितरणमा अनियमितता गरेको आरोप लगाइएको छ ।
राखेपले पठाएको पत्रमा अध्यक्ष चन्दले विभिन्न स्रोतबाट रकम संकलन गरी निजी गाडी खरिद गरेको, उक्त गाडी क्यानलाई भाडामा दिएको तथा त्यसको इन्धन, चालक र अन्य खर्च क्यानको कोषबाट बेहोरेको आरोप उल्लेख गरिएको छ । साथै हवाई यात्रा तथा दैनिक भत्ता (टिएडिए) मा पनि अनियमितता भएको उजुरीमा दाबी गरिएको छ ।
त्यसैगरी काठमाडौंको अनामनगरस्थित आफन्तको रेस्टुरेन्टमा मदिरा, खाना तथा अन्य खर्च क्यानको नाममा भुक्तानी गराइएको, विभिन्न आपूर्तिकर्तासँग आर्थिक असुलउपर गरिएको, फ्लेक्स सामग्रीको बिल महँगो दरमा पास गराइएको तथा पेटी क्यास खातामार्फत् कोषको दुरूपयोग भएको आरोपसमेत लगाइएको छ ।
उजुरीमा अध्यक्ष चन्दले अत्यधिक विदेश भ्रमण गरी ठूलो रकम भत्ता लिएको तथा कोषाध्यक्ष पदमबहादुर खड्कालाई पनि सँगै लैजाँदा दोहोरो आर्थिक भार परेको उल्लेख गरिएको छ । अमेरिकामा सम्पन्न विश्वकप भ्रमणका क्रममा अध्यक्ष र कोषाध्यक्षले आफ्ना श्रीमतीलाई क्यानकै खर्चमा लगेको, असम्बन्धित व्यक्तिहरूलाई भिसा लगाइदिएको तथा अनुचित आर्थिक लाभ लिएको आरोपसमेत लगाइएको छ ।
यस्तै, विश्वकपका क्रममा जर्सी तथा टिकट वितरणमा व्यापक अनियमितता भएको, बिक्रीबाट उठेको रकमको हिसाबकिताब सार्वजनिक नभएको तथा आर्थिक अभिलेखमा आम्दानी लुकाइएको दाबी उजुरीमा गरिएको छ ।
राखेपले क्रिकेटसँग असम्बन्धित व्यक्तिलाई समेत विश्वकपमा क्यानको खर्चमा लगिएको, योग्यताका आधारमा नभई आफ्नै जिल्लाका व्यक्तिहरूलाई विभिन्न पदमा नियुक्त गरिएको तथा वार्षिक साधारणसभामा विधानविपरीत सहभागिता गराइएको विषयमा पनि स्पष्ट जवाफ मागेको छ ।
उजुरीमा अध्यक्ष चन्दले अपांगतासम्बन्धी झुटो दाबी गरी सरकारी पेन्सन बुझेको तथा राखेपका सदस्य-सचिव टंकलाल घिसिङलाई अमेरिकाको भिसा र टिकटको सुविधा उपलब्ध गराएर अनियमितता ढाकछोप गर्न खोजिएको आरोप पनि समावेश छ । राखेपले पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र सम्पूर्ण आरोपबारे प्रमाणसहित स्पष्ट जवाफ उपलब्ध गराउन क्यानलाई निर्देशन दिएको जनाएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम