बर्खा लाग्ने समय सुरु भएको छ । दिनहुँजसो पानी परिरहेको छ र कतै कतै यसले क्षति पनि पुर्याएको छ । मौसमविद्हरूले बताएअनुसार पानी पर्नुपर्ने आगामी समयमा पानी पर्दैन भन्ने अनुमान छ । मुख्य गरी जेठ २०/२२ पछि असार र साउन १५ सम्म पनि आवश्यक मात्रामा पानी परेन भने खेतीबाली लगाउन सकिँदैन । नेपाल कृषिप्रधान देश हो । वर्षा भएन भने यस बेलामा खेती गर्न मुस्किल हुन्छ । लगाएको बालीनाली पनि पानीबिना फस्टाउन सक्दैन र उत्पादन दिँदैन । हाम्रो सन्दर्भमा असार र साउन धान र कोदो रोप्ने समय हो । कोदो पाखोबारीमा हुने र थोरै पानी भए पनि हुने बालीनाली हो भने धान पानी लगाएर फलाउनुपर्ने बाली हो । बाली लगाउनुपर्ने समयमा सुक्खा लाग्यो अर्थात् खडेरी पर्यो भने उत्पादन हुँदैन । पछिल्ला दशकहरूमा जलवायु परिवर्तनका कारण समय अनुसारको मौसम भइरहेको छैन ।
आवश्यक परेका बेला वर्षा नहुने र सुक्खा लाग्ने अर्थात् खडेरी पर्ने र पानीको आवश्यकता नपरेको बेला पानी परेर धनजनको क्षति भएका अनेकौँ दृष्टान्तहरू छन् । कतै अतिवृष्टि कतै अनावृष्टि र खण्डवृष्टि हुने गरेका छन् भने मानवीय कारणले गर्दा वायुमण्डलमा पुर्याएको क्षतिले गर्दा पनि यस्तो हुने गरेको छ । यति मात्र होइन कुनै एक ठाउँको प्रभाव निकै वरपरसम्म पनि पर्ने गरेको छ । मरुभूमि भएका ठाउँहरूको चक्रपातको प्रभावले त्यसभन्दा धेरै परपरका देशहरूमा पनि आकाशमा धुलीकण जम्मा भएर वर्षासँगै लेदो झर्ने गरेका केही उदाहरणहरू छन् । यस्ता विभिन्न कारणहरूलाई मानवीय प्रयासले न्यूनीकरण गर्न त सकिएला तर त्यसभन्दा पनि आवश्यक कुरा चाहिँ के हो भने यस्ता प्रकोपबाट बच्न मानिसले संवेदनशील भएर लाग्नैपर्ने हुन्छ ।
यसका लागि सतर्कता सबभन्दा प्रथम आवश्यकता हो । कतिपय नागरिकहरू आफ्ना कारणले जोखिममा परिरहेका हुन्छन् । खोला किनारमा बस्ने, भिराला पाखाहरूमा बस्ने, डुबान हुने क्षेत्रमा बस्नेहरूले विशेष चनाखो हुनैपर्छ । पहिले आफू सतर्क बन्नुपर्छ । आफू सतर्क बन्दाबन्दै पनि असजिलो अवस्थामा पुगेका खण्डमा मात्र सहयोग अपेक्षित हुन्छ । नेपाल भुबनोटका दृष्टिकोणले कमजोर छ । उत्तरबाट दक्षिण फर्किएको पाटोका रूपमा नेपाल रहेको छ । हिमालयदेखि तराईसम्म दक्षिणतर्फ कोल्टे परेर रहेको छ । जसले गर्दा पहाडी क्षेत्रहरूमा बाढी र पहिरोको जोखिम छ भने तराई क्षेत्रमा डुबानको जोखिम छ ।
महाभारत पर्वत र चुरे पर्वतका बीचमा केही उपत्यका र दुनक्षेत्रहरू छन् । यी भावर र दुनमा अन्य किसिमका जोखिमहरूका साथै बाढी पहिरोजन्य डुबानजन्य समस्याहरूको पनि विद्यमानता छँदै छ । यसको दक्षिणतिरको भूभाग तराई अथवा मधेस हो । चुरेको संरक्षणमा भर पर्नेगरी तराईको अवस्थिति रहेको छ । चुरेमा कुनै किसिमको भौगोलिक खलल र हलचल भयो भने त्यसको सोझो प्रभाव तराई क्षेत्रमा पर्छ । चुरे क्षेत्रमा हालका दिनहरूमा अत्यन्त ठूलो मात्रामा दोहन भइरहेको छ । कतिसम्म भने यसलाई रोक्नका लागि गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवको पालामा राष्ट्रपति चुरे संरक्षणसम्बन्धी प्रयास भएको थियो तर त्यो क्रम विस्तारै सेलाउँदै गएको जस्तो देखिन्छ ।
चुरेबाट गिटी, बालुवा निकाल्ने वनपैदावारको दोहन गर्ने जस्ता कार्यले चुरेमा स्खलन पैदा भएको छ । जति चुरेको दोहन हुन्छ र संरक्षण हुँदैन त्यति नै तराई प्रभावित हुन्छ । चुरे खस्किन्छ र तराईतिर बाढी र डुबानका समस्याहरू बढ्दै जान्छन् । चुरेबाट पैदा हुने खहरेहरूमा बलौटे माटो बगेर तराईका आबादी खेतहरू भरिँदै जान्छन् र तराईको उर्वरा शक्ति घट्छ । यस्तो हुन नदिन नै राष्ट्रपतिको नामसँग सम्बन्धित काम भएको हो । यसलाई अहिले पनि सक्रिय गराउनुपर्ने आवश्यकता छ । अनधिकृत दोहन गर्नेहरूका चुरेलाई जोगाउनु जरुरी छ ।
केही वर्ष पहिलेको सरकारले आफ्नो नीति तथा वार्षिक कार्यक्रममा चुरेबाट पैदा हुने गिटी, बालुवा लगायतका पदार्थहरू भारतलाई बिक्री गरेर वार्षिक आम्दानी गर्ने योजना वनाएको थियो । यसको सर्वत्र विरोध भएपछि सरकारले त्यो कार्यक्रम फिर्ता गर्नुपरेको थियो । प्रकृति नै सबैभन्दा ठूलो कुरा हो । कतिपय विज्ञहरूले त विभिन्न धर्मका आधारमा मानिने ईश्वर पनि वास्तवमा प्रकृति नै हो भनेर मानिन्छ । अर्थात् प्रकृतिलाई नै ईश्वर मानिन्छ । मानिस पनि प्रकृतिकै एउटा अंग हो । त्यस कारणले प्रकृतिलाई कसैले पनि बिथोल्नु हुँदैन । प्रकृतिको संरक्षण गर्नुपर्छ । हावा, पानी, माटो अर्थात् पञ्चतत्त्वको संरक्षण आवश्यक हुन्छ । हामीले प्रकृतिको संरक्षण गर्न सक्यौँ भने मात्र प्रकृतिले पनि हाम्रो संरक्षण गर्छ ।
त्यसैले हाम्रा पूर्वजहरूले हामीलाई प्रकृतिको पूजा गर्न सिकाएका हुन् । पानी, आगो, वनस्पति वा बोटविरुवा सिमसार आदिको संरक्षण गर्न पुर्खाहरूले सिकाएका थिए । पछिल्लो चरणमा पश्चिमाहरूले गैरसरकारी संस्थाको माध्यमबाट हामीलाई सिकाउने कुरा पनि तिनै हुन् । जुन कुरा हामीले शताब्दियौँ अगाडिदेखि नै सिक्दै आएका थियौँ । जल, जमिन, जंगल, जनावर, जडीबुटी आदिको संरक्षणको नारा अहिले अगाडि सारिएको छ । यी कुराहरू हामीले पहिलेदेखि नै अभ्यास गर्दै आएका हौँ तर पछिल्लो चरणमा अत्यन्त मात्रामा कार्बन उत्सर्जन लगायतका कारणले वायुमण्डलीय अवस्थितिमा खलल पुग्न गई कतै ओजोन तह प्वाल पर्ने, कतै अम्ल वर्षा हुने, अतिवृष्टि, खण्डवृष्टि, अल्पवृष्टि, अनावृष्टिका प्रभावहरू देखिने र त्यसबाट प्राणी र वनस्पति प्रभावित बन्ने जस्ता समस्याहरू बढ्दै गएका छन् ।
हामीले सरकारी स्तरबाट मात्र होइन जनस्तरबाट समेत जसजसले जेजे गरेर प्रकृतिको संरक्षण गर्न सकिन्छ त्यसो गर्न आवश्यक छ । यसका लागि अर्थात् प्रकृति संरक्षणका लागि अन्यत्र पनि नकारात्मक प्रभाव पर्ने कार्य गर्नुहुँदैन । साथै सबैभन्दा कमलो पर्वत र यसलाई चलायो भने समग्र तराई प्रभावित हुने पर्वत चुरे पहाडको संरक्षण आवश्यक छ । यसका लागि कडा नीति ल्याएर सरकारले यसको दोहन रोक्नुपर्छ । दोहन गर्नेहरूलाई कडा कारबाही गरिनुपर्छ । त्यसो भयो भने चुरेको पनि संरक्षण हुन सक्छ र तराई पनि जोगिन सक्छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…