कर्णाली, यस नामले नै फरक अनुभूति र आत्मीयता जगाउँछ । दुर्गम र कठोर भू-भाग भए पनि यहाँ अनगिन्ती सम्भावना र अवसर छन् । विगत लामो समयदेखि म कर्णालीका विभिन्न जिल्लामा गएर अध्ययन, अनुगमन र सामुदायिक विकास कार्यमा सहभागी हुँदै आएको छु । त्यहाँको जीवन, चुनौती र समुदायले दिएको अनुभव मेरो लागि शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा अमूल्य रह्यो ।
कर्णाली मेरो लागि खुला किताब जस्तो हो । यहाँ मैले आफ्नो जवानीका अनुभव भोगें, जीवनका चुनौती र मिठास अनुभूत गरें र आफ्नै व्यक्तित्वको स्पष्ट रूप पत्ता लगाएँ । यहाँको प्रकृति, मानिस, संघर्ष र आशाले मलाई निखारेको मात्र होइन, फरक दृष्टिकोणले सोच्न पनि सिकायो । हरेक यात्रा र भेटघाटले मेरो भित्री शक्ति र सम्भावनासँग जोड्ने अवसर प्रदान गर्यो ।
कर्णाली विकास मोडेल केवल सिद्धान्त र नीति मात्र होइन, यसलाई वास्तविक जीवनमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने अनुभव मैले ग्रामीण समुदायमा प्रत्यक्ष देखेको छु । कर्णालीका प्रत्येक जिल्ला र गाउँको परिस्थिति फरक भएकाले मोडेललाई स्थानीय आवश्यकता, सामाजिक संरचना र भौगोलिक चुनौतीअनुसार विकास अनुकूलन गर्न आवश्यक छ ।
मैले मुगु, डोल्पा, जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, सल्यान, दैलेख र पश्चिम रुकुममा प्रत्यक्ष अवलोकन र सहभागितामार्फत देखेँ कि कर्णालीमा विकास कुनै एकल उपायले सम्भव छैन । मेरो व्यक्तिगत अनुभव कर्णाली यात्रासँग जोडिएको चुनौती र सिकाइको कथा हो । दुर्गम पहाडी तथा हिमाली भूगोल, कठिन बाटो र भौगोलिक अवरोधहरूले विकास कागजमा लेखिएजस्तो सरल हुँदैन भन्ने स्पष्ट बोध गराए । यी अनुभवले देखाउँछन् कि कर्णालीको विकास बाह्य स्रोतमा मात्र निर्भर भएर सम्भव छैन; स्थानीय क्षमता, स्वामित्व, सीप र सहभागिताले मात्र दिगो परिवर्तन सम्भव बनाउँछ । कठिन भूगोल, सीमित स्रोतसाधन र पहुँचका चुनौतीबीच पनि कर्णालीले सामुदायिक विकासमा नवप्रवर्तन, धैर्य र आत्मनिर्भरतामार्फत भविष्य निर्माण गरिरहेको छ ।
एक यात्रु, पेशेवर तथा सामाजिक विकासकर्मीको रूपमा मेरो कर्णाली अनुभवले देखाएको विकास मोडेल भनेको स्थानीय केन्द्रित परिवर्तनको अवधारणा हो । यस अनुसार, विकास केवल बाह्य लगानी वा कागजी योजनाबाट सम्भव हुँदैन यो समुदायको अनुभव, क्षमता, आवश्यकता र सहभागितासँग प्रत्यक्ष रूपमा जोडिनुपर्छ । कर्णालीको दुर्गम भूगोल, सीमित स्रोत र पहुँचका चुनौतीहरूले स्पष्ट पार्छन् कि दीगो विकासका आधार स्थानीय स्वामित्व, सक्रिय सहभागिता र निरन्तर धैर्य हुन् वास्तविक परिवर्तन तब मात्र सम्भव हुन्छ जब विकासकर्मी समुदायसँग प्रत्यक्ष संवादमा रहन्छन्, उनीहरूसँग हिँड्छन्, सुन्छन् र सिक्छन ।
कर्णालीले सिकाएको विकास दर्शन
कर्णालीको यात्राले मलाई विकासलाई नयाँ दृष्टिकोणबाट बुझ्न सिकायो । यहाँ विकास कुनै बाहिरबाट ल्याइने तयार समाधान होइन, बरु समुदायभित्रैबाट क्रमशः निर्माण हुने प्रक्रिया हो । दुर्गम भूगोल, सीमित स्रोत र अनेक चुनौतीका बीच पनि यहाँका मानिसहरूले देखाएको धैर्य, सहकार्य र आत्मविश्वासले स्पष्ट पार्छ, विकासको वास्तविक शक्ति समुदायमै निहित हुन्छ । मैले हिँडेका गाउँका बाटाहरू, सहभागी भएका सामुदायिक बैठकहरू र सुनेका जीवन कथाहरूले एउटै सन्देश दिए । विकास तब मात्र सफल हुन्छ जब यसले मानिसहरूको वास्तविक आवश्यकता, अनुभव र जीवनशैलीलाई सम्मान गर्छ । योजना कागजमा बन्न सक्छ, तर त्यसलाई जीवन्त बनाउने शक्ति समुदायको सहभागिता, स्वामित्व र विश्वासमा निर्भर हुन्छ ।
कर्णालीले देखाएको विकास दर्शन सरल तर गहिरो छ-सुन्ने, सिक्ने र सहकार्य गर्ने । जब विकास प्रक्रियामा संलग्न व्यक्तिहरू समुदायसँगै हिँड्छन्, उनीहरूको आवाजलाई प्राथमिकता दिन्छन् र स्थानीय क्षमतालाई सशक्त बनाउँछन्, तब परिवर्तन केवल परियोजनागत उपलब्धि मात्र नभई सामाजिक रूपान्तरणमा रूपान्तरित हुन्छ ।
यस यात्राले मलाई व्यक्तिगत रूपमा पनि परिवर्तन गर्यो । विकास अब मेरो लागि लक्ष्य पूरा गर्ने प्रक्रिया मात्र होइन, यो सम्बन्ध निर्माण गर्ने, विश्वास जगाउने र आशालाई व्यवहारमा रूपान्तरण गर्ने निरन्तर अभ्यास हो । कर्णालीका मानिसहरूको लगनशीलता, आशा र संघर्षले देखाएको बाटोले हामीलाई सम्झाउँछ, साँचो विकास त्यहीँ सम्भव हुन्छ जहाँ मानिस केन्द्रमा हुन्छन् र जहाँ परिवर्तन बाहिरबाट थोपरिने होइन, भित्रबाट जन्मिन्छ ।
विकास केवल योजना र लगानीको विषय होइन, यो जीवनसँग प्रत्यक्ष जोडिएको निरन्तर अभ्यास हो । साँचो विकास भनेको समुदायसँग संवाद गर्ने, उनीहरूसँग हिँड्ने, सुन्ने र सिक्ने प्रक्रिया हो । यहाँका मानिसहरूको लगनशीलता, आशा र धैर्य नै विकासका वास्तविक प्रेरणा हुन्, जसबाट हामी परिवर्तनको वास्तविक अर्थ बुझ्न सक्छौं ।
त्यसैले मैले प्रस्तुत गर्न चाहेको कर्णालीको विकास मोडेल केवल लक्ष्य र गतिविधिहरूको सूची मात्र होइन, बरु जीवित अभ्यास, साझेदारी र आत्मनिर्भरतामा आधारित एक निरन्तर यात्रा हो । यो मोडेलले विकासलाई कागजी ढाँचा होइन, समुदायसँगै सिकिने र रूपान्तरण हुने प्रक्रियाको रूपमा बुझाउँछ । यहाँका मानिसहरूको लगनशीलता, आशा र धैर्य नै हामी सबैका लागि साँचो प्रेरणाका स्रोत हुन्, जसले कठिन परिस्थितिबीच पनि सम्भावनाको बाटो देखाउँछन् । यही सन्दर्भमा मैले प्रस्तुत गर्न चाहेको कर्णाली विकास मोडेलका क्षेत्रहरू तल प्रस्तुत गरिएको छ ।
१. स्थानीय नेतृत्व र सहभागिता
कर्णालीका स्थानीय समुदायलाई सशक्त बनाउने दृष्टिले विकास परियोजनामा स्थानीय नेतृत्वलाई प्राथमिकता दिनु अनिवार्य छ । योजना, कार्यान्वयन र अनुगमनमा समुदायको सक्रिय सहभागिता सुनिश्चित हुँदा विकास प्रक्रिया अझ प्रभावकारी र दिगो बन्छ। मैले मुगु, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट, पश्चिम रुकुम, सुर्खेत, सल्यान र दैलेख लगायतका जिल्लाहरूमा विभिन्न सामुदायिक बैठकहरूमा सहभागी हुने अवसर पाएँ, जहाँ गाउँलेहरूले आफ्नै आवश्यकता र प्राथमिकताका आधारमा स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारसम्बन्धी योजनाहरू तयार गर्ने क्षमता राखेको देखेँ । यस्तो स्थानीय नेतृत्वले मात्र विकासलाई स्थायी र समुदायमै लाभदायक बनाउँछ ।
म डोल्पाको एक सामुदायिक कार्यक्रममा सहभागी भएँ, जहाँ किशोर–किशोरीहरूले यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी सचेतना र छलफलमार्फत आफ्नो ज्ञान र निर्णय क्षमतालाई सशक्त बनाउँदै स्वस्थ समुदाय निर्माणतर्फ योगदान गरे । कालीकोट र जुम्लामा महिलाहरूको सक्रिय उपस्थितिमा बालविवाह न्यूनीकरणसम्बन्धी छलफल तथा स्थानीय योजना निर्माण गरिएको थियो, जसले समुदायस्तरमै सामाजिक अभ्यास परिवर्तन गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यी सबै अनुभवहरूले स्पष्ट देखाउँछन् कि स्थानीय सहभागिता र सचेत नेतृत्वले स्वास्थ्य, अधिकार र सामाजिक रूपान्तरणलाई एकै साथ अघि बढाउन सक्छ । स्थानीय नेतृत्व र सक्रिय सहभागिता बिना विकास टिकाउ हुन सक्दैन, वास्तविक परिवर्तन समुदायकै पहल र समर्पणबाट मात्र सम्भव हुन्छ । विभिन्न जिल्लाहरूमा भएका सामुदायिक बैठक, छलफल र योजना निर्माण प्रक्रियाले एउटै कुरा सिकायो,कर्णालीका मानिसहरू विकासका केवल उपभोक्ता मात्र होइनन्, उनीहरू वास्तविक साझेदार हुन् । समुदायले योजना बनाउने, आवश्यकता पहिचान गर्ने र कार्यान्वयनमा प्रत्यक्ष भाग लिने अवस्थामा मात्र विकास टिकाउ र प्रभावकारी हुन्छ । यसले स्पष्ट देखाउँछ कि समुदाय केवल लाभग्राही होइन, परिवर्तनका सक्रिय चालक हुन् र उनीहरूको अनुभव, क्षमता र निर्णयलाई सम्मान गर्दा मात्र दीर्घकालीन र साँचो विकास सुनिश्चित गर्न सकिन्छ ।
२. क्षेत्रीय विशेषता अनुसारको नीति
कर्णालीको प्रत्येक भू–भाग आफ्नै विशेषता र चुनौतीले फरक पहिचान बोकेको छ । पर्वतीय, दुर्गम र कठिन भौगोलिक अवस्थाका कारण यहाँ “एकै प्रकारको नीति सबै ठाउँमा लागू हुन्छ” भन्ने सोच प्रभावकारी हुँदैन । त्यसैले कर्णालीको विकास मोडेलले भू–भागीय विविधता, जलवायु, पहुँचयोग्यता र जनसंख्याको संरचनालाई ध्यानमा राखेर स्थानीय आवश्यकता अनुरूप योजना निर्माण गर्नुपर्छ । कर्णालीका जिल्लाहरूबीच मात्र होइन, एउटै जिल्लाभित्र पनि उल्लेखनीय भिन्नता पाइन्छ । उदाहरणका लागि, डोल्पाको उपरी र तल्लो भू–भागबीचको भौगोलिक अवस्था, जीवनशैली, पहुँच र सामाजिक आवश्यकतामा ठूलो अन्तर देखिन्छ । स्थानीय यथार्थलाई नबुझी बनाइएका योजनाहरूले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैनन् । यही कारणले कर्णाली विकास मोडेलले दुर्गम भू–भागका विशेष चुनौतीसँगै त्यहाँ रहेका सम्भावना र अवसरहरूलाई पनि समान रूपमा समेट्न आवश्यक छ । उदाहरणका लागि, उच्च डोल्पामा डिजिटल शिक्षा कार्यक्रम सञ्चालन गर्दा नेटवर्क पहुँचको अभाव, विद्युतको सीमित उपलब्धता र कठिन भौगोलिक अवस्थाले कार्यान्वयन अत्यन्त चुनौतीपूर्ण बनाउँछ । त्यस्तै, तल्लो भू–भागमा कृषि, बजार पहुँच र आधारभूत सेवासँग सम्बन्धित आवश्यकता बढी प्राथमिकतामा देखिन्छन् ।
यी अनुभवहरूले देखाउँछन् कि कर्णालीको विकासका लागि स्थानीय भूगोल, स्रोत र समुदायको वास्तविक अवस्थालाई केन्द्रमा राखेर लचिलो तथा सन्दर्भअनुकूल योजना निर्माण गर्नु अत्यावश्यक छ ।
कर्णालीको नक्सा हेर्दा यो एउटै प्रदेश देखिए पनि, व्यवहारिक अनुभवमा प्रत्येक जिल्ला र भू–भागले फरक सामाजिक, आर्थिक र भौगोलिक वास्तविकता प्रस्तुत गर्छ । यहीँ विविधताले कर्णालीको विकासलाई एकरूप ढाँचाभन्दा सन्दर्भअनुकूल (कन्ट्याक्ट् सेन्सेटिभ) दृष्टिकोणबाट बुझ्न आवश्यक बनाउँछ ।
जुम्ला र कालीटकोटमा कृषि उत्पादनको उल्लेखनीय सम्भावना भए पनि बजार पहुँच, भण्डारण र यातायात पूर्वाधार कमजोर हुँदा स्थानीय उत्पादनले अपेक्षित आर्थिक मूल्य प्राप्त गर्न सकेको छैन् । मुगु र डोल्पा पर्यटन तथा औषधिजन्य जडीबुटीका दृष्टिले सम्भावनायुक्त क्षेत्र हुन्, तर आधारभूत स्वास्थ्य, शिक्षा र यातायात सेवाको सीमितताले विकासको गति प्रभावित भएको देखिन्छ। सल्यान र सुर्खेतमा तुलनात्मक रूपमा पहुँच सहज भए पनि गरिबी, बेरोजगारी र सामाजिक असमानता अझै चुनौतीका रूपमा विद्यमान छन् ।
दैलेख र जाजरकोटमा समुदायको संघर्षशीलता र सामाजिक सक्रियता उल्लेखनीय भए पनि स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा र पूर्वाधार विकासमा अझै सुधार आवश्यक देखिन्छ। हुम्लामा न्यून जनघनत्व, स–साना बस्ती र कठिन भूगोलका कारण सेवा प्रवाह चुनौतीपूर्ण छ, तर परम्परागत कृषि, पशुपालन र हिमाली पर्यटनको सम्भावना उच्च रहेको पाइन्छ। पश्चिम रुकुममा सडक पहुँच केही विस्तार भए पनि स्वास्थ्य सेवा, रोजगार र पूर्वाधार अझै कमजोर अवस्थामा छन्; तथापि, स्थानीय समुदायको श्रमशीलता र सामुदायिक पहलले विकासका सकारात्मक आधार तयार गरिरहेका छन् ।
विशेष रूपमा, डोल्पाको उपरी र तल्लो भू–भागबीचको भिन्नताले “स्थानीय सन्दर्भमा आधारित विकास” को आवश्यकता झन स्पष्ट बनाउँछ । उपरी डोल्पामा अत्यधिक चिसो मौसम, विरल जनसंख्या, सीमित यातायात पहुँच र आधारभूत सेवाको अभाव प्रमुख चुनौती हुन् । यसको विपरीत, तल्लो डोल्पामा तुलनात्मक रूपमा कृषि सम्भावना, बाक्लो बस्ती र सामाजिक अन्तरक्रिया बढी भए पनि सेवा वितरणको पहुँच अझै अपर्याप्त छ। एउटै प्रकारको विकास कार्यक्रम दुवै क्षेत्रमा समान रूपमा लागू गर्दा अपेक्षित परिणाम प्राप्त नहुनुको मुख्य कारण यही सन्दर्भगत भिन्नता हो ।
यी अनुभवहरूले स्पष्ट देखाउँछन् कि कर्णालीको विकास (अन साइज फिट्स अल) मोडेलमा आधारित हुन सक्दैन । यहाँ आवश्यक विकास दृष्टिकोण भनेको “कन्ट्याक्ट् बेसेड” वा “कन्ट्याक्ट् रेस्पाेन्सिटिभ” मोडेल हो, जसले स्थानीय भूगोल, सामाजिक संरचना, स्रोतसाधन, पहुँच र सांस्कृतिक वास्तविकतालाई केन्द्रमा राखेर योजना निर्माण र कार्यान्वयन गर्न सक्छ। यस्ता सन्दर्भअनुकूल नीतिहरूले मात्र कर्णालीमा दिगो, समावेशी र प्रभावकारी विकास सुनिश्चित गर्न सक्छन् ।
३. सामाजिक समावेशिता
कर्णालीको विकास यात्रामा सामाजिक समावेशिता केवल एउटा अवधारणा होइन, दिगो परिवर्तनको आधारशिला हो । महिला, दलित, आदिवासी तथा अन्य सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर अघि बढाइने विकास प्रयासहरूले मात्र यहाँको वास्तविक आवश्यकता र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छन्। पहुँच, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित हुँदा मात्र विकासको लाभ समाजका सबै तहसम्म पुग्न सक्छ भन्ने तथ्य कर्णालीले व्यवहारमै प्रमाणित गरेको छ ।
कालीकोट र जुम्ला भ्रमणका क्रममा मैले महिलाहरूले सञ्चालन गरेका साना सहकारी समूहहरू नजिकबाट अवलोकन गर्ने अवसर पाएँ। ती समूहहरूले कृषि उत्पादन, हस्तकला तथा साना उद्यममार्फत आयआर्जनका अवसर सिर्जना गर्दै केवल आर्थिक अवस्था सुधारिरहेका मात्र थिएनन्, महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक भूमिकामा समेत सकारात्मक परिवर्तन ल्याइरहेका थिए । कतिपय गाउँमा महिलाहरू आफैंले सामूहिक छलफलमार्फत कृषि परियोजना छनोट गर्ने, बजेट व्यवस्थापन गर्ने र नाफा वितरणसम्बन्धी निर्णय लिइरहेका थिए। यसको प्रभाव परिवारदेखि समुदायस्तरसम्म स्पष्ट रूपमा देखिन्थ्यो ।
कर्णालीका दुर्गम बस्तीहरूमा सामाजिक संरचना अझै परम्परागत भए पनि परिवर्तनप्रतिको चाहना र चेतना क्रमशः बलियो हुँदै गएको अनुभव हुन्छ । जब महिलाहरू, युवा तथा अल्पसंख्यक समुदायले विकास प्रक्रियामा आफ्नो आवाज राख्ने अवसर पाउँछन्, समुदायमा स्वामित्वको भावना बढ्छ र विकास कार्यक्रमहरू दीर्घकालीन रूपमा अझ प्रभावकारी र टिकाउ बन्छन् । यही कारणले समावेशी सहभागिता यहाँ विकासको विकल्प नभई अनिवार्य आधार बनेको छ ।
कर्णालीले मलाई सिकाएको सबैभन्दा महत्त्वपूर्ण पाठ यही हो, विकास त्यहीँ सफल हुन्छ जहाँ अवसर समान रूपमा बाँडिन्छ, जहाँ सबैको आवाज सुन्ने संवेदनशीलता हुन्छ र जहाँ सम्मान, सहभागिता तथा समानतालाई प्राथमिकता दिइन्छ । महिलादेखि युवा र सीमान्तकृत समुदायसम्म सक्रिय रूपमा सहभागी हुने वातावरण निर्माण गर्न सकेमा मात्र विकास वास्तविक, न्यायपूर्ण र दीगो बन्न सक्छ ।
४. आधुनिक प्रविधि र नवप्रवर्तन
शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा आधुनिक प्रविधि तथा नवप्रवर्तनको प्रयोग आजको २१औँ शताब्दीको अपरिहार्य आवश्यकता बनेको छ। मोबाइल–आधारित स्वास्थ्य सेवा, डिजिटल कृषि परामर्श, अनलाइन शिक्षा तथा स्थानीय पर्यटन प्रवर्द्धनजस्ता पहलहरूले कर्णालीजस्ता दुर्गम क्षेत्रमा सेवा पहुँच विस्तार गर्ने नयाँ सम्भावनाहरू सिर्जना गरेका छन् । प्रविधिले भौगोलिक दूरी कम गर्दै सूचना, ज्ञान र सेवासम्म पहुँच सहज बनाउने क्षमता राख्छ, विशेषतः पूर्वाधार सीमित भएका क्षेत्रमा यसको भूमिका अझ महत्वपूर्ण हुन्छ ।
डोल्पा, मुगु, कालिकोट र जुम्ला भ्रमणका क्रममा मैले डिजिटल शिक्षा तथा मोबाइल स्वास्थ्य सेवाका विभिन्न प्रयासहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर पाएँ । केही स्थानहरूमा यस्ता कार्यक्रमहरूले सकारात्मक परिवर्तन ल्याएका थिए, दूरदराजका समुदायले विशेषज्ञ स्वास्थ्य परामर्श प्राप्त गर्ने अवसर पाएका थिए भने किसानहरूले मौसम, बीउबिजन र उत्पादनसम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न थालेका थिए। यसले सूचना पहुँच र सेवाको गुणस्तर सुधारमा प्रविधिको प्रभावकारी भूमिका देखायो ।
तर, दुर्गम भूगोल, कमजोर इन्टरनेट पहुँच, सीमित विद्युत पूर्वाधार र प्राविधिक सीपको अभावले कतिपय स्थानमा कार्यान्वयन चुनौतीपूर्ण बनेको पनि देखियो। विशेषतः उच्च हिमाली क्षेत्रमा डिजिटल कार्यक्रम सञ्चालन गर्दा नेटवर्क अस्थिरता, उपकरण व्यवस्थापन र दक्ष जनशक्तिको अभावले निरन्तरता कायम गर्न कठिनाइ उत्पन्न भएको अनुभव भयो । यसले स्पष्ट पार्छ कि प्रविधि आफैंमा पूर्ण समाधान होइन; यसको प्रभावकारिता स्थानीय क्षमता विकास, पूर्वाधार सुदृढीकरण र निरन्तर प्रशिक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ ।
कर्णाली विकास मोडेलले यहीँ सन्तुलित दृष्टिकोणलाई प्राथमिकता दिन्छ, प्रविधिलाई स्थानीय सन्दर्भअनुकूल बनाउने, समुदायलाई सीपयुक्त र सक्षम बनाउने तथा नवप्रवर्तनलाई व्यवहारिक आवश्यकतासँग जोड्ने। कर्णालीले देखाएको अनुभवले पुष्टि गर्छ कि प्रविधि विकासको अन्तिम लक्ष्य होइन, सम्भावनाको माध्यम हो । जब यसलाई स्थानीय नेतृत्व, सामुदायिक सहभागिता र आत्मनिर्भरतासँग जोडिन्छ तब प्रविधि केवल सुविधा प्रदान गर्ने साधन मात्र नभई दिगो र समावेशी विकासको प्रभावकारी आधार बन्न सक्छ ।
५. अधिकार–आधारित दृष्टिकोण
कर्णालीको विकास मोडेलमा अधिकारमा आधारित दृष्टिकोण एक केन्द्रीय र अनिवार्य आयामका रूपमा स्थापित हुन्छ । यस दृष्टिकोणले विकासलाई केवल सेवा प्रवाह वा लगानीको प्रक्रियाका रूपमा नभई, मानव अधिकार, सामाजिक न्याय, समान पहुँच र सशक्तिकरणसँग जोडिएको संरचनात्मक अभ्यासका रूपमा व्याख्या गर्छ । विशेषगरी महिला, बालबालिका, दलित, आदिवासी तथा अन्य सीमान्तकृत समुदायलाई विकास प्रक्रियाको सक्रिय अधिकारधारी का रूपमा स्वीकार गर्दै उनीहरूको सहभागिता, निर्णय क्षमता र पहुँच सुनिश्चित गर्न यसले जोड दिन्छ ।
सहभागी अवलोकनका क्रममा मैले अनुभव गरेँ कि जहाँ महिलाहरूले सहकारी सञ्चालन, स्थानीय योजना निर्माण तथा शिक्षा र स्वास्थ्यसम्बन्धी निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गरेका थिए, त्यहाँ विकास कार्यक्रमहरू तुलनात्मक रूपमा बढी प्रभावकारी, उत्तरदायी र दिगो देखिन्थे । समुदायका सदस्यहरूले आफ्नै आवश्यकता र प्राथमिकताका आधारमा योजना तय गर्दा कार्यक्रमप्रति स्वामित्वको भावना पनि बलियो बनेको थियो । यसको विपरीत, स्थानीय आवाज, सामाजिक सन्दर्भ र अधिकारका प्रश्नलाई बेवास्ता गरी बाह्य रूपमा थोपरिएका योजनाहरूले अपेक्षित परिणाम हासिल गर्न सकेका थिएनन् ।
अधिकारमा आधारित विकास मोडेलले विकासलाई “लाभ वितरण” को सीमित अवधारणाबाट माथि उठाएर सहभागितामूलक शासन, समान अवसर र सामाजिक उत्तरदायित्वसँग जोड्छ । यसले सुनिश्चित गर्न खोज्छ कि कुनै पनि नीति, कार्यक्रम वा परियोजना केवल कागजी संरचनामा सीमित नहोस्; बरु त्यसले स्थानीय समुदायको वास्तविक आवश्यकता, अधिकार र गरिमालाई केन्द्रमा राखेर कार्यान्वयन होस् । स्वास्थ्य, शिक्षा, कृषि तथा पूर्वाधार विकासजस्ता क्षेत्रमा अधिकारमा आधारित दृष्टिकोण अपनाउँदा मात्र सेवा पहुँचमा समानता, संस्थागत उत्तरदायित्व र दीर्घकालीन सामाजिक सशक्तिकरण सुनिश्चित गर्न सकिन्छ ।
यस अनुभवले स्पष्ट देखाएको छ कि विकासको सफलता केवल स्रोत, बजेट वा प्रविधिमा निर्भर हुँदैन, यसको प्रभावकारिता सहभागिता, समानता, अधिकारको सुनिश्चितता र स्थानीय नेतृत्वसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ । त्यसैले कर्णाली विकास मोडेलले Rights-Based Approach लाई केवल सैद्धान्तिक अवधारणा नभई व्यवहारिक विकास रणनीतिका रूपमा ग्रहण गर्दछ, जसले विकासलाई समावेशी, न्यायपूर्ण र दीगो बनाउन आधार प्रदान गर्छ ।
६. नागरिक सहभागिता
कर्णालीको विकास मोडेलमा नागरिक सहभागिता तथा सिभिक स्पेसलाई विकास सुशासनको आधारभूत तत्वका रूपमा हेरिन्छ। विकास केवल योजना, बजेट वा भौतिक पूर्वाधार निर्माणको प्रक्रिया मात्र होइन, यो समुदायले निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउने, आफ्ना आवश्यकता र प्राथमिकता अभिव्यक्त गर्ने, तथा नीति, योजना र परियोजनाको कार्यान्वयन एवं अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्ने लोकतान्त्रिक अभ्यास पनि हो । सशक्त सिभिक स्पेसले समुदाय र राज्यबीच उत्तरदायित्व, पारदर्शिता र विश्वासको सम्बन्ध निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
विशेषगरी महिला, बालबालिका, दलित, आदिवासी तथा अन्य सीमान्तकृत समुदायहरूको समान सहभागिता सुनिश्चित गर्नु कर्णालीको विकासका लागि अपरिहार्य मानिन्छ। जब यी समूहहरूले स्रोत, सेवा र निर्णय प्रक्रियामा समान पहुँच प्राप्त गर्छन्, तब विकास प्रक्रिया अधिक समावेशी, न्यायपूर्ण र उत्तरदायी बन्छ । साझा जिम्मेवारी, सार्वजनिक जवाफदेहिता र स्थानीय स्वामित्वले विकास कार्यक्रमहरूलाई केवल अल्पकालीन परियोजनामा सीमित नराखी दीर्घकालीन सामाजिक रूपान्तरणको माध्यममा रूपान्तरण गर्छ ।
कर्णालीको अनुभवले देखाउँछ कि समुदायले आफ्नै विकास प्रक्रियामा स्वामित्व महसुस गर्ने वातावरण सिर्जना हुँदा कार्यक्रमहरूको प्रभावकारिता र दिगोपन उल्लेखनीय रूपमा वृद्धि हुन्छ। स्थानीय तहमा खुला छलफल, सामुदायिक परामर्श, सहभागी योजना निर्माण तथा अनुगमनजस्ता अभ्यासहरूले नागरिक सहभागितालाई संस्थागत बनाउन मद्दत गरेका छन् । यस्ता प्रक्रियाले विकासलाई “टप-डाउन एप्राेच” बाट “पार्टिसिपेटरी एन्ड कम्युनिटी-ड्रिभन एप्रोच” तर्फ रूपान्तरण गर्ने आधार तयार गर्छ ।
यसैले, कर्णालीको विकास मोडेलमा सिभिक स्पेस केवल सहभागिताको औपचारिक संरचना मात्र होइन, यो सामाजिक न्याय, लोकतान्त्रिक अभ्यास र समावेशी विकास सुनिश्चित गर्ने रणनीतिक माध्यम हो । यही सशक्त नागरिक सहभागिताले कर्णालीमा दिगो, समावेशी र अनुभवमा आधारित विकासको आधार निर्माण गरेको छ, जहाँ विकास बाहिरबाट थोपरिने प्रक्रिया नभई समुदायभित्रैबाट विकसित हुने साझा र स्वामित्वयुक्त यात्रा बनेको छ ।
कर्णाली विकास मोडेलले केही आधारभूत विकास सिद्धान्तहरू स्पष्ट रूपमा प्रस्तुत गर्दछः
स्थानीय नेतृत्व, स्वामित्व र सामुदायिक सहभागिता बलियो हुँदा मात्र विकास कार्यक्रमहरू दीगो र प्रभावकारी बन्छन्।
विकास नीति तथा योजना स्थानीय भूगोल, सामाजिक संरचना र क्षेत्रीय आवश्यकतासँग अनुकूल हुनुपर्छ अन्यथा कार्यान्वयन कमजोर हुन्छ।
समान अवसर, समावेशी पहुँच र सामाजिक न्याय सुनिश्चित नगरी गरिएको विकास असन्तुलित र अपूर्ण रहन्छ ।
प्रविधि र नवप्रवर्तन विकासका महत्वपूर्ण माध्यम भए पनि, तिनको प्रभावकारिता पूर्वाधार, पहुँच र स्थानीय सीप विकाससँग प्रत्यक्ष रूपमा जोडिएको हुनुपर्छ ।
विकास प्रक्रिया अधिकारमा आधारित दृष्टिकोण, उत्तरदायित्व र न्यायसंगत नीतिमा आधारित हुन आवश्यक छ ।
नागरिक सहभागिता, पारदर्शिता र स्थानीय निर्णय प्रक्रियामा समुदायको सक्रिय संलग्नताले मात्र विकासको स्थायित्व र स्वामित्व सुनिश्चित गर्न सक्छ ।
मैले प्रत्यक्ष अनुभव गरेको कर्णालीको विकास मोडेल केवल व्यावसायिक अवलोकनको निष्कर्ष मात्र होइन, यो अनुभव, संवेदना, समाजलाई हेर्ने दृष्टिकोण र व्यवहारिक सिकाइबाट निर्मित एउटा गहिरो सामाजिक बोध हो। साँघुरा पहाडी र हिमाली बाटोहरूमा हिँड्दा शरीर थाक्थ्यो, तर ती यात्राहरूले विकासलाई हेर्ने मेरो दृष्टिकोणलाई अझ व्यापक बनायो। गाउँका आँगनमा महिलाहरूका अनुभव सुन्नु, बालबालिकाका आँखामा भविष्यको आकांक्षा देख्नु, युवाहरूको ऊर्जा महसुस गर्नु र ज्येष्ठ नागरिकहरूका जीवनकथा बुझ्नु, यी सबै अनुभवहरूले विकासलाई तथ्यांक वा प्रतिवेदनभन्दा पर, जीवित सामाजिक यथार्थका रूपमा बुझ्न सिकाए ।
कर्णाली मेरो लागि केवल कार्यक्षेत्र मात्र होइन, यो एउटा जीवित विश्वविद्यालय हो, जहाँ पाठ्यपुस्तक कागजमा होइन, मानिसहरूको अनुभव, संघर्ष र आशामा लेखिएको हुन्छ । यहाँको विकास अभ्यासले स्पष्ट देखाएको छ कि स्थानीय नेतृत्व, सामुदायिक सहभागिता, सामाजिक समावेशिता र भौगोलिक सन्दर्भअनुकूल नीति बिना दीगो विकास सम्भव हुँदैन । नवप्रवर्तन, आत्मनिर्भरता, नागरिक सहभागिता र साझेदारीमा आधारित विकास दृष्टिकोणले कर्णालीलाई केवल भौगोलिक रूपमा दुर्गम क्षेत्रको रूपमा होइन, सम्भावना र रूपान्तरणको क्षेत्रका रूपमा पुनर्परिभाषित गरिरहेको छ ।
यस यात्राले मलाई एउटा गहिरो सत्यसँग परिचित गरायो, विकास केवल योजना, लगानी वा भौतिक संरचना निर्माणको प्रक्रिया मात्र होइन, यो विश्वास निर्माण गर्ने, सामाजिक सम्बन्ध सुदृढ गर्ने र समुदायसँग मिलेर साझा भविष्य निर्माण गर्ने निरन्तर मानवीय अभ्यास हो। विकास त्यतिबेला मात्र अर्थपूर्ण हुन्छ जब यसले मानिसहरूको दैनिक जीवनमा सम्मानको अनुभूति, अवसरको पहुँच र आशाको उज्यालो जगाउन सक्छ ।
यही अर्थमा, कर्णाली मेरो लागि “पछाडि परेको” भूगोल होइन, बरु नेपालको विकास अवधारणालाई पुनःविचार गर्न, परीक्षण गर्न र पुनःपरिभाषित गर्न प्रेरित गर्ने जीवित प्रयोगशाला हो जहाँ चुनौतीहरूभित्रै सम्भावनाका नयाँ बाटाहरू अंकुराइरहेका छन् ।
कर्णालीले सिकाएको सबैभन्दा गहिरो पाठ यही हो, दिगो विकास कुनै बाहिरबाट आयात गरिने मोडेल होइन, बरु स्थानीय अनुभव, सामुदायिक स्वामित्व र सामाजिक न्यायमा आधारित जीवित प्रक्रिया हो । यदि कर्णालीको कठोर भूगोलमा पनि परिवर्तन सम्भव छ भने, नेपालको जुनसुकै भू–भागमा समावेशी, न्यायपूर्ण र दिगो विकास सम्भव छ भन्ने विश्वास यसले जगाउँछ । त्यसैले कर्णालीलाई केवल चुनौतीको भूगोलका रूपमा होइन, सम्भावनाको भूगोल, प्रेरणाको स्रोत र भविष्यको विकास दर्शन निर्माण गर्ने जीवित ज्ञान–क्षेत्रका रूपमा बुझ्न आवश्यक छ जहाँ कठिनाइभित्रै आशा पलाउँछ र संघर्षभित्रै उज्यालो भविष्यको बाटो खुल्छ ।
(लेखिका तथा अधिवक्ता मीना पराजुली लामो समयदेखि सामुदायिक विकासमा सक्रिय रहँदै कर्णालीसँग नजिकबाट जोडिनुभएको छ । प्रस्तुत लेख उहाँका अनुभव, अवलोकन र अभ्यासमा आधारित कर्णाली विकास मोडेलको संक्षिप्त कार्यढाँचा हो।)







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध