नेपालको राजनीतिक इतिहासमा समय-समयमा यस्ता पात्रहरू उदाएका छन्, जसले परम्परागत राजनीतिका स्थापित मान्यता र शैलीलाई चुनौती दिएका छन् । पछिल्लो समय त्यस्तै एक असाधारण राजनीतिक पात्रका रूपमा उदाउनुभएका व्यक्ति हुन् प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ । संगीत र र्याप गायनको दुनियाँबाट सार्वजनिक पहिचान बनाएका बालेन २०७९ सालको स्थानीय तह निर्वाचनमा एकाएक राष्ट्रिय चर्चाको केन्द्र बन्नुभयो । कुनै राजनीतिक दलको समर्थनबिना स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विजयी हुनु आफैँमा एउटा ऐतिहासिक र अप्रत्याशित घटना थियो ।
काठमाडौं जस्तो राजनीतिक चेतना उच्च भएको, दलगत प्रभाव बलियो रहेको र आदिवासी नेवार समुदायको बाक्लो उपस्थिति भएको महानगरमा तराई मूलका एक स्वतन्त्र उम्मेदवारले स्थापित दलका प्रभावशाली नेतालाई पराजित गर्नु सामान्य घटना थिएन । त्यो परिणामले नेपाली जनतामा परम्परागत राजनीतिप्रतिको वितृष्णा र नयाँ अनुहारप्रतिको आकर्षणलाई स्पष्ट संकेत गरेको थियो ।
मेयर बनेपछि बालेनले आफूलाई भाषणभन्दा काममा केन्द्रित नेता भनेर प्रस्तुत गर्नुभयो । उहाँ सार्वजनिक बहस, पत्रकार सम्मेलन वा राजनीतिक टिप्पणीमा कमै देखिनुभयो । बरु नगर व्यवस्थापन, सडक सौन्दर्यीकरण, फुटपाथ सुधार, हरियाली विस्तारजस्ता कार्यमार्फत आफूलाई परिणाममुखी नेतृत्वका रूपमा स्थापित गर्ने प्रयास गर्नुभयो । आलोचकहरूले उहाँको कामलाई सतही सुधारमा सीमित भएको आरोप लगाए पनि समर्थकहरूले काठमाडौंमा देखिएको दृश्यात्मक परिवर्तनलाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरे ।
तर, बालेनको राजनीतिक यात्रा यतिमै सीमित रहेन । ‘जेन–जी’ विद्रोहपछिको राजनीतिक उथलपुथलमा राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि नेपाली राजनीति पुनः एकपटक चकित बन्यो । झापा–५ जस्तो एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रभाव क्षेत्रबाट निर्वाचन लडेर उहाँले राष्ट्रिय राजनीतिमा आफूलाई स्थापित गर्नुभयो । चुनावी अभियानका क्रममा न्यूनतम भाषण गरेर पनि जनताको समर्थन प्राप्त गर्नु बालेनको मौन शैलीको प्रभावकै रूपमा हेरियो ।
आज उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ । तर, प्रधानमन्त्री बनेपछि पनि उहाँको मौनता उस्तै छ । सामान्यतया प्रधानमन्त्रीले पदभार ग्रहण गरेपछि राष्ट्रका नाममा सम्बोधन गर्ने परम्परा रही आएको थियो । तर, बालेनले त्यो परम्परा तोड्नुभयो । उहाँ उद्घाटन समारोह, सार्वजनिक कार्यक्रम वा राजनीतिक भाषणमा प्रायः अनुपस्थित रहनुहुन्छ । मन्त्रीहरूलाई पनि अनावश्यक समारोहमा समय खर्च नगरी आफ्नो मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिनुभएको बताइन्छ ।
यसले नेपाली राजनीतिक संस्कृतिमा नयाँ बहस जन्माएको छ- राजनीतिमा काम ठूलो कि संवाद ? के जनताले आफ्ना नेताबाट केवल परिणाम मात्र चाहेका हुन्, कि संवाद, जवाफदेहिता र सार्वजनिक उपस्थिति पनि लोकतान्त्रिक जिम्मेवारीका अभिन्न अंग हुन् ?
सरकार गठनको छोटो अवधिमै केही साहसी र विवादास्पद कदमहरू चालिएका छन् । पूर्वप्रधानमन्त्रीदेखि उच्चपदस्थ नेतासम्मलाई पक्राउ गर्ने कार्यले सरकार भ्रष्टाचारविरुद्ध कठोर देखिएको सन्देश दियो । राजनीतिक नियुक्तिहरू खारेज गरिए । सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने अभियान तीव्र बनाइयो । समर्थकहरूले यसलाई विधिको शासनको सुरुआत भनेका छन् भने आलोचकहरूले यसलाई मानवीय संवेदनाविहीन कदमका रूपमा चित्रण गरेका छन् ।
विशेषगरी सुकुम्बासी बस्ती हटाउने क्रममा हजारौँ नागरिक विस्थापित हुनु गम्भीर सामाजिक प्रश्न बनेको छ । राज्यले अव्यवस्थित बसोबास हटाउन सक्छ, तर वैकल्पिक व्यवस्थाबिना नागरिकलाई सडकमा पुर्याउनु कति न्यायोचित हो ? सरकारले कानुन कार्यान्वयनसँगै सामाजिक दायित्व पनि वहन गर्नुपर्छ भन्ने आवाज बलियो रूपमा उठिरहेको छ ।
प्रधानमन्त्री बालेनको अर्को विवादित पक्ष उहाँको औपचारिकता प्रतिको उदासीनता हो । औपचारिक समारोहमा अनौपचारिक पोसाक लगाएर उपस्थित हुनु, राष्ट्रपतिबाट नीति तथा कार्यक्रम वाचन भइरहेका बेला सदनबाट बाहिरिनु, संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन स्वयं उपस्थित नहुनुजस्ता गतिविधिले उहाँको शैलीमाथि प्रश्न उठाएको छ । लोकतन्त्रमा जनताप्रति उत्तरदायित्व निर्वाह गर्ने प्रमुख मञ्च संसद् हो । प्रधानमन्त्री संसद्मा उपस्थित भएर आफ्ना नीति र निर्णयको प्रतिरक्षा गर्नुपर्ने अपेक्षा अस्वाभाविक होइन ।
राजनीति केवल प्रशासनिक निर्णयहरूको समष्टि मात्र होइन, यो प्रतीक, संस्कार र संवादको पनि क्षेत्र हो । प्रधानमन्त्रीको सार्वजनिक उपस्थिति र सम्बोधनले नागरिकमा भरोसा, मनोबल र स्पष्टता पैदा गर्छ । मौनता कहिलेकाहीँ शक्ति हुनसक्छ, तर निरन्तर मौनता लोकतान्त्रिक नेतृत्वका लागि कमजोरी पनि बन्नसक्छ ।
बालेनको स्वच्छ छवि, व्यक्तिगत इमानदारी र परम्परागत भ्रष्ट राजनीतिक संस्कृतिविरुद्धको अडानप्रति अहिले पनि जनताको आशा कायम छ । उहाँमाथि व्यक्तिगत भ्रष्टाचारको आरोप लागेको छैन । यही कारण धेरै नागरिक अझै पनि उहाँलाई परिवर्तनको सम्भावना बोकेको नेताका रूपमा हेर्छन् । तर, लोकतान्त्रिक नेतृत्व केवल राम्रो मान्छे हुनुमा सीमित हुँदैन । जनतासँग संवाद गर्ने क्षमता, आलोचनालाई सुन्ने धैर्य र राष्ट्रिय समारोहप्रति सम्मान पनि उत्तिकै आवश्यक हुन्छ ।
काम गर्ने नेता हुनु राम्रो कुरा हो । तर, कामसँगै संवाद पनि जरुरी हुन्छ । राष्ट्रको प्रधानमन्त्री केवल प्रशासक होइन, राष्ट्रको अनुहार पनि हो । उहाँको बोली, व्यवहार र सार्वजनिक उपस्थितिले राज्यको संस्कार प्रतिनिधित्व गर्छ । त्यसैले प्रधानमन्त्री बालेनले आफ्नो कार्यशैलीमा केही औपचारिकता, केही संवादशीलता र केही लोकतान्त्रिक सहभागिता थप्नसके उहाँको छवि अझ सशक्त बन्नेछ ।
नेपाली जनताले अहिले परिणाम खोजिरहेका छन्, तर उनीहरू आफ्ना प्रधानमन्त्रीलाई देख्न, सुन्न र महसुस गर्न पनि चाहन्छन् । मौनताभित्रको शक्ति तबसम्म प्रभावकारी हुन्छ, जबसम्म त्यसले जनतासँगको सम्बन्धलाई कमजोर बनाउँदैन ।
प्रधानमन्त्री बालेनले नेपाली राजनीतिमा नयाँ शैली र संस्कारको संकेत गर्नुभएको छ । उहाँको मौनता, सादगी र काममुखी दृष्टिकोणले परम्परागत राजनीतिक शैलीलाई चुनौती दिएको छ । तर, लोकतान्त्रिक शासनमा कामसँगै संवाद, जवाफदेहिता र सार्वजनिक सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ । जनताले परिणाम मात्र होइन, आफ्ना नेतृत्वबाट स्पष्टता, विश्वास र उपस्थितिको अनुभूति पनि खोजिरहेका हुन्छन् । त्यसैले प्रधानमन्त्रीले आफ्नो कार्यदक्षतालाई संवादशील नेतृत्वसँग जोड्नसके उहाँको राजनीतिक छवि अझ प्रभावशाली र दीर्घकालीन बन्नसक्छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध