काठमाडौं । वासिङ्टनस्थित अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) मुख्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमले विश्वको ध्यान पुनः अन्तरिक्षतर्फ खिचेको छ । नासाले चन्द्रमामा मानिसलाई स्थायी रूपमा बसाल्ने आफ्नो वृहत् गुरुयोजनाको रूपरेखा सार्वजनिक गरेको हो । योजनाअन्तर्गत चालक दलसहित र चालक दलविनाका कार्गो ल्याण्डर तथा अत्याधुनिक चन्द्र रोभरहरूका लागि नयाँ घोषणा गरिएका छन् । अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको सतहमा पुनः पाइला टेक्नुअघि नै त्यहाँ आवश्यक पूर्वाधार निर्माण गर्ने नासाको तयारी छ ।
नासाका प्रशासक जेरेड आइज्याकम्यानले अभियानलाई मानवताको ऐतिहासिक मोडका रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार चन्द्रमाको आधार शिविर अर्को आकाशीय संसारमा अमेरिका र मानवताको पहिलो बलियो बसोबास हुनेछ । चन्द्रमाको कठिन र खतरनाक वातावरणमा बाँच्न सिक्दै मानिसले विज्ञान, प्रविधि र आर्थिक लाभका क्षेत्रमा नयाँ उचाइ हासिल गर्ने नासाको विश्वास छ । यो अभियान केवल चन्द्रमामा पुग्न मात्र नभई भविष्यमा मंगल ग्रहको यात्रा तय गर्न जग बसाल्न रचिएको हो ।
पहिलो चरणमा रोबोटिक अन्वेषण र प्रविधिको परीक्षण
नासाले आफ्नो ‘इग्निसन मुन बेस’ कार्यक्रमलाई तीन चरणमा विभाजन गरेको छ । पहिलो चरणअन्तर्गत सन् २०२९ सम्म चन्द्रमाको सतहमा विभिन्न रोबोटिक मिसनहरू पठाइनेछन् । यस अवधिमा करिब २५ वटा प्रक्षेपणमार्फत् चार मेट्रिक टन कार्गो चन्द्रमामा पुर्याइने लक्ष्य छ । नासाले सुरुवाती दिगो सञ्चालनका लागि पहिलो तीनवटा मुन बेस मिसनको कार्यतालिका तय गरिसकेको छ ।
सन् २०२६ को शरद ऋतुभित्रै पहिलो मिसन प्रक्षेपण गर्ने नासाको लक्ष्य छ । यस मिसनमा ब्लु ओरिजिन कम्पनीको ‘ब्लु मुन मार्क १ एन्ड्युरेन्स’ ल्याण्डर प्रयोग गरिनेछ । ल्याण्डरले चन्द्रमाको सतहको अध्ययन गर्न विशेष स्टेरियो क्यामेरा र लेजर प्रविधि बोक्नेछ । यो यान चन्द्रमाको दक्षिण ध्रुवमा रहेको श्याकलटन कनेक्टिङ रिजमा ओर्लनेछ । यसले सन् २०२८ मा हुने मानव अवतरणको जोखिम कम गर्न मद्धत गर्नेछ ।
यसै वर्षको अन्त्यतिर ‘चन्द्रमा आधार-२’ मिसन पठाइने योजना छ । यसअन्तर्गत एस्ट्रोबोटिक कम्पनीको ग्रिफिन ल्याण्डरमार्फत् १,१०० पाउण्डभन्दा बढी वजनको कार्गो चन्द्रमामा पुर्याइनेछ । यसमा एस्ट्रोल्याबको ‘फ्लिप’ रोभर पनि समावेश हुनेछ । यसले चन्द्रमाको कठिन भू-भागमा गुड्ने प्रणालीको परीक्षण गर्नेछ ।
यसैवर्ष प्रक्षेपण गर्ने लक्ष्य राखिएको ‘चन्द्रमा आधार ३’ मिसनले चन्द्रमाको रहस्यमयी प्रकाश धब्बाहरूको अध्ययन गर्नेछ । इन्ट्युटिभ मेसिनको नोभा-सी ट्रिनिटी लुनार ल्याण्डरमार्फत यो अनुसन्धान अघि बढ्नेछ । युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) र कोरिया खगोल विज्ञान र अन्तरिक्ष विज्ञान संस्थानजस्ता अन्तर्राष्ट्रिय निकायहरू पनि यसमा साझेदार छन् ।
अत्याधुनिक सवारीसाधन र ‘मुनफाल’ ड्रोन मिसन
चन्द्रमाको सतहमा अन्वेषण तीव्र पार्न नासाले अत्याधुनिक सवारीसाधन निर्माणमा ठूलो लगानी गरेको छ । नासाले लुनार टेरेन भेहिकलको पहिलो चरण निर्माणका लागि एस्ट्रोल्याबलाई २१९ मिलियन डलर र लुनार आउटपोष्टलाई २२० मिलियन डलरको सम्झौता सुम्पेको छ । यी कम्पनीहरूले सन् २०२८ सम्ममा चन्द्रमाको सतहमा चालक दल बस्न मिल्ने र रिमोटबाट चल्ने गाडीहरू तैनाथ गर्नेछन् ।
एस्ट्रोल्याबले निर्माण गरिरहेको सीएलभी-१ रोभरले अन्तरिक्ष यात्री र आपूर्तिहरू बोक्न सक्छ । करिब दुई हजार पाउण्ड तौल भएको यो गाडी प्रतिघण्टा ६ माइलभन्दा बढीको गतिमा गुड्न सक्छ । अर्कोतर्फ लुनार आउटपोस्टको ‘पेगासस’ रोभर प्रतिघण्टा ९ माइलभन्दा बढीको गतिमा स्वायत्त रूपमा गुड्न सक्षम छ । यी रोभरहरूले अन्तरिक्ष यात्री पुग्नुअगावै त्यहाँको वातावरण बुझ्न र सामग्रीहरू सार्न मद्धत गर्नेछन् ।
यसका साथै नासाले ‘मुनफाल’ नामक नयाँ मिसनको पनि घोषणा गरेको छ । सन् २०२८ को लागि लक्षित यस मिसनमा चन्द्रमाको सतहमा छोटो दूरी उड्न सक्ने चारवटा ड्रोनहरू पठाइनेछन् । नासाको जेट प्रोपल्सन प्रयोगशालाले यी ड्रोनहरूको डिजाइन गरिरहेको छ । फायरफ्लाई एयरोस्पेसले यी ड्रोनहरूलाई चन्द्रमामा लैजाने अन्तरिक्षयान निर्माण गर्नेछ । यी ड्रोनहरूले चन्द्रमाको कठिन भूभागको उच्च-रिजोल्युसन तस्बिर खिच्नेछन् र त्यहाँको रातको कठिन मौसममा पनि महिनौँसम्म सञ्चालनमा रहनेछन् ।
ऊर्जा पूर्वाधार र स्थायी आवास निर्माण
रोबोटिक अन्वेषण सफल भएपछि नासाले दोस्रो चरणको सुरुवात गर्नेछ । यसअन्तर्गत चन्द्रमामा आणविक र सौर्य ऊर्जा सुविधाहरू निर्माण गरिनेछ । नासाले यसअघि नै सन् २०३२ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा आणविक विखण्डन रिएक्टरसहितको ऊर्जा केन्द्र बनाउन २० अर्ब डलरको कार्यक्रम घोषणा गरिसकेको छ ।
अन्तिम अर्थात् तेस्रो चरणमा मानिसलाई चन्द्रमामा स्थायी रूपमा राखिनेछ । सन् २०३२ सम्ममा नासाले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको ‘अर्ध-स्थायी’ आवासमा राख्ने योजना बनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको पानीलाई पगालेर पिउन र अक्सिजन उत्पादन गर्न प्रयोग गरिनेछ । यसरी उत्पादित स्रोतले मानिसलाई लामो समयसम्म चन्द्रमामा टिकाइराख्न मद्धत गर्नेछ ।
भूराजनीतिक दबाब, चुनौती र अमेरिका-चीन प्रतिस्पर्धा
अमेरिकाले राजनीतिक रूपमा निकै ठूलो दबाबबीच यो योजना अगाडि बढाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सन् २०२९ मा सकिनुअगावै अमेरिकी अन्तरिक्ष यात्रीलाई चन्द्रमामा उतार्ने अमेरिकाको तीव्र इच्छा छ । तर, यो यात्रा सहज भने छैन । अमेरिकाले यस दौडमा चीनसँग कडा प्रतिस्पर्धा गरिरहेको छ । चीनले पनि सन् २०३० सम्ममा चन्द्रमामा आफ्ना अन्तरिक्ष यात्री उतार्ने योजना बनाएको छ र हालै मात्र आफ्नो शेन्झोउ–२३ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
अन्तरिक्ष मामिलाका विज्ञहरू भने नासाको यो समयरेखा निकै अवास्तविक र महत्त्वाकांक्षी भएको बताउँछन् । हालै सम्पन्न आर्टेमिस २ मिसन सफल भए तापनि मानिसलाई सुरक्षित रूपमा चन्द्रमाको सतहमा उतार्ने प्रविधि अझै पूर्णरूपमा तयार भइसकेको छैन । एलन मस्कको कम्पनी स्पेसएक्सले निर्माण गरिरहेको ‘स्टारसिप ह्युमन ल्याण्डिङ सिस्टम’ले धेरै प्राविधिक ढिलाइ र अवरोधहरूको सामना गरिरहेको छ ।
ओपन युनिभर्सिटीका चन्द्र वैज्ञानिक डा. सिमोन बार्बरका अनुसार मानिसलाई चन्द्रमाको सतहमा ओराल्ने सुरक्षित यान अझै तयार नहुनु नै मुख्य चुनौती हो । उहाँले नासाको यस तीव्र योजनाको पछाडि प्राविधिक तयारीभन्दा बढी राजनीतिक उत्प्रेरणा लुकेको टिप्पणी गर्नुभएको बिबिसीले जनाएको छ । चीन अमेरिकाभन्दा पहिले चन्द्रमामा पुगेमा अचम्म मान्नु नपर्ने उहाँको भनाइ छ । यद्यपि, नासाले भने आफ्ना अन्तर्राष्ट्रिय र व्यावसायिक साझेदारहरूको बलमा असम्भव जस्तो देखिने मिसनलाई सफल बनाएरै छाड्ने दृढता व्यक्त गरेको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :