भक्तपुर । बागमती प्रदेश सरकारले युवालाई लक्षित गर्दै आगामी बजेटमार्फत २ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने तयारी गरेको छ । शैक्षिक वा सीपमूलक तालिमको प्रमाणपत्रका आधारमा युवाले न्यूनतम १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गर्न लागिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बुधबार आयोजित ग्रान्ड ब्यूटी एक्स्पो उद्घाटन कार्यक्रममा मन्त्री थापाले युवामैत्री बजेट निर्माण भइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार स्वरोजगारमूलक व्यवसाय प्रवर्द्धनका लागि प्रदेश सरकारले सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न लागेको हो । “स्वरोजगारमूलक व्यवसायका लागि २ प्रतिशत ब्याजमा ऋण दिने व्यवस्था बजेटमै समावेश हुँदैछ,” मन्त्री थापाले बताउनुभयो ।
उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै युवालाई रोजगार खोज्नेभन्दा उद्यम सिर्जना गर्ने दिशातर्फ केन्द्रित गरिने बताउनुभयो ।
कार्यक्रममा मन्त्री थापाले प्रदेशका अस्पतालमा प्रविधिमैत्री सेवा विस्तार भइरहेको जानकारी पनि दिनुभयो । उहाँका अनुसार स्वास्थ्य मन्त्रालयले सिन्धुली अस्पताल, चौतारा अस्पताल, धादिङ अस्पताल र बकुलहर अस्पतालबाट ‘पेपरलेस सेवा’ परीक्षण सुरु गरिसकेको छ । आगामी आर्थिक वर्षदेखि बागमती प्रदेशका १३ वटै अस्पतालमा पेपरलेस प्रणाली लागू गरिने उहाँले बताउनुभयो ।
उहाँले पेपरलेस प्रणालीले सेवा प्रवाह छिटो, व्यवस्थित र सुरक्षित हुने दाबी गर्नुभयो । साथै भक्तपुर अस्पताल, धादिङ अस्पताल, नुवाकोट अस्पताल, सिन्धुली अस्पताल र बकुलहर अस्पतालमा प्रदेश सरकारकै पहलमा नर्सिङ शिक्षाको पढाइ सुरु गरिने जानकारी दिनुभयो ।
युथ इको नेपालको आयोजनामा जारी एक्स्पोमा देशभरबाट करिब २ हजार सौन्दर्य तथा साजसज्जा क्षेत्रसँग सम्बन्धित व्यवसायी, पेशाकर्मी, कलाकार तथा इच्छुक सहभागी सहभागी रहेको आयोजक संस्थाका संरक्षक नरेश रन्जितले जानकारी दिनुभयो ।
एक्स्पोको मुख्य आकर्षण भारतका हेयर आर्टिस्ट जावेद हबिब को विशेष प्रशिक्षण रहेको जनाइएको छ । आयोजक संस्थाका अध्यक्ष आकाश गजुरेलका अनुसार कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर