भक्तपुर । भक्तपुरको सूर्यविनायक क्षेत्रमा पछिल्लो समय एउटा शैक्षिक संस्थाको चर्चा तीव्र रूपमा बढिरहेको छ मिड भ्याली माध्यमिक विद्यालय । सञ्चालनको छोटो अवधिमै विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल यो विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र अनुभवी शिक्षकमार्फत आफूलाई उपत्यकाको सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा स्थापित गरिरहेको छ । लोटस नोबल एजुकेसन प्रालि अन्तर्गत सञ्चालित यस विद्यालयले विज्ञान, व्यवस्थापन तथा कानुन संकायमा अध्यापन गराउँदै आएको छ । विशेषगरी काठमाडौं उपत्यकाका स्थापित कलेज तथा विद्यालयमा लामो समय अध्यापन र व्यवस्थापन अनुभव हासिल गरेका शिक्षक तथा प्राध्यापकहरूको सामूहिक पहलमा स्थापना भएकाले विद्यालयले सुरुदेखि नै फरक पहिचान बनाउन सफल भएको देखिन्छ ।
आधुनिक पूर्वाधारसहितको शिक्षण वातावरण
विद्यालय करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको छ । परिसरमा फुटसल, भलिबल, बास्केटबल कोर्ट तथा स्वीमिङ पुलजस्ता खेलकुद पूर्वाधार रहेका छन् । शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित गर्ने उद्देश्यअनुसार विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको छ ।
विद्यालयका फराकिला वातानुकूलित कक्षाकोठा, आधुनिक विज्ञान प्रयोगशाला तथा प्रविधिमैत्री कम्प्युटर ल्याब विद्यार्थीमैत्री ढंगले निर्माण गरिएको छ । कक्षाकोठाको संरचना र वातावरणले विद्यार्थीलाई सहज अनुभूति दिलाउने विद्यालय प्रशासनको दाबी छ ।
विद्यालयका प्रधानाध्यापक गोविन्द बल्लव जोशीका अनुसार शिक्षण सिकाइलाई प्रभावकारी बनाउन भौतिक पूर्वाधार र शिक्षण पद्धति दुवै उत्तिकै महत्वपूर्ण हुन्छन् । ‘हामीकहाँ विद्यार्थीलाई सुविधा हुनेगरी कक्षाकोठा बनाइएको छ । विद्यार्थीले कक्षा कोठामा बस्दा असहज महसुस गर्नुपर्दैन । भक्तपुरमा शुलभ र गुणस्तरीय शिक्षाका लागि हामी एउटा मानक बन्ने प्रयासमा छौं’, उहाँ भन्नुहुन्छ ।
उहाँका अनुसार विद्यालयले गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति लिएको छ । छोटो समयमै कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीको संख्या उत्साहजनक रहेको बताउँदै उहाँ विद्यालयले तय गरेको लक्ष्यअनुसार अगाडि बढिरहेको बताउनुहुन्छ ।
अनुभवी शिक्षकहरूको साझा अभियान
विद्यालयको सबैभन्दा बलियो पक्ष भनेको यहाँको शिक्षकमण्डललाई मानिन्छ । विद्यालयका सञ्चालक कमल अर्यालका अनुसार विद्यालयमा आवद्ध अधिकांश शिक्षक-शिक्षिकाले विगतमा काठमाडौं, ललितपुर तथा अन्य जिल्लाका प्रतिष्ठित विद्यालय र कलेजहरूमा लामो अनुभव हासिल गरिसकेका छन् । ‘हामीले धेरै वर्ष विभिन्न विद्यालय तथा कलेजमा पढायौं । ती संस्थालाई सफल बनाउन हाम्रो टोलीको ठूलो भूमिका थियो । अरूको नेतृत्वमा मात्र काम गर्नुभन्दा आफैं सक्षम संस्था निर्माण गर्नुपर्छ भन्ने सोचका साथ यो विद्यालय स्थापना गरेका हौं’, उहाँ भन्नुहुन्छ । विद्यालय व्यवस्थापनले शिक्षालाई केवल परीक्षामुखी नभई व्यवहारिक र जीवनोपयोगी बनाउने लक्ष्य राखेको छ । विद्यार्थीलाई सिर्जनात्मक, अनुशासित र आत्मविश्वासी नागरिक बनाउने उद्देश्यका साथ अध्यापन भइरहेको विद्यालयको भनाइ छ ।
मनोसामाजिक परामर्शमार्फत व्यक्तित्व विकास
विद्यालयले विद्यार्थीको मानसिक तथा भावनात्मक अवस्थालाई पनि उत्तिकै महत्त्व दिएको छ । विद्यालयका सञ्चालक तथा मनोविद् रकी महर्जनका अनुसार विद्यार्थीको मनोविज्ञान बुझेर गरिने शिक्षणले सिकाइलाई प्रभावकारी बनाउँछ । उहाँका अनुसार विद्यालयले मनोसामाजिक परामर्शमार्फत विद्यार्थीलाई भविष्यको करियर छनोटमा समेत मार्गदर्शन गरिरहेको छ । ‘विद्यार्थीको रुचि, क्षमता र मनोविज्ञान अनुसार शिक्षण गर्दा उनीहरू पढाइमा केन्द्रित हुन्छन् । साथै भविष्यमा कुन क्षेत्रमा जाने भन्ने विषयमा पनि स्पष्ट हुन मद्दत पुग्छ’, उहाँ भन्नुहुन्छ । विद्यालयले अभिभावक र शिक्षकबीच नियमित संवादको वातावरण सिर्जना गरी विद्यार्थीको समग्र विकासमा सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ ।
युवा व्यवस्थापनको ऊर्जा
विद्यालय व्यवस्थापनमा युवा पुस्ताको सक्रियता पनि यसको अर्को विशेषता हो । प्रशासन प्रमुख तथा सञ्चालक निलमकुमार ढुंगानाका अनुसार सामूहिक नेतृत्व र भावनात्मक एकताले विद्यालयलाई छोटो समयमै सफल बनाएको हो । ‘हाम्रो बलियो पक्ष भनेको नै एकताबद्ध टोली हो । सामूहिक प्रयासबाट मात्र संस्थाको प्रगति सम्भव हुन्छ भन्ने मान्यताका साथ हामी अघि बढेका छौं’, उहाँ भन्नुहुन्छ । उहाँका अनुसार विद्यालयले कर्पोरेट संस्कृतिसहित व्यवस्थित प्रशासनिक प्रणाली अपनाएको छ, जसले शिक्षण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ ।
छात्रवृत्ति र सर्वसुलभ शिक्षामा जोड
विद्यालयले विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा क्षमता भएका विद्यार्थीलाई अवसर प्रदान गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । विद्यालय प्रशासनका अनुसार ‘शिक्षाबाट कोही पनि वञ्चित नहोस्’ भन्ने अवधारणाअनुसार सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखिएको छ ।
स्थानीय अभिभावकमा उत्साह
मिड भ्याली माध्यमिक विद्यालय सञ्चालनमा आएपछि सूर्यविनायक र आसपासका स्थानीय अभिभावकमा उत्साह देखिएको छ । गुणस्तरीय शिक्षाका लागि आफ्ना छोराछोरीलाई काठमाडौं पठाउनुपर्ने बाध्यता कम भएको स्थानीयहरूको भनाइ छ । सर्वसुलभ शुल्कमै आधुनिक सुविधा र गुणस्तरीय शिक्षा उपलब्ध हुन थालेपछि भक्तपुरमै उत्कृष्ट शैक्षिक वातावरण निर्माण भएको अभिभावकहरू बताउँछन् ।
उपत्यकाको नयाँ शैक्षिक पहिचानतर्फ
सञ्चालनको छोटो समयमै विद्यार्थी, अभिभावक र स्थानीय समुदायको विश्वास जित्न सफल मिड भ्याली माध्यमिक विद्यालय अब उपत्यकाको गुणस्तरीय विद्यालयको सूचीमा आफ्नो पहिचान स्थापित गर्ने दिशामा अघि बढिरहेको देखिन्छ । अनुभवी शिक्षकमण्डल, आधुनिक पूर्वाधार, विद्यार्थीमैत्री वातावरण, मनोसामाजिक परामर्श र सामूहिक नेतृत्वको संयोजनले विद्यालयलाई अन्य संस्थाभन्दा फरक बनाएको छ । शिक्षालाई केवल प्रमाणपत्र प्राप्तिको माध्यम नभई व्यक्तित्व निर्माणको आधार बनाउने लक्ष्यसहित अघि बढिरहेको विद्यालयले आगामी दिनमा भक्तपुरको शैक्षिक क्षेत्रमा अझ प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि