राज्य अहिले संविधान संशोधनको संघारमा छ । संविधान र कानुनी ज्ञानको खोजी चौतर्फी बढी रहेको छ । संविधान र कानुनको ज्ञानको आवश्यकता नयाँ पुस्ताले महसुस गरी रहेको छ । हरेक राजनीतिक परिवर्तनमा शासन प्रणाली र राज्य व्यवस्था प्रमख छलफलको केन्द्रबिन्दु रहने भएकाले पनि नयाँ पुस्ताको आवश्यकताको परिपूर्तिका लागि पनि संविधान र कानुनको ज्ञान जरुरी भएको हो ।
‘कानुनको अज्ञानता क्षम्य हुँदैन’ भन्ने भनाइ आमरूपमा सबैले सुनेका छन् । तर, केहीले मात्रै कानुनको ज्ञानार्जन गरेका छन् । हुन त हाम्रा विद्यालयहरूमा आधारभूत रूपमा पढाइने कोर्समा कानुनको विषयलाई समावेश गरिएको छैन । त्यसकारण धेरैका लागि कानुनी ज्ञानको अभाव छ । कानुनसँग सम्बन्धित विषयका बारेमा आमनागरिकमा सचेतना जगाउन सरकारको नीति पनि छैन । नागरिक स्वयं कानुनको ज्ञान लिनका लागि तत्पर देखिँदैन । हाम्रो विद्यालय शिक्षामा कानुनको विषयलाई मान्यता दिने हो भने आमनागरिक आधारभूत तहबाटै कानुनको ज्ञानबारे जानकार हुन्थे । यो जानकारीले आमरूपमा नागरिकलाई जागरूक त बनाउँथ्यो नै कानुनको पालनामा समेत टेवा पुर्याउँथ्यो । राज्य प्रणालीको छलफलमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता हुन्थ्यो । तर, कानुन अध्ययनका लागि आकर्षित गर्न न सरकारको नीति पर्याप्त छ न त आममानिसमा त्यसको जागरुकता बढेको छ । यसले कानुन जान्ने सिक्ने र त्यसलाई ‘करियर’को अवसर बनाउने प्रवृत्ति पछिल्लो समय घट्दो क्रममा छ ।
विद्यालय शिक्षामा कानुनको विषयलाई मान्यता दिने हो भने आमनागरिकले आधारभूत तहबाटै कानुनको ज्ञानबारे जानकार हुन्थे । यो जानकारीले आमरूपमा नागरिकलाई जागरुक त बनाउँथ्यो नै कानुनको पालनामा समेत टेवा पुर्याउँथ्यो । तर, कानुन अध्ययनका लागि आकर्षित गर्न न सरकारको नीति पर्याप्त छ न त आममानिसमा त्यसको जागरुकता बढेको छ ।
छैन पछिल्लो समय कानुन अध्ययनमा विद्यार्थीको रुचि एसइईको परीक्षा उत्तीर्ण गरेपछि सामाजिक विज्ञानका विषय पढ्नेहरूको संख्या घट्दो क्रममा छ । रोजगार र आत्मनिर्भरतामा हाम्रा विषय केन्द्रित नभएपछि १२ कक्षा पास गरेर उच्च शिक्षा एवं कामका लागि विदेशमा जाने प्रवृत्ति बढेसँगै एसइईपछि के पढ्ने ? भनेर खासै चासोको विषय बन्दैन । जुन विषय अध्ययन गरेर कक्षा १२ पास गरेपछि विदेश जान सजिलो हुन्छ त्यही विषय नै अध्ययन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । त्यसैले विषय छनोट गरिरहनु नपर्ने अवस्था सिर्जना भएको छ । विज्ञान र व्यवस्थापन अध्ययन गरेपछि विदेश जान सजिलो र आमरूपमा सबैले पढिरहेको विषय भएकाले धेरै सोच्नु नपर्ने गरी अधिकांश विद्यार्थीहरूको रोजाइ विज्ञान वा व्यवस्थापन हुने गरेको छ ।
हाम्रो विद्यालय शिक्षामा कानुनको विषयलाई मान्यता दिने हो भने आमनागरिकले आधारभूत तहबाटै कानुनको ज्ञानबारे जानकार हुन्थे । यो जानकारीले आमरूपमा नागरिकलाई जागरूक त बनाउँथ्यो नै कानुनको पालनामा समेत टेवा पुर्याउँथ्यो । तर, कानुन अध्ययनका लागि आकर्षित गर्न न त सरकारको नीति पर्याप्त छ न आममानिसमा त्यसको जागरुकता बढेको छ ।
साथै समाजले बनाएको एउटा मानक पनि के छ भने जसले राम्रो अंक ल्याउँछ त्यसले विज्ञान र व्यवस्थापन विषय पढ्ने र कम अंक ल्याएकाहरूले अन्य विषयको अध्ययन गर्ने अवस्था सिर्जना भएको छ । मूल रूपमा समाजको पहिलो रोजाइ बन्नुपर्ने विषय विद्यार्थीको अन्तिम छनोट भइरहेको छ । तर, आफूले प्राप्त गरेको नम्बरका आधारमा के पढ्ने ? भनेर विषय रोज्ने यो ज्यादै गलत, परम्परागत र अवैज्ञानिक शैली हो । यसबाट धेरै विद्यार्थीहरूको क्षमता पहिचान र अभिवृद्धिमा ठूलो चुनौती खडा गरेको छ । विद्यार्थीको रुचिलाई मारेको छ ।
उच्च शिक्षामा के पढ्ने ? भन्ने कुराले मानिसको जीवनलाई दीर्घकालसम्म पनि ठूलो असर पारिरहेको हुन्छ । यो उमेरका विद्यार्थीले लिने ज्ञानले उनीहरूको जीवनमा दीर्घकालसम्म असर पार्दछ । त्यसैले यो उमेरका विद्यार्थीले पढ्ने विषयले उनीहरूको मस्तिष्कको विकास कतिसम्म हुनसक्छ र त्यसले भावी दिनमा विद्यार्थीको तर्कशक्ति कस्तो बन्दछ भनेर निर्क्योल गर्दछ । मूलतः एसइईपछिका उमेर समूहका विद्यार्थीमा आउने सोच तथा तार्किक क्षमताको परिवर्तन र त्यही समयमा आवश्यक पर्ने शैक्षिक विषयहरूको ज्ञानले विद्यार्थीको भावी जीवनमै प्रभाव पार्ने भएकाले तार्किक ज्ञानको दुनियाँमा विद्यार्थीलाई प्रवेश गराउनु महत्त्वपूर्ण कदम मान्न सकिन्छ ।
परिवर्तनकारी पुस्तामै हुनुपर्छ कानुनको ज्ञान
तथ्यगत रूपमा हेर्ने हो भने हाम्रा कानुन, सिद्धान्त, प्रचलन तथा अन्तर्राष्ट्रिय अभ्यासले साँच्चिकै वयस्कको उमेर १६ वर्षदेखि १८ वर्षलाई लिइएको छ । आंशिक रूपमा एउटा व्यक्तिमा १६ वर्षमा वयस्कता सुरु भएर १८ वर्षसम्म त पूर्णरूपमा वयस्क भइसक्ने कुरा परिकल्पना गरिएको छ । यो वयस्कताको प्रारम्भ बिन्दुमा हामीमा कस्तो ज्ञान आर्जन भयो, कस्तो तर्क र क्षमताको विकास भयो भन्ने कुराले भावी दिनसम्म हाम्रो जीवनमा ठूलो प्रभाव पार्दछ । यो उमेरमा हामीले अपनाउने अध्ययन पद्धति र तरिकाहरूले हाम्रो मस्तिष्कको विकास कसरी गर्ने भन्ने कुरालाई निर्क्योल गर्दछ ।
१६ देखि १८ वर्षको उमेर वयस्कताको उमेर हो भने यो उमेर समूहका विद्यार्थीहरूले पढ्ने पुस्तकले उनीहरूको दृष्टिकोण निर्माण गरिरहेको छ । कुन विषयको ज्ञानले कस्तो विचार उब्जिन्छ भन्ने कुराले भावी दिनसम्म दृष्टिकोण निर्माण गर्न सघाउ पर्ने भएकाले यो उमेर समूहका विद्यार्थीहरूमा के–कस्ता विचार र तर्कसँग साक्षात्कार भयो त्यही प्रकारको भावी दिनको दृष्टिकोण वा सोच्ने तरिका पनि निर्माण हुँदै जान्छ । कति फराकिलो ढंगले वस्तुलाई नियालियो ? कति फराकिलो ढंगले मानिसका विचार ग्रहण गरियो ? कति फराकिलो ढंगले पुस्तक पढियो ? लगायत कुराले हामीमा कति फराकिलो चेतनाको विकास भयो भन्ने कुरालाई इंगित गर्छ ।
प्रायःजसो एसइई दिने विद्यार्थीहरूको उमेर १६ वर्ष हुन्छ भने केहीको त्यसभन्दा माथि वा भनौं १६ र १८ वर्षकै बीचको हुन्छ । तसर्थ एसइई पास भएपछि उच्च शिक्षामा कुन विषय अध्ययन गरिन्छ त्यसले भावी दिनमा विद्यार्थीको दृष्टिकोण निर्माण, तर्कशक्ति र चेतनालाई निर्धारण गर्ने हुँदा यो उमेर समूहका विद्यार्थीले आफ्नो क्षमता, दक्षता, सीप, कला, दृष्टिकोण, चेतनास्तर अभिवृद्धि गर्ने प्रकारको शिक्षा आर्जन गर्नुपर्छ ताकि दीर्घकालीन रूपमा त्यसले विद्यार्थीको सोच र दृष्टिकोणलाई फराकिलो, तर्कसंगत र व्यावहारिक बन्न सिकाओस् ।
कानुन बन्नसक्छ महत्त्वपूर्ण ‘करियर’ रोजाइ ।
यदि १६ देखि १८ वर्षको उमेरका विद्यार्थीहरूमा तर्क गर्नसक्ने क्षमताको अभिवृद्धि हुन्छ, दृष्टिकोण निर्माण हुन्छ, चेतनाको अभिवृद्धि हुन्छ भने त्यसैसँग सम्बन्धित तर्कशक्तिको विषय अर्थात् ‘कानुन’ विद्यार्थीका लागि उत्तम ‘करियर’ रोजाइको विषय बन्नसक्छ । त्यतिमात्रै नभई अन्य कुनै विषयमा स्नातक गरेका विद्यार्थीहरूका लागि देश-काल, परिस्थितिको सैद्धान्तिक र कानुनी आधार बुझ्नका लागि कानुनको शिक्षा एक महत्त्वपूर्ण आधार बन्नसक्छ । कानुनको अध्ययनले कुनै विद्यार्थीको तर्क गर्नसक्ने क्षमतामा अभिवृद्धि गर्दछ, चेतनाको विकास गर्दछ, दृष्टिकोणलाई फराकिलो पार्दछ र व्यावहारिक बन्न प्रेरित गर्दछ । यो विषयको अध्ययनले समाजलाई बुझ्न सिकाउँछ, समाजका समस्यालाई केलाउन सिकाउँछ, राजनीतिलाई नियमसंगत चलाउनुपर्ने कुरालाई प्रेरित गर्दछ र राज्यको नीति निर्माण र तिनको कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्दछ ।
कानुन विषय एउटा सुव्यवस्थित समाज निर्माणका लागि मात्र नभएर पेशाकै रूपमा पनि विकसित देशमा अब्बल मानिएको विषय हो । समाजका समस्याहरूलाई प्रत्यक्ष रूपमा सरोकार राख्ने एवं न्याय प्रदान गर्न अहं भूमिकाकै रूपमा सघाउ पुर्याउने कानुनको विषयले विद्यार्थीलाई समाजका वास्तविक समस्यासँग घुलमिल गराउन सघाउ त पुर्याउँछ नै, यसले व्यवस्थित समाज निर्माणका लागि मार्गदर्शन प्रदान गर्दछ ।
हामीले बारम्बार राजनीतिले देश बिगार्यो भन्छौं वा नेताहरू कानुनको पालना गर्दैनन् भनेर गुनासो गर्छौं । राज्यमा कानुनको शासन, जवाफदेही सरकार, पारदर्शिता, अधिकारको सुनिश्चितता, न्यायमूलक समाज र स्वतन्त्र न्यायपालिकाको स्थापना भएन भन्ने कुरामा हाम्रो सधैं गुनासो रहन्छ । तर, यी सबै कुराको चेत जगाउने, त्यसमा निर्मम समीक्षा गरी राज्यलाई आवश्यक पर्ने नीति नियम र मूल्य मान्यताका विषयमा हामीले हाम्रा विद्यार्थीलाई संलग्न गराएनौं, उत्प्रेरणा जनाएनौं । जबकि यी सबै कुराको ज्ञान र समाधान कानुनी शिक्षाले दिन्छ ।
कानुनी शिक्षाले राज्यमा भए, गरेका घटनाक्रममाथि तार्किक विश्लेषण गरी समस्याका कारण पहिचान गरी समाधानका उपाय सुझाउन मद्धत गर्छ । यसको नेतृत्व गर्ने अवसर हाम्रा विद्यार्थीलाई हामीले किन प्रदान नगर्ने ? राज्य व्यवस्था र राजनीतिलाई नजिकबाट बुझ्न सिकाउने र त्यसमा देखिएका समस्यालाई कानुनसम्मत रूपमा समाधान गर्न सिकाउने विषय कानुन हो भने त्यो विषय पढ्न हाम्रा विद्यार्थीलाई किन प्रेरित नगर्ने ?
कानुनको ज्ञानले आजका समस्यालाई मात्रै समाधान गर्न सिकाउँदैन, भोलिको पुस्तालाई समेत मार्गप्रशस्त गर्न एक असल शासन प्रणालीको आरम्भको जग बसाउन अहं भूमिका खेल्दछ । त्यसैले त नेब्रास्का विश्वविद्यालय कानुन कलेजका डिन रस्को पाउण्डले ‘कानुन भनेकै समाज निर्माणको आधारस्तम्भ हो भने वकिल भनेकै सामाज निर्माणका संवाहक हुन्’ भनेर उन्नाइसौं शताब्दीमै भनेका थिए ।
समाजको चेतनास्तर वृद्धिका लागि ‘कानुन’ समाजशास्त्रको अभिन्न विषय
हरेक समाजको विकास तब हुन्छ जब समाज शास्त्रका विषयहरूमाथि अध्ययन र अनुसन्धानको वृद्धि हुन्छ । समाजको चेतनास्तरको वृद्धि गर्न समाज शास्त्रको अध्ययन गर्ने र यसको रूपान्तरण गर्ने नयाँ पुस्ताहरूको संख्या बढ्दै जानुपर्छ । समाजमा कतिपय समस्या सामाजिक रूपमा व्याप्त देखिन्छन् । न्याय हरेक समाजको मूल आवश्यकता बनेको छ । शान्ति, सुव्यवस्था, भ्रष्टाचारको अन्त्य, सुशासन र कानुनको शासन आज हरेक समाजको आवश्यकता बनेको छ । तर, समाजका समस्यालाई समाधान गरी समाजलाई व्यवस्थित गर्ने विषयहरू विद्यार्थीको रोजाइ नबन्दा समाजको चेतनास्तर विकसित हुनसकेको छैन । जसका कारण राज्यको व्यवस्थाप्रति नयाँ पुस्ताको निराशा बढ्दै गएको छ ।
समाजलाई विकसित गर्न सामाजिक रूपमा हुनुपर्ने छलफल तथा अध्ययन अनुसन्धानहरू घट्दै गएपछि समाजले सुव्यवस्थाको रूप लिन नसकेको हो । विधिशास्त्री जोन चिपम्यान ग्रेले पनि त्यसै भनेका होइनन् ‘कानुनको सैद्धान्तिक ज्ञानलाई तार्किक विवेचनाको आधारमात्र नमानेर समाजलाई समृद्ध बनाउने बौद्धिक आधार हो’ । यसका लागि सामाजिक रूपमा सचेत एवं समाजका समस्याहरूलाई समाधान दिने विषयवस्तुहरूको अध्ययन आजका नयाँ पुस्ताको रोजाइ बन्न जरुरी छ । सामाजिक विषयहरू विद्यार्थीहरूको रोजाइ बन्नका लागि राज्यले ती विषयप्रति आकर्षण बढाउन उचित नीति अवलम्बन गर्न जरुरी छ ।
कानुन विषय एउटा सुव्यवस्थित समाज निर्माणका लागि मात्र नभएर पेशाकै रूपमा विकसित देशमा अब्बल मानिएको विषय हो । समाजका समस्यालाई प्रत्यक्ष रूपमा सरोकार राख्ने एवं न्याय प्रदान गर्न अहं भूमिकाकै रूपमा सघाउ पुर्याउने कानुनको विषयले विद्यार्थीलाई समाजका वास्तविक समस्याहरूसँग घुलमिल गराउन सघाउ त पुर्याउँछ नै, यसले व्यवस्थित समाज निर्माणका लागि मार्गदर्शन प्रदान गर्दछ ।
(लेखक यज्ञराज पाण्डे अधिवक्ता हुनुहुन्छ । उहाँ लेक्स नेपाल इन्स्टिच्युट अफ लका निर्देशक हुनुहुन्छ ।)






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…