अमेरिका । अमेरिकाको कोलोराडो राज्यस्थित डेनभर शहर नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सवमय केन्द्र बन्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका अवसरमा वरिष्ठ साहित्यकार खिमानन्द आचार्यका सातवटा नयाँ साहित्यिक कृतिको एकसाथ लोकार्पण गरियो ।
विश्वका विभिन्न मुलुकबाट सहभागी साहित्यकार, लेखक, पत्रकार तथा नेपाली भाषाप्रेमीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न सम्मेलनले प्रवासमा नेपाली साहित्यको ऊर्जाशील उपस्थिति पुनः एकपटक प्रमाणित गरेको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित कवि तथा साहित्यकार नवराज लम्सालले नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय विस्तारमा प्रवासी स्रष्टाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलगायत विभिन्न देशबाट सहभागी साहित्यकारहरूले नेपाली साहित्यको विश्वव्यापी विस्तार, डायस्पोरा साहित्यको विकास र सांस्कृतिक पहिचानको संरक्षणबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार खिमानन्द आचार्यका सात कृतिको सामूहिक लोकार्पण गरिएको थियो । लोकार्पित कृतिहरूमा ‘देश दुःखेको बेला’ (कवितासंग्रह), ‘अस्पतालको शैय्याबाट’ (कथासंग्रह), ‘स्वदेशदेखि प्रदेशसम्म’ (उपन्यास), ‘आँखी झ्याल’ (लघुकथासंग्रह), ‘अञ्जन’ (उपन्यास), ‘जुन तारा’ (बालकवितासंग्रह) तथा ‘छोरा बुहारी’ (उपन्यास) रहेका थिए ।
वक्ताहरूले आचार्यका सिर्जनामा नेपाली समाजको यथार्थ, प्रवासी जीवनका अनुभूति, मानवीय संवेदना, सामाजिक अन्तरविरोध, पारिवारिक सम्बन्ध तथा सांस्कृतिक चेतनाको प्रभावशाली अभिव्यक्ति पाइने बताएका थिए । विशेषगरी स्वदेश र प्रवासबीचको भावनात्मक सम्बन्ध, बदलिँदो सामाजिक परिवेश र जीवनसंघर्षका विविध आयामलाई उहाँले कलात्मक रूपमा प्रस्तुत गरेको चर्चा गरिएको थियो ।
लामो समयदेखि अमेरिकाको ग्रेटर वासिंटन मेट्रो क्षेत्रमा बसोवास गर्दै आउनुभएका साहित्यकार आचार्य नेपाली भाषा, साहित्य र संस्कृतिका सक्रिय संवाहकका रूपमा परिचित हुनुहुन्छ । उहाँका यसअघि प्रकाशित ‘धर्तीका माकुरा’, ‘अनेक डायस्पोराका कविता’, ‘पागल साथी’, ‘मनका तरंगहरू’, ‘पश्चाताप’ तथा ‘आस्थाका बिम्बहरू’ जस्ता कृतिहरूले प्रवासी नेपाली साहित्यमा विशेष पहिचान बनाएका छन् ।
अर्घाखाँची जिल्लाको डिभर्नामा जन्मिनुभएका आचार्यले नेपालको जेठो पत्रिका गोरखापत्रमा करिब २६ वर्षसम्म नेपाली भाषाको सेवामा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो । पत्रकारिता, साहित्य र सांस्कृतिक अभियानमा लामो समय सक्रिय रहँदै आउनुभएका उहाँ हाल अमेरिकामा परिवारसहित बसोवास गर्दै आउनुभएको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…