नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय नाम हो नरेन्द्र खड्का । नेपाली फिल्म उद्योगमा प्रविधि र सिर्जनात्मकताको संयोजन गर्दै उहाँले तीन दशकभन्दा बढी समय चलचित्र सम्पादनमा बिताउनुभएको छ । मुम्बईमा सम्पादन कला सिकेर नेपाल फर्किनुभएका खड्काले नेपाली चलचित्रलाई नयाँ लय, गति र प्रस्तुति दिन महत्त्वपूर्ण योगदान गर्नुभएको छ । ‘प्रेमयुद्ध’, ‘गोधुली’, ‘वसन्ती’, ‘आदिकवि भानुभक्त’, ‘दुश्मन’, ‘अग्नि परीक्षा’, ‘चेली’, ‘छोरी बुहारी’, ‘राजामती’, ‘जन्म जन्म’, ‘मोहनी’, ‘सारंगी’, ‘प्रेम पूजा’ लगायत चर्चित चलचित्रमा सम्पादकका रूपमा काम गर्नुभएका उहाँलाई सिने सर्कल अवार्ड-२०८० बाट ‘लाईफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । देशकै राजधानी काठमाडौंमा जन्मिनुभएका खड्काले नेपाली चलचित्र उद्योगको एनालगदेखि डिजिटल युगसम्मको यात्रालाई नजिकबाट अनुभव गर्नुभएको छ । नेपाली चलचित्र क्षेत्रको लामो यात्रामा आफ्नो जीवन समर्पण गर्नुभएका वरिष्ठ सम्पादक खड्काले पर्दापछाडिको सिर्जनात्मक श्रमलाई नेपाली सिने क्षेत्रको मेरुदण्डका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिनुभएको छ । उहाँको अनुभव, दृष्टि र समर्पण नेपाली चलचित्र क्षेत्रका लागि प्रेरणादायी मानिन्छ । प्रस्तुत छ वरिष्ठ फिल्म सम्पादक नरेन्द्र खड्कासँग हिमाालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
यतिबेला के गर्दै हुनुहुन्छ ?
संगीतरत्न शम्भुजित बाँस्कोटा र मैले सञ्चालनमा ल्याएको संगीत घर नेपाल भन्नेछ । त्यसमा हामीले शाराीरिक अशक्तहरूलाई प्रशिक्षण दिने काम गरिरहेका छौं । गीत-संगीतको ज्ञान दिने गर्छ यस संस्थाले । त्यस्तै, संगीत महर्षि नातीकाजी श्रेष्ठको नामको संस्थमा पनि उपाध्यक्ष रहेर काम गरिरहेको छु । यस्तै अस्कर कलेजमा अध्यापन पनि गरिरहेको छु । यस कलेजको संस्थापक प्रिन्सिपल पनि हुँ म ।
दर्शकले कलाकार देख्छन्, निर्देशकको नाम सुन्छन्, तर फिल्मको गति र प्रभाव निर्माण गर्ने सम्पादनलाई कमै सम्झिन्छन् । वास्तवमा सम्पादन राम्रो भएन भने उत्कृष्ट कलाकार र कथा भएर पनि फिल्म कमजोर हुनसक्छ । त्यसैले सम्पादकलाई सिर्जनात्मक सहयात्रीका रूपमा हेर्नुपर्छ ।
चलचित्र सम्पादन क्षेत्रमा तपाईंको यात्रा कसरी सुरु भयो ?
मेरो बाल्यकाल काठमाडौंमै बित्यो । सानैदेखि चलचित्रप्रति आकर्षण थियो । त्यो बेला नेपाली फिल्म उद्योग अहिले जस्तो विकसित थिएन । चलचित्र निर्माण सीमित थियो, प्रविधि पनि कमजोर थियो । तर, फिल्म हेर्दा त्यसको दृश्य कसरी जोडिएको होला, कथालाई कसरी गति दिइएको होला भन्ने जिज्ञासा लाग्थ्यो । पछि यही जिज्ञासाले मलाई सम्पादनतर्फ तान्यो । मैले मुम्बई गएर चलचित्र सम्पादनसम्बन्धी अध्ययन र व्यावहारिक तालिम लिएँ । त्यहाँको अनुभवले मलाई धेरै कुरा सिकायो । भारतको फिल्म उद्योग निकै व्यवस्थित थियो । कथा, दृश्य, ध्वनि, गति र भावनालाई सम्पादनले कसरी प्रभावकारी बनाउँछ भन्ने कुरा मैले त्यहाँबाट गहिरोसँग बुझ्ने अवसर पाए । नेपाल फर्किएपछि यही सीपलाई नेपाली चलचित्र क्षेत्रमा प्रयोग गर्ने प्रयास गरेँ ।
त्यो समय नेपाली फिल्म उद्योगको अवस्था कस्तो थियो ?
त्यो समय अहिलेको जस्तो डिजिटल प्रविधि थिएन । सबै काम रिलमा हुन्थ्यो । एउटा दृश्य काट्न, जोड्न निकै समय लाग्थ्यो । गल्ती भयो भने फेरि सुरु गर्नुपर्ने अवस्था हुन्थ्यो । अहिले कम्प्युटरमा केही मिनेटमा हुने काम त्यतिबेला घण्टौं लाग्थ्यो । तर, एउटा राम्रो पक्ष के थियो भने, सबैले मिहिनेनत गर्थे । निर्देशक, कलाकार, छायांकार, सम्पादक सबैमा कामप्रतिको समर्पण थियो । सीमित स्रोतसाधन हुँदाहुँदै पनि राम्रो चलचित्र बनाउने प्रयास हुन्थ्यो ।
सम्पादनलाई तपाईं कसरी परिभाषित गर्नुहुन्छ ?
मेरो विचारमा सम्पादन भनेको चलचित्रको दोस्रो लेखन हो । छायांकनपछि फिल्मको वास्तविक निर्माण सम्पादन टेबलमा हुन्छ । एउटा दृश्य कहाँ राख्ने, कति समय राख्ने, कुन भावनालाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा सम्पादनले निर्धारण गर्छ । दर्शक हाँस्ने कि रुने, तनाव महसुस गर्ने कि रोमाञ्चित हुने भन्ने कुरामा पनि सम्पादनको ठूलो भूमिका हुन्छ । राम्रो छायांकन भएरमात्र पुग्दैन, त्यसलाई सही ढंगले प्रस्तुत गर्न सकिएन भने फिल्म प्रभावकारी हुँदैन । त्यसैले सम्पादन चलचित्रको आत्माजस्तै हो भन्ने लाग्छ ।
तपाईंले सम्पादन गर्नुभएको चलचित्रमध्ये विशेष सम्झिने काम कुन हो ?
हरेक फिल्म आफ्नै हिसाबले विशेष हुन्छ । तर, ‘वसन्ती’, ‘आदिकवि भानुभक्त’, ‘चेली’, ‘छोरी बुहारी’, ‘राजामती’ जस्ता चलचित्रले मलाई धेरै अनुभव दिए । ‘वसन्ती’ सामाजिक र भावनात्मक हिसाबले निकै संवेदनशील चलचित्र थियो । त्यसको भावनात्मक लय कायम राख्नु चुनौतीपूर्ण थियो । ‘आदिकवि भानुभक्त’ ऐतिहासिक पृष्ठभूमिको चलचित्र भएकाले त्यसमा समय, दृश्य र कथाको सन्तुलन मिलाउनुपर्थ्यो । त्यस्तै ‘अग्नि परीक्षा’, ‘जन्म जन्म’, ‘मोहनी’, ‘सारंगी’, ‘प्रेम पूजा’ लगायतका चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाए । सफल चलचित्रमा काम गर्न पाउँदा सम्पादकका रूपमा सन्तुष्टि मिल्छ ।
निर्देशक र सम्पादकबीचको सम्बन्ध कत्तिको महत्त्वपूर्ण हुन्छ ?
एकदमै महत्त्वपूर्ण हुन्छ । निर्देशकले कल्पना गरेको फिल्मलाई वास्तविक आकार दिने जिम्मा सम्पादकको पनि हुन्छ । त्यसैले निर्देशक र सम्पादकबीच राम्रो समझदारी हुनुपर्छ । कहिलेकाहिँ निर्देशकले छायांकनका क्रममा सोचेभन्दा फरक परिणाम आउँछ । त्यस्तो अवस्थामा सम्पादकले फिल्मलाई बचाउनुपर्ने हुन्छ । केही दृश्य काट्नुपर्छ, केही पुनःसंरचना गर्नुपर्छ । त्यसैले सम्पादन सिर्जनात्मक निर्णयको प्रक्रिया पनि हो ।
अहिलेको डिजिटल प्रविधिलाई कसरी हेर्नुभएको छ ?
अहिले प्रविधिले धेरै सजिलो बनाएको छ । डिजिटल सम्पादनका कारण समय बचत भएको छ । नयाँ पुस्ताले धेरै अवसर पाएका छन् । तर, एउटा कुरा के हो भने प्रविधिमात्र भएर हुँदैन । कथाको भावना बुझ्ने क्षमता चाहिन्छ । फिल्मको लय बुझ्नुपर्छ । दर्शकको मनोविज्ञान बुझ्नुपर्छ । कम्प्युटर चलाउन जान्नुमात्रै सम्पादन होइन । हामीले रिल काटेर काम गरेको पुस्ता भएकाले धैर्य, अनुशासन र संवेदनशीलता धेरै सिक्यौं । अहिलेको पुस्ताले पनि त्यो कुरा सिक्न आवश्यक छ ।
नेपाली चलचित्र उद्योग अहिले कहाँ पुगेको छ ?
धेरै परिवर्तन भएको छ । अहिले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारसम्म पुगेको छ । प्रविधि सुधारिएको छ । नयाँ पुस्ता सिर्जनात्मक छ । तर, अझै कथामा मिहिनेत गर्नुपर्ने देखिन्छ । राम्रो कथा बिना फिल्म दिगो हुँदैन । दर्शकलाई केवल गीत र दृश्यले मात्र लामो समय बाँधेर राख्न सकिँदैन । भावनात्मक रूपमा छुने कथा चाहिन्छ । अर्को कुरा, प्राविधिक पक्षलाई अझ व्यवस्थित बनाउनुपर्छ । चलचित्र उद्योगलाई व्यावसायिक रूपमा अगाडि बढाउन दीर्घकालीन योजना आवश्यक छ ।
तपाईंले प्रमुख सहायक निर्देशक र सम्पादकका रूपमा ‘शान्ति दीप’ मा पनि काम गर्नुभयो । त्यो अनुभव कस्तो रह्यो ?
त्यो अनुभव निकै महत्त्वपूर्ण थियो । सहायक निर्देशन र सम्पादन दुवै पक्षबाट काम गर्दा फिल्म निर्माण प्रक्रियालाई अझ नजिकबाट बुझ्ने मौका मिल्यो । छायांकनदेखि पोष्ट-प्रोडक्सनसम्मको सम्पूर्ण प्रक्रियामा सहभागी हुँदा एउटा फिल्म निर्माण गर्न कति मिहिनेत लाग्छ भन्ने कुरा अझ स्पष्ट हुन्छ । त्यो अनुभवले पछि सम्पादनमा धेरै सहयोग गर्यो ।
सिने सर्कल अवार्ड-२०८० को लाईफटाइम अचिभमेन्ट अवार्ड पाउँदा कस्तो महसुस भयो ?
त्यो मेरो लागि अत्यन्त भावुक क्षण थियो । लामो समयदेखि गरेको कामलाई सम्झेर सम्मान गरिँदा खुशी लाग्यो । पुरस्कार भनेको केवल व्यक्तिको सम्मानमात्र होइन, त्यो सम्पूर्ण प्राविधिक क्षेत्रको सम्मान पनि हो । कलाकारहरू बढी चर्चामा आउँछन्, तर पर्दापछाडि काम गर्ने धेरै प्राविधिकहरूको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
नेपाली चलचित्रमा सम्पादकको योगदानलाई पर्याप्त मूल्यांकन गरिएको छ जस्तो लाग्छ ?
पहिलाको तुलनामा अहिले केही सुधार भएको छ । तर, अझै सम्पादकलाई पर्याप्त रूपमा बुझिएको छैन भन्ने लाग्छ । दर्शकले कलाकार देख्छन्, निर्देशकको नाम सुन्छन्, तर फिल्मको गति र प्रभाव निर्माण गर्ने सम्पादनलाई कमै सम्झिन्छन् । वास्तवमा सम्पादन राम्रो भएन भने उत्कृष्ट कलाकार र कथा भएर पनि फिल्म कमजोर हुनसक्छ । त्यसैले सम्पादकलाई सिर्जनात्मक सहयात्रीका रूपमा हेर्नुपर्छ ।
नयाँ पुस्ताका सम्पादकलाई के सुझाव दिन चाहनुहुन्छ ?
पहिलो कुरा, धैर्य हुनुपर्छ । सम्पादन सिक्न समय लाग्छ । दोस्रो, धेरै फिल्म हेर्नुपर्छ । नेपालीमात्र होइन, विश्व सिनेमा अध्ययन गर्नुपर्छ । विभिन्न शैली बुझ्नुपर्छ । तेस्रो, प्रविधिसँगै संवेदनशीलता पनि आवश्यक छ । फिल्म केवल दृश्यहरूको समूह होइन, भावना हो । त्यो भावना बुझेर सम्पादन गर्न सकेमात्र दर्शकसँग फिल्म जोडिन्छ । र, अन्तिम कुरा, निरन्तर अभ्यास गर्नुपर्छ । सिकाइ कहिल्यै सकिँदैन ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र