काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आफ्नो इतिहासकै सबैभन्दा निराशाजनक नतिजामध्ये एक बेहोरेको छ । आइसिसी वरीयतामा आफूभन्दा २१ स्थान तल रहेको चीनसँग पराजित हुँदै नेपाल एसियन गेम्समा छनोट हुने अवसरबाट वञ्चित भएको छ ।
आइतबार मलेसियाको बायोमास ओभलमा तेस्रो स्थानका लागि भएको खेलमा नेपाल डकवर्थ-लुइस (डिएलएस) पद्धतिअनुसार चीनसँग ५ विकेटले पराजित भयो । वर्षाका कारण खेल ७ ओभरमा सीमित गरिएको थियो । आइसिसीको पछिल्लो महिला टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल २१औँ तथा चीन ४२औँ स्थानमा रहेका छन् । यसअघि चीनसँग भएका तीनवटै टी-२० अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको नेपालले चौथो भेटमा पहिलो हार बेहोरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनायो । नेपालको इनिङ्समा कविता कुँवरले १० बलमा २२ रनको आक्रामक पारी खेल्नुभयो भने कप्तान इन्दु बर्माले ११ रन जोड्नुभयो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले दिएको ५० रनको लक्ष्य डिएलएस पद्धतिअनुसार चीनका लागि ४३ रनमा झारिएको थियो । चीनले अन्तिम बलमा लक्ष्य पूरा गर्दै ५ विकेटको जित हात पार्यो । चीनका लागि दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बनाए पनि त्यो जितका लागि पर्याप्त बन्यो ।
नेपालका तर्फबाट रिया शर्माले दुई तथा सीता राना मगरले एक विकेट लिनुभयो । तर, बलरहरूको प्रयास पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । यस हारसँगै नेपाली महिला टोलीको एसियन गेम्समा स्थान बनाउने सपना अधुरै रह्यो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर