काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र लामो समयदेखि चुलिँदै आएको आन्तरिक विवाद अन्ततः पार्टी विभाजनतर्फ उन्मुख भएको संकेत देखिएको छ । पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले आइतबार नयाँ राजनीतिक अभियानको घोषणा गर्दै देशमा ‘विश्वसनीय राष्ट्रवादी शक्ति’ निर्माणका लागि नयाँ बाटो तय गर्ने निर्णय गरेको सार्वजनिक गरेपछि राप्रपाको भविष्यबारे नयाँ बहस सुरु भएको हो । काठमाडौंस्थित एक होटलमा असन्तुष्ट नेताहरूबीच भएको छलफलपछि जारी गरिएको अपिलमार्फत राणाले वर्तमान राजनीतिक परिस्थितिमा नयाँ अभियान आवश्यक भएको निष्कर्षमा पुगेको बताउनुभएको छ । उहाँले जारी गरेको विज्ञप्तिमा राप्रपाभित्रको आफ्नो पदसमेत उल्लेख नगरी आगामी राजनीतिक यात्राको संकेत दिनुभएको छ ।
राणाले विगत चार वर्षदेखि राप्रपालाई जनभावनाअनुकूल दिशामा अघि बढाउने प्रयास गरिए पनि त्यो सफल हुन नसकेको बताउनुभएको छ । ‘राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौं । तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने-हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो’, विज्ञप्तिमा उल्लेख गरिएको छ । उहाँले पार्टीभित्र देखिएको वैचारिक अस्पष्टता, नेतृत्व शैली र राजनीतिक कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै अब नयाँ ढंगबाट राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । देश तथा विदेशमा रहेका नेपाली शुभेच्छुकहरू, समर्थकहरू र सहयात्रीहरूसँगको परामर्शपछि आफूहरूले नयाँ निर्णय लिएको राणाको दाबी छ ।
‘देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू तथा नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु’, उहाँले अपिलमा उल्लेख गर्नुभएको छ । राणाको घोषणालाई राप्रपाबाट अलग भएर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने तयारीका रूपमा हेरिएको छ । यद्यपि उहाँले तत्काल नयाँ पार्टी गठनबारे स्पष्ट घोषणा भने गर्नुभएको छैन । राप्रपा विभाजनतर्फ गएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा राणाले ‘जसरी बुझ्दा पनि हुन्छ’ भन्ने प्रतिक्रिया दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिले पार्टीभित्रको मतभेद अब निर्णायक मोडमा पुगेको संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ ।
अध्यक्ष लिङ्देनसँग मदभेद
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीच पछिल्लो समय नेतृत्व शैली, संगठन सञ्चालन र महाधिवेशनको विषयलाई लिएर मतभेद बढ्दै गएको थियो । राणाले नेतृत्वलाई तत्काल महाधिवेशनको मिति घोषणा गर्न अल्टिमेटम दिनुभएको थियो । त्यसको जवाफमा अध्यक्ष लिङ्देनले राणासहितका नेताहरूलाई महाधिवेशनको कार्यतालिका तयार गर्ने जिम्मेवारी सुम्पिनुभएको थियो । तर, त्यसपछि पनि दुवै पक्षबीचको दूरी घट्न नसकेको र अन्ततः राणाले नयाँ राजनीतिक अभियानको घोषणा गरेको विश्लेषण गरिएको छ । राप्रपाभित्र लामो समयदेखि वैचारिक स्पष्टता, राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा कार्यान्वयनको रणनीति, संगठनात्मक निर्णय प्रक्रिया तथा नेतृत्वको कार्यशैलीबारे असन्तुष्टि रहँदै आएको थियो ।
राप्रपाका नेता-कार्यकर्ताप्रति वैरभाव छैन : राणा
राणाले आफ्नो विज्ञप्तिमा राप्रपामा रहेका नेता-कार्यकर्ताप्रति कुनै वैरभाव नरहेको स्पष्ट पर्नुभएको छ । ‘राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन’, उहाँले भन्नुभएको छ । साथै, स्वच्छ मन र आत्मीय सम्बन्धका आधारमा साझा मान्यता बोकेका राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार राणाको कदमले राप्रपाभित्र नयाँ ध्रुवीकरण सुरु हुन सक्ने सम्भावना बढेको छ । विशेषगरी पार्टीभित्र असन्तुष्ट रहेका नेता तथा युवा पंक्तिको एउटा हिस्सा उहाँको अभियानमा आकर्षित हुन सक्ने अनुमान गरिएको छ ।
राणाले तत्काल नयाँ दल गठनको घोषणा नगरे पनि उहाँको अपिलले राप्रपा औपचारिक रूपमा विभाजनको संघारमा पुगेको संकेत गरेको छ । अब आगामी दिनमा राणाको अभियानमा कुन-कुन नेता सहभागी हुन्छन् र राप्रपा नेतृत्वले यसलाई कसरी सम्बोधन गर्छ भन्ने विषयले नेपाली राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर