टेक्सास । अमेरिकाको टेक्सासस्थित ड्यालसमा विभिन्न पेशा, व्यवसाय तथा विधामा आबद्ध गैरआवासीय नेपालीहरूको उल्लेखनीय सहभागितासहित ‘हिमालय संवाद’ कार्यक्रम सम्पन्न भएको छ । हिमालय खबर र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) टेक्सास च्याप्टरको संयुक्त आयोजनामा ‘कविता र कितावका कुरा’ शीर्षकमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको दोस्रो सत्रमा ‘नेपाल कहाँ जाँदैछ?’ विषयक छलफलमा वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्माले नेपाल भविष्यप्रति आशावादी धारणा व्यक्त गर्नुभएको छ । उहाँले केही समयअघि देशप्रति निराशा र आक्रोश बढेको भए पनि जेनजी आन्दोलनपछि त्यो वातावरण बदलिँदै विश्वास र आशामा रूपान्तरण भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले देश बन्नेमा आम नागरिक आशावादी छन्।” तर सरकारले जनअपेक्षा पूरा गर्न सक्ने वा नसक्ने कुरा सरकारको कार्यशैलीमा निर्भर रहने उहाँको भनाइ थियो। जनअपेक्षा अत्यधिक भएकाले त्यो नै वर्तमान सरकारका लागि सबैभन्दा ठूलो चुनौती भएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले ‘नयाँ सबै राम्रो र पुराना सबै खराब’ भन्ने धारणा गलत भएको बताउँदै अनुभव र नयाँ ऊर्जाको संयोजनबाट मात्र देश विकास सम्भव हुने धारणा राख्नुभयो । प्रधानमन्त्री बालेन्द्र शाहले राजनीतिक तथा भूराजनीतिक व्यवस्थापन कसरी गर्नुहुन्छ भन्ने कुराले सरकारको सफलता र विकासको गति निर्धारण गर्ने पनि उहाँले टिप्पणी गर्नुभयो ।
कार्यक्रममा पत्रकार तथा लेखक बसन्त बस्नेतले पनि विचार राख्दै पुराना दलका गल्ती दोहोरिन नदिन सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले विगतका सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयलाई सुशासन, जवाफदेहिता र पारदर्शिताको परीक्षणको रूपमा लिन सकिने धारणा व्यक्त गर्नुभयो ।

उहाँले समाजमा फरक मत राख्नेहरूलाई ‘झोले’ जस्ता शब्द प्रयोग गरेर दबाउने प्रवृत्ति विगतमा ‘मण्डले’ संस्कृतिसँग मिल्दोजुल्दो रहेको टिप्पणी गर्नुभयो । साथै प्रधानमन्त्री कार्यालय र सचिवालय अत्यधिक शक्तिशाली हुँदा मन्त्रीहरूको भूमिका कमजोर बनाइएको उहाँको भनाइ थियो ।
कार्यक्रमका सहजकर्ता सञ्जय घिमिरेले गैरआवासीय नेपालीका मुद्दामा सरकार र नेपाली मिडिया अझै अनुदार रहेको गुनासो राख्नुभएको थियो । तर पत्रकार बस्नेतले नेपाली मिडिया समग्रमा गैरआवासीय नेपालीप्रति सकारात्मक रहेको बताउँदै सरकार ढिलोचाँडो ‘एक पटकको नेपाली सधैंको नेपाली’ भावनालाई सम्बोधन गर्न बाध्य हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको पहिलो सत्रमा वरिष्ठ पत्रकार तथा कवि नारायण श्रेष्ठले १४ वटा कविता वाचन गर्नुभएको थियो। उहाँका नयाँ तथा प्रकाशित संग्रहबाट चयन गरिएका कविताहरूले तन्नेरी जीवन, द्वन्द्वकाल, प्रेम, कोरोना महामारी र राजनीतिक विसंगतिलगायत विषय समेटेका थिए ।
वरिष्ठ पत्रकार सञ्जय घिमिरेले कवि श्रेष्ठको प्रस्तुति संवेदनशील र प्रभावशाली रहेको बताउनुभयो। कार्यक्रममा उहाँ स्वयंले ‘प्रेम होस् त यस्तो होस्’ शीर्षकको कविता पनि वाचन गर्नुभएको थियो ।
त्यसैगरी, साहित्यकार भीम कार्की र साहित्यप्रेमी भगवती पौडेलले पनि कवि श्रेष्ठका कविताहरू वाचन गर्नुभएको थियो । वरिष्ठ पत्रकार सन्तोष रिमालले बीबीसीको ‘साझा सवाल’ कार्यक्रमबाट परिचित श्रेष्ठ कविका रूपमा पनि उत्तिकै सशक्त रहेको चर्चा गर्नुभयो ।

कार्यक्रमको तेस्रो खण्डमा केशवराज ज्ञवालीद्वारा लिखित उपन्यास ‘अज्ञात’ बारे छलफल गरिएको थियो । लेखक ज्ञवाली, सञ्जय घिमिरे, नारायण श्रेष्ठ, भीम कार्की र कृष्ण कुसुमलगायतले उपन्यासका विभिन्न पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।
लेखक ज्ञवालीका अनुसार नेपाल एकीकरणकालीन ऐतिहासिक परिवेशमा आधारित उक्त उपन्यास चार वर्षको अध्ययन र अनुसन्धानपछि तयार गरिएको हो ।
कार्यक्रममा कथाकार कृष्ण कुसुमले उपन्यास ‘अज्ञात’ ले बहादुर शाहको भूमिकालाई न्याय गरेको टिप्पणी गर्नुभयो । कार्यक्रममा हिमालय खबरका प्रधानसम्पादक विजय घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोखरेल, सम्पादक रामचन्द्र भट्ट, प्रवन्ध सम्पादक विकासराज न्यौपाने, अनेसास डलास टेक्सास च्याप्टरका अध्यक्ष सुमन काजी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अर्भिङ (टेक्सास) स्थित भेटघाट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा करिब डेढ सयभन्दा बढी गैरआवासीय नेपाली तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध