कालिकोट । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १२ः४५ बजे सुदूरपश्चिम प्रदेश ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप दैलेखस्थित भैरवी गाउँपालिका–४ कालगौंडाको उकालो मोडमा दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार भित्री सडकखण्डमा गुडिरहेको जिपको अचानक ब्रेक फेल भएपछि चालकले नियन्त्रण गुमाउँदा सवारी साधन करिब ४०० मिटर तल खसेको थियो। जिपमा चालकसहित नौ जना सवार रहेका थिए।
दुर्घटनामा शुभकालिका गाउँपालिका–५ का अन्दाजी ३२ वर्षीय चालक कल रोकाया, शुभकालिका–४ का अन्दाजी ३८ वर्षीय नेत्र सुनार तथा शुभकालिका–६ की अन्दाजी ६५ वर्षीया पुल्तीशरा कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा शुभकालिका–६ का अन्दाजी २७ वर्षीय सुमत कामी र १८ वर्षीय भरत विक रहेका छन्। त्यसैगरी शुभकालिका–४ का अन्दाजी २८ वर्षीय कमल सुनार, ३५ वर्षीय चक्र सुनार तथा ३५ वर्षीय नन्दु सुनार घाइते भएका छन्। अन्य एक जना सवारको विवरण खुल्न बाँकी रहेको जनाइएको छ।
घटनास्थलमा खटिएका प्रहरीका अनुसार मृतक र घाइते सबै कालिकोटको शुभकालिका गाउँपालिकाका बासिन्दा हुन्।
दुर्घटनापछि सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा तत्काल उद्धार कार्य गरिएको थियो। स्थानीय युवाहरू समेत घटनास्थलमा पुगेर उद्धारमा सहभागी भएका थिए।
घाइतेहरूलाई उपचारका लागि दुल्लु अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…