अर्जुन प्रधान । सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा व्यक्त गरिएको अभिव्यक्तिका आधारमा भुटानका एक व्यवसायीलाई नौ वर्षको कारावास सजाय सुनाइएपछि अभिव्यक्ति स्वतन्त्रता तथा कानुनी संरक्षणबारे चिन्ता व्यक्त हुन थालेको छ। भुटानको सम्त्से जिल्लाको साङ्गाछोलिङ निवासी करिब ६० वर्षीय धीरज प्रधानलाई फेसबुक लाइभमार्फत सार्वजनिक भएको भिडियोका कारण पक्राउ गरी अदालतले नौ वर्षको जेल सजाय सुनाएको हो । उहाँ गेडुस्थित आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको थियो र स्थानीय स्तरमा विद्यालय, खेलकुद तथा सामाजिक गतिविधिमा सहयोग गर्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो ।
प्रकरणसँग परिचित स्रोतहरूका अनुसार उक्त भिडियो भारतीय पर्यटकहरूको समूहसँग आएका एक गाइडले रेस्टुरेन्टभित्र खिचेका थिए । भिडियोमा पर्यटकले रेस्टुरेन्टमा राखिएका तस्बिरबारे जिज्ञासा राख्दा प्रधानले भुटानमा राजाको तस्बिर राख्ने प्रचलन रहेको र त्यसो नगरे व्यवसायले सजाय भोग्नुपर्ने हुन सक्ने उल्लेख गर्नुभएको थियो ।
उक्त अभिव्यक्तिलाई लिएर भुटानी अधिकारीहरूले प्रधानमाथि राजतन्त्रप्रति अपमानजनक टिप्पणी गरेको तथा ‘त्सा-वा-सुम’ (राजा, राष्ट्र र जनता)को सिद्धान्तविरुद्ध बोलेको आरोप लगाएका थिए । त्यसपछि उहाँमाथि मुद्दा चलाइ अदालतले कारावासको फैसला गरेको हो ।
यस घटनाले भुटानमा अभिव्यक्ति स्वतन्त्रता र संवेदनशील राजनीतिक विषयसँग सम्बन्धित मुद्दाहरूको व्यवस्थापनबारे पुनः बहस सुरु गरेको छ । विदेशमा रहेका प्रधानका आफन्तहरूले मुद्दाको सुनुवाइ क्रममा उहाँले पर्याप्त कानुनी सहायता पाउनुभएको थियो कि थिएनन् भन्ने प्रश्न उठाएका छन् ।
उनीहरूको भनाइमा भुटानमा राजतन्त्रसँग सम्बन्धित मुद्दामा वकिलहरूले पेशागत जोखिमका कारण खुलेर पक्ष लिन हिच्किचाउने अवस्था रहेको छ । मानव अधिकारसम्बन्धी सरोकारवालाहरूले पनि यस घटनाले संवैधानिक अधिकार र नागरिक स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएको बताएका छन् । भुटानले अन्तर्राष्ट्रिय मञ्चहरूमा नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता र कानुनअगाडि समान व्यवहार सुनिश्चित गरिएको दाबी गर्दै आएको भए पनि यो घटना ती दाबीहरूसँग मेल नखाने आलोचना भइरहेको छ ।
यस घटनासँग जोडिएका प्रमुख चिन्ताहरूमा अभिव्यक्ति स्वतन्त्रता, निष्पक्ष कानुनी प्रतिनिधित्वमा पहुँच, कानुनअगाडि समानता र विधिसम्मत प्रक्रिया सुनिश्चितताको विषय रहेका छन् । मानव अधिकारकर्मी तथा भूटानमा राजनीतिक कैदीहरूको रिहाइका लागि ग्लोबल अभियानका ग्लोवल कोअडिर्नेटर/संस्थापक राम कार्कीले प्रधानको कारावासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँको तत्काल रिहाइको माग गर्नुभएको छ । उहाँका अनुसार यो घटनाले भुटानमा नागरिक स्वतन्त्रता र मौलिक अधिकारको संरक्षणबारे गम्भीर प्रश्न खडा गरेको छ ।
हाल प्रधानलाई थिम्पुस्थित चेमगाङ केन्द्रीय कारागारमा राखिएको छ । स्रोतहरूका अनुसार उहाँलाई अन्य राजनीतिक बन्दीहरूबाट अलग राखिएको बताइएको छ। यस घटनाबारे भुटानका आन्तरिक सञ्चारमाध्यमहरूमा सार्वजनिक रूपमा कुनै विवरण नआएको जनाइएको छ भने उहाँका आफन्त तथा समर्थकहरू सम्भावित असरको डरले खुलेर बोल्न हिच्किचाइरहेका छन् ।
यसबीच, भुटानी डायस्पोराका केही समूहहरूले पारदर्शिता, न्यायिक स्वतन्त्रता तथा नागरिक स्वतन्त्रताको सुदृढ संरक्षणको माग तीव्र बनाएका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…