बेइजिङ । चीनको ‘शेन्झोउ-२१’ अन्तरिक्ष अभियानमा सहभागी तीन अन्तरिक्षयात्री झाङ लु, वु फेई र झाङ होङझाङ २१० दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी सकुशल बेइजिङ आइपुग्नुभएको छ । उहाँहरू शुक्रबार साँझ सुरक्षितरूपमा पृथ्वीमा अवतरण गर्नुभएको थियो ।
अन्तरिक्षमा लामो समय बिताएर फर्किनुभएका तीनै जना अन्तरिक्ष यात्रीको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ । साथै, शेन्झोउ-२१ अन्तरिक्ष अभियान पूर्णरूपमा सफल भएको पनि पुष्टि गरिएको छ ।
अभियानका क्रममा उहाँहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । २१० दिनको अन्तरिक्ष बसाइ चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
पृथ्वीमा फर्किएपछि उहाँहरू केही समय चिकित्सकीय निगरानी तथा क्वारेन्टिनमा बस्नुहुने छ । यस अवधिमा विस्तृत स्वास्थ्य परीक्षण, शारीरिक अवस्था मूल्याङ्कन तथा आवश्यक पुनःस्थापना प्रक्रिया सञ्चालन गरिने जनाइएको छ । अन्तरिक्षमा लामो समय बिताउँदा शरीरमा पर्न सक्ने प्रभावको अध्ययनसमेत यस क्रममा गरिने छ ।
सम्बन्धित निकायका अनुसार स्वास्थ्य परीक्षण र विश्राम अवधि सम्पन्न भएपछि उहाँहरूले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो अन्तरिक्ष यात्राका अनुभव तथा अभियानका उपलब्धिबारे जानकारी दिनुहुने छ । शेन्झोउ-२१ अभियानको सफल समापनलाई चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्त्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको छ । रासस/सिन्ह्वा







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…