काठमाडौं । इलाम समाज हङ्कङले स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रकाशित ‘इलाम’ स्मारिकाको तेस्रो अंकलाई रजत जयन्ती विशेषांकका रूपमा सार्वजनिक गरेको छ । विशेषांकमा इलामको देउमाई नगरपालिका–३ स्थित पानीटारलाई चिया पर्यटनको नयाँ गन्तव्यका रूपमा प्राथमिकतासाथ प्रस्तुत गरिएको छ ।
हालै काठमाडौंमा आयोजित स्मारिका सार्वजनिक कार्यक्रममा समाजका अध्यक्ष तथा सम्पादक वसन्त राई (विपिन)ले स्मारिकाको आवरणमा राखिएको पानीटारको तस्वीरले हङ्कङमा विशेष चासो जगाएको बताउनुभयो । उहाँका अनुसार सहभागीहरूले तस्वीर हेरेर ‘यो सुन्दर ठाउँ कहाँ हो ?’ भन्दै जिज्ञासा राखेका थिए । फिक्कल, कन्याम र अन्तुजस्ता चर्चित गन्तव्यभन्दा फरक स्थानलाई यसपटक प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
सल्लाहकार सम्पादक सचित राईले पानीटारलाई कभर स्टोरीका रूपमा प्रस्तुत गर्न निकै मिहिनेत गरेको उल्लेख गर्दै यस क्षेत्रको पर्यटन विकासले इलामको पूर्वी र पश्चिमी भू-भागलाई जोड्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विशेषांकमा इलामका १३ प्रेरक युवाका अन्तर्वार्ता समेटिएका छन् । प्रतिनिधिसभा सदस्य निष्कल राई र सुहाङ नेम्बाङ, राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बा, गायक एकदेव लिम्बु, रंगकर्मी चेतन आङ्थुपो, उसु खेलाडी जुनी राई, लेखक तारा राई, फुटबलर नवयुग श्रेष्ठ, युवा जनप्रतिनिधि उर्गेन बम्जन र बबिन राई, पत्रकार-लेखक वसन्त बस्नेत, ‘द भ्वाइस अफ नेपाल’ विजेता विनोद राई तथा गायिका सुनीता थेगिमलाई विशेषांकमा समेटिएको छ ।
यसैगरी प्रतिनिधिसभा सदस्य निष्कल राई, गणेश पराजुली, सचित राई तथा प्रगतिशील लेखक संघका अध्यक्ष डा.देवी क्षेत्री दुलालका लेख प्रकाशित छन् । साहित्यतर्फ दीपा एवाई, डोम राना, बालिका बान्तावा र सुरेन्द्र योङ्याका सिर्जना समावेश गरिएको छ । हङ्कङमा रहेका इलामेली प्रतिभा तथा संस्थाका गतिविधिसम्बन्धी सामग्री पनि विशेषांकमा समेटिएका छन् ।
स्मारिकाको काठमाडौंमा वरिष्ठ पत्रकार धर्म गौतम, विष्णु निष्ठुरी, विष्णुप्रसाद गौतम, गायक तथा संगीतकार गणेश पराजुली, गायक रोशन गुरुङ र इलाम कलाकार समाजका सचिव थिरज राईलगायतले संयुक्त रूपमा सार्वजनिक गरेका थिए । यसअघि इलाम साहित्य महोत्सवका अवसरमा इलाममा यसको लोकार्पण गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष राईले प्रवासमा रहेका इलामेलीलाई गृहजिल्लासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको स्मरण गराउँदै पर्यटन प्रवर्द्धन, प्रतिभा सम्मान तथा विपद्का बेला सहयोगजस्ता सामाजिक कार्यमा संस्था सक्रिय रहेको बताउनुभयो । वरिष्ठ पत्रकार धर्म गौतमले इलामको पर्यटन विकासका लागि आफूहरूले विगतदेखि नै पहल गर्दै आएको उल्लेख गर्नुभयो भने पत्रकार विष्णु निष्ठुरीले कृत्रिम बुद्धिमत्ता (एआई)को बढ्दो प्रभावबीच सर्जकहरू थप सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा इलाम कलाकार समाजलाई आर्थिक सहयोगसमेत हस्तान्तरण गरिएको थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र