स्वाभीमानी, स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न देशको प्रधानमन्त्रीले सार्वभौम जनताको सर्वोच्च निकाय संसद्मा उभिएर हामीले पनि कुनै छिमेकीको भूमि मिचेका छौं भनेर सगर्व घोषणा गरेको विरलै पाइन्छ । तर हरेकमा नयाँ र क्रमभंगताको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतीय भूमि मिचेको सगर्व उद्घोष गर्नुभयो । आश्चर्य त त्यतिखेर मान्नुपर्छ यस्तो गम्भीर विषयमा भारतसँग महत्त्वपूर्ण सीमा समस्या झेलिरहेको नेपालले म पनि दोषी छु भन्दै वयान दिएकोलाई नेपालका स्वनामधन्य केही बुद्धिजीवी, मूर्धन्य प्रशासकहरू समेत महान् कार्य हो भन्दै प्रशंसा गरिरहेको सुनिन्छ । एकपटक प्रजातान्त्रिक आन्दोलनका नायक राष्ट्रियताबारे नेपाली भाष्यकार बीपी कोइरालाले नियतिको चर्चा गर्दै यदि यो देशको नियतिले विलयनसम्म पुर्याउँछ भने व्यक्तिको केही लाग्दैन भन्नुभएको थियो । अहिले नेपालको नियति विलयनतर्फ उन्मुख भएको जस्तो देखिएको छ । कतिपय घोर राष्ट्रवादका प्रवक्ताहरू, पुराना कतिपय सेनाका माथिल्ला तहमा बसिसकेकाहरू समेत नेपालले भारतीय भूमि मिचेकै हो भन्ने आश्चर्य लाग्दो तर्क गरिरहेको र दशगजादेखि सीमा क्षेत्रका नागरिकहरूले वारिपारि आफ्नो खेतबारीमा धान रोपेको जस्ता प्रमाण प्रस्तुत गरिरहेको देखिन्छ । यो भन्दा अरू कुनै शिरनिहुराउने कुरा के हुन्छ होला ?
तर यही अभिव्यक्तिका कारण प्रधानमन्त्री साह विवादको घेरामा तानिनुभएको छ । दुई महिनासम्म संसद्का अनेक अनिवार्य सम्बोधन छल्दै आउनु भएका प्रधानमन्त्री साह अकस्मात्, नाटकीय रूपले विनापूर्वसूचना, संसद्को नियमावलीलाई समेत भंग गर्दै रोष्ट्रममा पुग्नु भयो । उहाँले लिपुलेक, लेक लिम्पियाधुरा र कालापानीको प्रसंगमा भारतलेमात्रै होइन नेपालले पनि भारतीय भूमि मिचेको जानकारी दिनुभयो र यस विषयमा बेलायतसँग समेत संवाद हुने अर्को थप प्रसंग जोड्नुभयो । चीन र भारत मिलेर नेपालको सुदूरपश्चिमको सीमा क्षेत्र अतिक्रमण गरेका छन् । उनीहरूसँगका सम्वाद असफल भएमा मात्रै सुगोली सन्धि गर्ने र ०४७ मा भारतबाट विस्थापित शक्ति बेलायतसँग समेत आवस्यक परामर्श र जानकारी लिने पर्ने अवस्थामा अब चीन र भारतकाबीचमा उहाँले बेलायतलाई समेत एकैपटक जोड्नु भएको छ । अज्ञानता भनौं भने त्यति धेरै पढालिखाहरू छन्, तर देशको सर्वोपरि स्वार्थविपरित कसरी यस्तो वाक्य बोल्नुभयो प्रधानमन्त्रीजीले तत्काल जवाफ दिनु जरुरी छ । यो देश बालेन वा रास्वपाको मात्रै होइन बाँकी नेपालीको पनि हो भन्ने बिर्सनु हुँदैन ।
सभामुख अर्यालले पटकपटक गरेको अनुरोधलाई अस्वीकारेर लामो समय अटेर गर्नुभएका प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा संसद्को रोष्ट्रममा सीमा विवादबारे बोल्न किन प्रेरित हुनुभयो यो प्रश्न करौंडोको हुनसक्छ । अनौपचारिक समय, अनौपचािरक पोशाकमा रोष्ट्रममा उभिए पनि उत्तर अनौपचारिक थिएनन् । तर औपचारिक उत्तर दिँदा तर्क, प्रमाण र कुनै ऐतिहासिक तथ्य हुनुपर्छ भन्ने उहाँमा कुनै हेक्का रहेको देखिएन । प्रधानमन्त्री साहले संसद्मा उभिएर दाबी गरेजस्तो नेपालले भारतको सिमाना मिचेको भन्ने दाबी भारतले समेत गरेको छैन । राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डताको विरुद्धको उहाँको यो अभिव्यक्ति सामान्य होइन ।
सायद प्रधानमन्त्रीको यो भनाइ नेपालका लागि असामान्य भएको हुनाले नै भारतीय कूटनीतिका ज्ञाता, राजनीतिशास्त्री प्रा.एस्.डी.मुनिले सामाजिक सञ्जालमार्फत् बालेन साहलाई तुरुन्तै बधाई दिनुभयो र अत्यन्त प्रश्ांसा गर्नुभयो । यद्यपि उहाँले तेस्रो पक्षका बारेमा असहमति जनाउनु भएको छ । नेपालको भूमिलाई अनधिकृत रूपमा आफ्नो दाबी गर्दै प्रयोग गरिरहेको भारतका प्रधानमन्त्रीले यदि बालेनकै शैलीमा भारतले नेपालको भूमि मिचेको छ भनेर संसद्मा बोल्नुभएमा सायद उहाँलाई राष्ट्रद्रोहको अभियोग लागिसक्ने थियो होला । संसद् चल्ने वा पार्टीले जिम्मा लिने विषय हुनेथिएन । तर नेपालमा जे पनि हुन्छ र जस्तो पनि हुन्छ । ठूला विद्वानहरू कुनै अखबारको पाना पोष्ट गरेर प्रधानमन्त्रीको राष्ट्रविरोधी भनाइलाई सही सिद्ध गर्न न्वारानदेखिको बल प्रयोग गरिरहनु भएको छ ।
एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीका रूपमा उभिएको व्यक्तिले आफ्नै देशले अर्काको भूमि मिचेको भनेर दाबी गर्नु कसरी सामान्य कुरा हुनसक्छ ? यो केटाकेटीको खेल पनि होइन । झण्डै दुईतिहाइको बहुमतको निकटको सरकारको प्रतिनिधित्व गरिरहनु भएका प्रधानमन्त्रीले यस प्रकारको जुन अभिव्यक्ति दिनुभयो त्यो धेरै गम्भीर विषय हो । तर केही त्यस्ता अपवादबाहेक कूटनीति बुझेका, सीमाविज्ञहरू, कानुनका ज्ञाता, व्याख्याता र विश्लेषकलगायतका व्यक्तिहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको तुरुन्तै खण्डन गरेका छन् । यस्तो राष्ट्रघाती अभिव्यक्ति दिइरहँदा प्रधानमन्त्री कुन मानसिक अवस्थामा हुनुहुन्थ्यो त्यो पनि एउटा गम्भीर प्रश्न हो ।
अंग्रेज शासन समाप्त भएर उनीहरू फर्किने बेलामा भारत विभाजन भएको थियो । हिन्दुस्थान र पाकिस्तानमा विभाजित भएपछि प्रतिस्पर्धी मुलुकका रूपमा यी दुवै रहँदै आएका छन् । सामरिक शक्तिमा समेत भारतसँग टक्कर गर्नसक्ने दक्षिण एसियामा कुनै मुलुक छैन । पाकिस्तान केही खोचे थापिरहन्छ तर समर्थ छैन । तैपनि आफ्नो सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रियताका कुरामा सबैले स्वाभिमान जोगाउने प्रयास गरिरहेकै छन् । नेपालका धेरै ठाउँमा भारतले सीमा अतिक्रमण गर्दै आएको छ ।
पछिल्लो चरणमा नेपालको भूमिबाट भारत र चीनले व्यापारिक सम्झौता गरी बाटो बनाएको विषयलाई नेपालले विरोध जनाउँदै आएको छ तर अहिलेसम्म चर्चामा नआएको विषयमा प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभएको छ । नेपालले भारतको भूमि मिचेको भन्ने कुरा जुन गरिमामय संसद्मा उभिएर उहाँले बताउनुभयो यदि त्यस्तो भएको थियो भने पनि प्रधानमन्त्रीबाट त्यस्तो अभिव्यक्ति आउनु नहुने अवस्थामा उहाँले हुँदै नभएको कुरालाई त्यसरी अभिव्यक्त गर्नु आत्मघाती अभिव्यक्ति हो । भारतले नै दाबी नगरिरहेको विषयमा प्रधानमन्त्रीले किन यस्तो बोल्नुभयो त्यो अनुसन्धानको विषय बन्नपुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उहाँलाई तुरुन्त स्पष्टीकरण लिने वा कारबाही अगाडि बढाउनुपर्नेथियो । तर आश्चर्यको विषय हो एकजना सांसद पनि राष्ट्रियताका पक्षमा बोल्ने आँट गरिरहनु भएको छैन ।
लोकप्रियताको आँधीबेहरीमा दुईतिहाइ निकटको बहुमत प्राप्त गर्नुको अर्थ साहलाई जे पनि बोल्न छुट दिनु पक्कै होइन । एउटा परिधि, सीमा, मर्यादा र कूटनीतिक दायराभित्र रहेरमात्र आफ्ना अभिव्यक्ति दिनुपर्ने हुन्छ । प्रधानमन्त्री जस्तो व्यक्तिले बोलेको विषय हलुका हुँदैन । त्यसैकारण कूटनीतिज्ञ नीलाम्बर आचार्य, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, कानुनका ज्ञाता भीमार्जुन आचार्यहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पछि तुरुन्तै त्यसको खण्डन गरेर आफ्ना विचार सार्वजनिक गर्नुभयो । प्रतिपक्षी दलहरूले पनि उहाँको भनाइको आधार, प्रमाण र स्पष्टीकरण खोजिरहेका छन् । विद्यार्थीहरू विरोधमा सडकमा उत्रिसकेका छन् तर अहिलेसम्म उहाँको पार्टी बोलेको छैन । के राष्ट्रिय स्वतन्त्र पार्टीले पनि नेपालले भारतको सिमाना मिचेको छ भनेर स्वीकार गरेको हो ? यो प्रश्नकासाथ हामी प्रधानमन्त्रीले दिनुभएको नेपालले पनि भारतीय भूमि मिचेको छ भन्ने भनाइको निन्दा गर्दछौं र चुनौती दिन्छौं आफ्नो भनाइलाई प्रमाणित गर्नुहोस् कि सत्ता छाड्नुहोस् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र