कुनै पनि जिम्मेवारी दिन छान्नु जान्नेलाई, अर्ती दिनु मान्नेलाई र पद दिनु धान्नेलाई भन्ने लोक-उक्ति अक्षरहरूको संरचनामात्र होइन, यो त पुर्खाहरूको चेतना, इतिहास र अनुभूतिको जीवित बिउ हो । एउटा सूक्ष्म बिउभित्र विशाल वटवृक्ष लुकेको हुन्छ, हरेक अर्थपूर्ण शब्दको गर्भमा जीवन जिउने अचूक दर्शन लुकेको हुन्छ । शब्दले अज्ञानताको अन्धकारलाई चिरेर विवेकको दियो बाल्छ । यसले संसार बुझ्ने दृष्टि दिन्छ । शब्द केवल ओठको बोली होइन, संस्कार र आचरण हो । जानेका सुन्दर शब्द, अर्तीहरूलाई जीवनमा उतार्नु अनुशासनमा बाँधिनु हो । शब्द एकपटक बोलेपछि आफैं प्रतिबद्धता बन्छ । संकट, समय र चुनौतीबीच आफ्नो कर्तव्य र पदको गरिमालाई बचाइराख्नु शब्दलाई धान्नु हो ।
शब्द ब्रह्म हो, यसको गर्भमा लुकेको दर्शनले भन्छ जीवनमा राम्रा कुराहरू जान । जानेका मूल्य–मान्यता मान र मानेका जिम्मेवारी अन्तिमसम्म धान । नेपाली माटोको सुगन्धबाट प्रष्फुटित भएका हाम्रा लोक-उक्ति र उखान केवल तुकबन्दीमात्र होइनन्, यी पुर्खाहरूले इतिहासको भट्टीमा खारिएर, अनुभवको कसीमा घोटेर र जीवनको आरोह-अवरोह पार गरेर निकालेका शाश्वत सत्य हुन् । हामी भन्छौं ‘छान्नु जान्नेलाई, अर्ती दिनु मान्नेलाई र पद दिनु धान्नेलाई’ तब शब्दको एउटा सानो झ्यालबाट मानव सभ्यता, कुशल व्यवस्थापन, सामाजिक न्याय र आत्मिक रूपान्तरणको एउटा बृहत् ब्रह्माण्ड देखापर्छ ।
समाज वा देश चलाउन नीति-निर्माण गर्ने ठाउँमा बौद्धिक, दूरदर्शी मानिस छानिनुपर्छ । कुपात्र छनोटले निम्त्याउने संकटबाट वर्तमान समाज किन प्रताडित छ ? यस विषयमा घोत्लनु पर्छ । यदि भावनामा बगेर नातावाद, कृपावादको चश्मा लगाएर अज्ञानी व्यक्तिलाई महत्त्वपूर्ण ठाउँमा छान्यौं भने परिणाम विनाशकारी हुन्छ ।
यो उक्ति मानव जीवनको त्रिकोणात्मक महादर्शन हो । योग्यता, अनुशासन र उत्तरदायित्वको गहिरो कडीलाई उनेको छ । जान्ने, मान्ने र धान्ने, यी तीन क्रियापदहरूले मानिसको बौद्धिक, मानसिक र व्यावहारिक क्षितिजलाई प्रष्ट्याउँछन् । मानव सभ्यताको पहिलो खुड्किलो र चेतनाको हो । संसारमा अज्ञानता जस्तो ठूलो अन्धकार अर्को केही छैन र ज्ञानजस्तो प्रकाश अर्को केही हुनसक्दैन ।
नीति-नियम बनाउनु, कुनै जिम्मेवारी दिनु वा जटिल समस्याको समाधान खोज्नु र भविष्यको रूपरेखा कोर्नु पर्दा सधैं जान्ने मान्छेलाई छान्नुपर्छ । भनिन्छ, ‘अन्धाले अन्धालाई बाटो डोहोर्यायो भने दुबै खाडलमा खस्नसक्ने सम्भावना प्रबल हुन्छ । योग्यता र विज्ञताको कदर गर्ने संस्कार र संस्कृतिबिना समाज न सभ्य हुन्छ न विकसित नै । जसले विषयवस्तुको गहिराइ बुझेको छ उसैले मात्र सही र गलतको भेद छुट्याउन सक्छ ।
समाज वा देश चलाउन नीति-निर्माण गर्ने ठाउँमा बौद्धिक, दूरदर्शी मानिस छानिनुपर्छ । कुपात्र छनोटले निम्त्याउने संकटबाट वर्तमान समाज किन प्रताडित छ ? यस विषयमा घोत्लनु पर्छ । यदि भावनामा बगेर नातावाद, कृपावादको चश्मा लगाएर अज्ञानी व्यक्तिलाई महत्त्वपूर्ण ठाउँमा छान्यौं भने परिणाम विनाशकारी हुन्छ । एउटा नजान्ने पाइलटको हातमा जहाज सुम्पिँदा जति खतरा हुन्छ, एउटा नजान्ने र अदूरदर्शी मानिसको हातमा राजननीतिको र समाजको बौद्धिक नेतृत्व सुम्पिँदा त्यसभन्दा कयौं गुणा बढी खतरा हुन्छ ।
ज्ञान हुनुमात्र जीवन पूर्ण हुनु होइन । कतिपय मानिसहरू धेरै कुरा जान्दछन् तर उनीहरूमा अहंकारको पहाड हुन्छ । कसैको कुरा सुन्दैनन् र आफ्नै गल्तीहरू सच्याउन तयार हुँदैनन् । त्यस्ता मानिसका लागि दिइने अर्ती वा सल्लाह बालुवामा पानी हाले सरह हुन्छ ।
अर्ती भनेको अनुभवको निचोड हो । जीवनको हितोपदेश हो र सही मार्गमा हिँड्ने प्रेरणा हो । जसले आफ्नो कमीकमजोरी स्वीकार गर्छ र अरूको राम्रो सल्लाहलाई जीवनमा उतार्न तयार हुन्छ उसैलाई दिएको अर्तीले सार्थक परिणाम दिन्छ । हामी जान्दछौं, सत्य बोल्नुपर्छ । अरूको भलाइ गर्नुपर्छ । अनुशासित हुनुपर्छ । यो हाम्रो जान्ने पाटो भयो तर व्यवहारमा लागू गरेका छौं ?
पद दिनु धान्नेलाई भन्नुको अर्थ हो जिम्मेवारी, निष्ठा र नेतृत्वको यो त्रिकोणात्मक दर्शनको सबैभन्दा अहम्, गम्भीर र शक्तिशाली कडी हो पद दिनु धान्नेलाई । आजको विश्व र विशेषगरी हाम्रो आफ्नै समाजले भोगेको सबैभन्दा ठूलो संकट नै यही बिन्दुमा आएर ठोकिन्छ । हामीकहाँ पद पाउन मरिहत्ते गर्नेहरूको लर्को छ तर पद पाएपछि त्यसलाई धान्न सक्नेहरूको नितान्त खडेरी छ ।
पद भनेको अधिकारमात्र होइन, यो दायित्व र जिमेवारीको भारी हो । फेरि विलासिताको साधन होइन । पद जिम्मेवारीको एउटा गह्रौं भारी हो । धान्नुको अर्थ हुन्छ । सम्हाल्नु, जोगाउनु, धान जस्तै फलाउनु र संकटको आँधीबेहरीमा अडिग रहेर रक्षा गर्नु । जसरी एउटा जग बलियो भयो भनेमात्र विशाल महल ठडिइरहन्छ त्यसैगरी नेतृत्वमा बस्ने मानिसको चरित्र र क्षमता बलियो भयो भनेमात्र पदको गरिमा जोगिन्छ ।
धान्न सक्ने र नसक्ने बीचको फरक के ? यदि कुनै काँचो, अस्थिर वा स्वार्थी मानिसलाई ठूलो पद दियो भने ऊ पदको मातले मात्तिन्छ । उसले आफ्नो धरातल बिर्सिन्छ । अधिकारको दुरुपयोग गर्छ र अन्ततः आफू पनि डुब्छ र आफूसँगै सिंगो संस्था वा देशलाई पनि डुबाउँछ । धान्ने व्यक्ति त्यो हो जो पदमा पुग्दा कहिल्यै मात्तिँदैन र पदबाट बाहिरिँदा कहिल्यै आत्तिँदैन । उसमा पहाड जस्तो धैर्य, समुद्र जस्तो गम्भीरता र धर्ती जस्तो सहनशीलता हुन्छ । दुःख, सुख, आलोचना र संकटका बीचमा उसले आफ्नो कर्तव्यको डुंगालाई किनारमा पुर्याएरै छोड्छ । भनिन्छ नि सम्बन्ध गाँस्न त सजिलो छ तर धान्न गाह्रो छ । पद पाउन त सजिलो छ तर त्यसको गरिमा धान्न महागाह्रो छ ।
जान्ने, मान्ने र धान्ने यी तीनवटा शब्द अलग-अलग देखिए पनि यिनीहरू एउटै जीवन्त दर्शनका तीनवटा अवयव हुन् । यिनीहरूलाई छुट्याएर हेरियो भने समाज एकांगी बन्छ । यसको अन्तरसम्बन्धलाई हामी एउटा सुन्दर चक्रका रूपमा बुझ्न सक्छौँ । ज्ञान अर्थात् जान्ने गुणले हामीलाई दृष्टि दिन्छ । यो हाम्रो आँखा हो । मान्ने अर्थात् स्वीकारोक्तिको गुणले चरित्र र अनुशासन दिन्छ । यो हाम्रो हृदय हो । क्षमता र निष्ठा अर्थात् धान्ने गुणले हामीलाई स्थायित्व र शक्ति दिन्छ । यदि कसैले धेरै कुरा जान्दछ तर असल अर्ती र नियम मान्दैन भने उसको ज्ञान समाजका लागि घातक हुनसक्छ । जस्तै एउटा भ्रष्ट बुद्धिजीवी वा अपराधी वैज्ञानिक ।
हितैषीले दिने अर्ती र कानुनलाई मान्न छोडेर स्वेच्छाचारितालाई प्रश्रय दिइरहेका छौं । सबैभन्दा दुःखद् कुरा, आज योग्यता, निष्ठा, संकट धान्ने क्षमता नभएका मानिसका हातमा पद र शक्ति सुम्पिरहेका छौं । परिणामस्वरूप संस्था थला परेका छन्, मूल्य–मान्यता भत्किएका छन् र आमजनतामा निराशा छाएको छ ।
यदि कसैले नियम त मान्छ तर उसमा ज्ञान अर्थात् जान्ने क्षमता छैन र परिस्थितिलाई धान्ने सामर्थ्य छैन भने ऊ एउटा असल नागरिक बन्नसक्छ तर कुशल नेता बन्न सक्दैन । यदि कोही पद धान्नमात्र खोज्छ तर न त उसमा ज्ञान छ न त कसैको अर्ती मान्ने विनम्रता छ भने ऊ तानाशाह बन्छ । एउटा समुन्नत समाज निर्माणका लागि यी तीनै गुणहरूको सही संयोजन र कदर हुन जरुरी छ ।
वर्तमान समयमा हाम्रो समाज र राजनीतिमा जुन किसिमको अस्थिरता, नैतिक पतन र कुशासन देखिएको छ त्यसको मूल कारण हामीले यो पुर्ख्यौली दर्शनलाई बिर्सिनु हो । आज हामीले जान्नेहरूलाई पाखा लगाएर चाकडी र चाप्लुसी गर्नेहरूलाई छानिरहेका छौं ।
हितैषीले दिने अर्ती र कानुनलाई मान्न छोडेर स्वेच्छाचारितालाई प्रश्रय दिइरहेका छौं । सबैभन्दा दुःखद् कुरा, आज योग्यता, निष्ठा, संकट धान्ने क्षमता नभएका मानिसका हातमा पद र शक्ति सुम्पिरहेका छौं । परिणामस्वरूप संस्था थला परेका छन्, मूल्य-मान्यता भत्किएका छन् र आमजनतामा निराशा छाएको छ । यदि हामीले समाजलाई पुनर्जीवन दिने हो भने पुनः यसै दर्शनमा फर्कनुपर्नेछ । विद्यालयदेखि संसद्सम्म, घरको चुल्होदेखि देशको सिंहदरबारसम्म यो नीति-वाणीलाई व्यवहारमा लागू गर्नुको विकल्प छैन ।
शब्दहरू आफैंमा जीवित हुँदैनन्, तिनलाई हाम्रो आचरणले जीवन्त बनाउँछ । जान्ने, मान्ने र धान्नेको यो कथा वास्तवमा प्रत्येकको जीवनको कथा हो । आफ्नो जीवनमा सधैं नयाँ र उपयोगी कुराहरू जान्ने प्रयास गर्नुपर्छ । जानेका कुराहरू र मान्यजनका अमूल्य अर्तीहरूलाई शिरोधार्य गर्दै ती अमूल्य अर्तीलाई आफ्नो आचरण र व्यवहारमा अनुवाद गर्नुपर्छ । राज्यले, समाजले सुम्पिएका पारिवारिक, सामाजिक र राष्ट्रिय जिम्मेवारीका पदलाई दृढतापूर्वक धान्नुपर्छ । जसले ज्ञानको कदर गर्दै जान्नेलाई छान्छ । जसले विनम्र बन्दै अर्तीलाई मान्छ र जसले धैर्यवान् बन्दै कर्तव्य र पद धान्छ, उसैको जीवन सार्थक हुन्छ र उसैले नेतृत्व गरेको समाज समृद्ध बन्छ ।
पुर्खाहरूको यो अजम्बरी वाणीलाई केवल एउटा उखानको रूपमा मात्र होइन, जीवन जिउने र समाज बदल्ने एउटा अचूक र जीवन्त महादर्शनको रूपमा अंगीकार गर्नु आजको साँचो आवश्यकता हो । जीवनको सार्थकता नै जान्नु, मान्नु र धान्नुको सन्तुलनमा छ । राम्रा कुरा जान्नु दृष्टि हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र