न्युयोर्क । फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिनाले आगामी सन् २०२६ को विश्वकप फुटबलमा खेलको गतिलाई सुस्त बनाउने र समय खेर फाल्ने रणनीतिलाई निरुत्साहित गर्न धेरै नयाँ र कडा नियमहरू लागू गरिने घोषणा गर्नुभएको छ । जसअन्तर्गत अब मैदानमा गोलकिपर घाइते भएको बहानामा खेलाडीहरू प्राविधिक क्षेत्र अर्थात् टचलाइनमा गएर प्रशिक्षकसँग रणनीति बनाउन पाउने छैनन् । यसका साथै इन्टरनेसनल फुटबल एसोसिएसन बोर्डले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को प्रोटोकलमा पनि महत्त्वपूर्ण परिवर्तन गर्न स्वीकृति दिएको छ, जसअनुसार अब कर्नर वा फ्री–किकको बल खेलमा आउनुअघि आक्रमणकारी टोलीले गर्ने फाउललाई पनि भिएआरले पुनरवलोकन गर्न सक्नेछ ।
हालका वर्षहरूमा ‘गोलकिपर रणनीतिक टाइम आउट’ फुटबलमा एक ठूलो विवादको विषय बनेको छ, जहाँ विपक्षी टोलीको लय बिगार्न वा आफ्ना खेलाडीलाई नयाँ निर्देशन दिन प्रबन्धकहरूले यसको चलाखीपूर्ण प्रयोग गर्ने गरेका छन् । गत नोभेम्बरमा लिड्स युनाइटेडका प्रशिक्षक ड्यानियल फार्कले म्यानचेस्टर सिटीका गोलकिपर जियानलुइजी डोनारुम्मामाथि नियमको दुरूपयोग गर्दै समय खेर फाल्न चोटको नाटक गरेको आरोपसमेत लगाउनुभएको थियो ।
यस्तो रणनीतिमा गोलकिपर मैदानमा लडेर फिजियोलाई बोलाउँछन् र अन्य खेलाडीहरू प्रशिक्षकसँग कुरा गर्न टचलाइनमा दगुर्छन् भने प्रशिक्षकले निर्देशन दिइसकेपछि गोलकिपर तुरुन्तै उठेर खेल्न तयार हुन्छन् । यस समस्यालाई समाधान गर्न अमेरिकाको महिला व्यावसायिक लिगले यसअघि नै गोलकिपर घाइते हुँदा दुवै टोलीका खेलाडीहरू मैदानमै बस्नुपर्ने वा सेन्टर सर्कलमा जम्मा हुनुपर्ने नियम ल्याइसकेकोमा फिफाले पनि विश्वकपमा यही नियम लागू गर्दै खेलाडीहरूलाई टचलाइनमा जान रोक लगाउने निर्णय गरेको हो ।
रेफ्री प्रमुख कोलिनाका अनुसार ४८ वटै टोलीका प्रशिक्षकहरूसँगको कार्यशालामा यसबारे जानकारी गराइसकिएको छ र गोलकिपर घाइते हुन सक्ने भए पनि अन्य खेलाडीहरूलाई मैदान छोडेर प्रशिक्षकसँग टाइमआउट लिने अधिकार नभएको स्पष्ट पारिएको छ ।
यसैगरी कोलिनाकै अनुरोधमा परिमार्जन गरिएको भिएआर प्रोटोकलअनुसार अब कर्नर वा फ्री-किक प्रहार हुनुभन्दा ठीक अगाडि आक्रमणकारी टोलीले डिफेन्डरलाई रोक्न गैरकानुनीरूपमा ब्लक गरेमा वा फाउल गरेमा भिएआरले गोल वा पेनाल्टी खारेज गर्न सक्नेछ । गत मार्चमा वेम्बलीमा इंग्ल्याण्ड र उरुग्वेबीच भएको खेलमा कोल पाल्मरले कर्नर प्रहार गर्नुअघि नै एडम ह्वार्टनले उरुग्वेका डिफेन्डर जोसे मारिया जिमेनेजलाई ब्लक गरेका कारण बेन ह्वाइट गोल गर्न सफल हुनुभएको थियो, जसलाई पुरानो नियम अनुसार भिएआरले हेर्न मिल्दैनथ्यो ।
अब नयाँ नियमअनुसार यस्तो अवस्थामा कर्नर पुनः प्रहार गर्न निर्देशन दिइनेछ, तर यो नियम डिफेन्डरले गर्ने फाउलमा भने लागू हुने छैन ।
खेललाई थप अनुशासित बनाउन विपक्षी खेलाडी वा खेल अधिकारीसँग विवाद गर्दा हात, पाखुरा वा जर्सीले मुख छोपेमा खेलाडीले सिधै रातो कार्ड पाउने नियम पनि थपिएको छ । गत फेब्रुअरीमा च्याम्पियन्स लिगको खेलमा बेन्फिकाका विङ्गर जियानलुका प्रेस्टियानी र रियल म्याड्रिडका विनिसियस जुनियरबीच मुख छोपेर भएको विवादपछि यो कडा नियम ल्याइएको हो, जसमा प्रेस्टियानीले समलिङ्गी दुर्व्यवहार गरेको भन्दै युइएफएले प्रतिबन्धसमेत लगाएको थियो ।
खेलको समय बचाउन र समय खेर फाल्ने प्रवृत्ति रोक्न विश्वकप २०२६ मा अन्य केही महत्त्वपूर्ण काउन्टडाउन नियमहरू पनि लागू गरिँदै छन् । अब कुनै खेलाडीले नियतवश थ्रो-इन गर्न पाँच सेकेण्डभन्दा बढी ढिलाइ गरेमा थ्रो-इनको अवसर विपक्षी टोलीलाई दिइनेछ भने गोल-किक लिन पाँच सेकेण्डभन्दा बढी समय खेर फालेमा विपक्षी टोलीलाई कर्नर किक प्रदान गरिनेछ ।
मैदानबाट बाहिरिने खेलाडीले सबैभन्दा नजिकको बिन्दुबाट १० सेकेण्डभित्र मैदान छोड्नुपर्नेछ र यदि उनीहरू असफल भएमा प्रतिस्थापन खेलाडी कम्तीमा १ मिनेटसम्म मैदान पस्न पाउने छैनन्, जसले गर्दा टोलीले १० खेलाडीमा खेल्नुपर्ने बाध्यता हुनेछ । मैदानमा फिजियोबाट उपचार गराएका खेलाडीले कम्तीमा ६० सेकेण्ड मैदानबाहिरै बस्नुपर्ने नियम बनाइएको छ, यद्यपि गोलकिपरको चोट वा विपक्षी खेलाडीले कार्ड पाएको अवस्थामा भने यो लागू हुने छैन ।
यसका साथै भिएआरले कर्नर सही रूपमा दिइएको हो वा होइन भनेर खेल पुनः सुरु हुनुअघि द्रुत रूपमा जाँच गर्न सक्नेछ भने दुईवटा पहेँलो कार्ड पाएर रातो कार्ड खाएका खेलाडीको हकमा दोस्रो पहेँलो कार्ड सही थियो कि थिएन भनी भिएआरले पुनः जाँच गर्न सक्ने व्यवस्था मिलाइएको छ । एजेन्सी






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर