दुबई । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्रिकेट क्यानडाको सदस्यता निलम्बन गरेको छ । क्यानडा क्रिकेट बोर्डले सदस्यताका नियमहरू र आफ्ना जिम्मेवारीहरूको उल्लंघन गरेका कारण आइसिसीले यो कडा कदम चालेको हो । आइसिसीको जुन १ मा अहमदाबादमा बसेको वार्षिक बैठकमा यो निर्णय लिइएको हो । यद्यपि, आइसिसीले बोर्डको कमजोरी र आन्तरिक विवादको सजाय त्यहाँका खेलाडीहरूले भोग्नु नपर्ने स्पष्ट पारेको छ ।
आइसिसीले निलम्बनको अवधिमा पनि क्यानडाको राष्ट्रिय क्रिकेट टोलीले आइसिसीका आधिकारिक प्रतियोगिताहरूमा भाग लिन पाउने पुष्टि गरेको छ । काउन्सिलको मान्यताअनुसार जुन कुरामा खेलाडीहरूको कुनै नियन्त्रण हुँदैन, त्यसका लागि उनीहरूलाई सजाय दिनु उचित हुँदैन । खेलाडीहरूको खेल र तयारीमा कुनै अवरोध नआओस् भन्न क्रिकेट क्यानडाले आइसिसीबाट पाउने आर्थिक सहयोग जारी रहनेछ । तर, यसपटक फन्डिङको व्यवस्थापन र वितरण पूर्णरूपमा आइसिसीको प्रत्यक्ष नियन्त्रणमा हुनेछ र यो रकम केवल स्वीकृत राष्ट्रिय टोलीका कार्यक्रमहरूका लागिमात्र खर्च गर्न पाइनेछ ।
क्रिकेट क्यानडा विगत केही समयदेखि सुशासन र इमानदारितासँग जोडिएका विभिन्न विवादहरूमा फस्दै आएको छ । विगत दुई वर्षमा यो बोर्ड खेलभन्दा बढी विवादका कारण चर्चामा रह्यो । यसमध्ये एउटा ठूलो मामला टी-२० विश्वकप २०२६ मा क्यानडा र न्युजिल्याण्डबीच खेलिएको खेलसँग जोडिएको छ, जसको अनुसन्धान अहिले पनि आइसिसीको एन्टी करप्सन युनिटले गरिरहेको छ ।
बोर्डका सामु अर्को ठूलो संकट पूर्वमुख्य प्रशिक्षक खुर्रम चौहानसँग जोडिएर आएको छ । गत वर्ष एउटा अडियो रेकर्डिङ सार्वजनिक भएको थियो, जसमा चौहानले क्रिकेट क्यानडाका वरिष्ठ अधिकारीहरूले राष्ट्रिय टोलीमा आफ्ना मनपर्ने खेलाडीहरूलाई समावेश गराउन दबाब दिएको आरोप लगाउनुभएको थियो । साथै, खेलहरूलाई फिक्स गर्ने प्रयास गरिएको कुरा पनि उक्त कुराकानीमा उल्लेख भएपछि आइसिसीको इन्टिग्रिटी अधिकारीहरूले यसको गम्भीर छानबिन सुरु गरेका थिए ।
आइसिसीले क्रिकेट क्यानडाको यो निलम्बन स्थायी नभएको स्पष्ट पारेको छ । सदस्यता फुकुवा गर्न र पुनः बहाल हुनका लागि आइसिसीले बोर्डका सामु केही शर्तहरू राख्नेछ । बोर्डमा आवश्यक सुधार र परिवर्तनहरू ल्याउनका लागि आइसिसीको नर्मलाइजेसन कमिटी र आइसिसी व्यवस्थापनले संयुक्त रूपमा निगरानी राख्नेछन् र आवश्यक गभर्नेन्स रिफर्म्सबाट पूर्णरूपमा सन्तुष्ट भएपछि मात्र सदस्यता बहाल गरिनेछ । एजेन्सी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र