काठमाडौं । नेपाली महिला फुटबल टोली आज (बुधबार) दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध मैदान उत्रँदा केवल साफ महिला च्याम्पियनसिप २०२६ को फाइनल यात्राका लागिमात्र प्रतिस्पर्धा गर्ने छैन, विगतका दुई फाइनलको पीडा बिर्साउने अवसरको खोजीमा पनि हुनेछ । गोवास्थित बेम्बोलिन एथलेटिक्स स्पोर्ट्स ग्राउण्डमा मंगलबार बिहान अन्तिम अभ्यास पूरा गरेको नेपाली टोली सेमिफाइनलका लागि पूर्ण तयारीमा रहेको प्रशिक्षक नवीन न्यौपानेले बताउनुभएको छ । उहाँका अनुसार यो खेल नेपाली महिला फुटबलकै लागि अत्यन्त महत्त्वपूर्ण मोड हो ।
नेपाल पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसैले धेरै समर्थकले यस खेललाई ‘बदला लिने अवसर’ का रूपमा हेरेका छन् । यस खेलका लागि मिडफिल्डर प्रीति राई गोवा पुग्नुभएको छ । कम्बोडियाबाट सोमबारमात्र गोवा पुग्नुभएकी प्रीति मंगलबारको प्रशिक्षणमा सहभागी हुनुभएको थियो । उहाँ सेमिफाइनलमा सुरुदेखि मैदान उत्रने सम्भावना रहेको छ । प्रीति र रेनुका नगरकोटेको संयोजनले नेपाली मध्यपंक्तिलाई थप सन्तुलित र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
उता बंगलादेशका प्रशिक्षक पिटर बलटरले पनि समूह चरणको खेलपछि नेपालविरुद्धको प्रतिस्पर्धा रोमाञ्चक हुने प्रतिक्रिया दिनुभएको छ । दुवै टोलीबीच पछिल्ला वर्षहरूमा विकसित भएको प्रतिस्पर्धाले सेमिफाइनललाई प्रतियोगिताकै सबैभन्दा आकर्षक भिडन्तका रूपमा स्थापित गरेको छ ।
नेपालका लागि यो खेल केवल फाइनलको टिकट प्राप्त गर्ने अवसरमात्र होइन, दक्षिण एसियाली महिला फुटबलमा आफ्नो प्रभुत्व स्थापित गर्ने अर्को महत्त्वपूर्ण परीक्षा पनि हो । विगतका असफलतालाई पछाडि छोड्दै नयाँ इतिहास रच्ने लक्ष्यसहित नेपाली टोली आज (बुधबार) मैदानमा उत्रनेछ ।
पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । यसपटक सेमिफाइनलमै यी दुई टोली भेट हुँदा नेपाललाई बदला लिने अवसर छ । सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट वञ्चित भएको थियो । यस्तै, अर्को सेमिफाइनलमा भारतले भुटानसँग खेल्नेछ । समूह ‘बी’ बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेका हुन् ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध