साङ्लो, सडक र स्क्रिनबीच जन्मिँदै गरेको नयाँ पुस्ताको विद्रोह दक्षिण एशियामा अहिले सामान्य राजनीतिक संक्रमणको चरणमा छैन । यो क्षेत्र एउटा गहिरो ऐतिहासिक मोडमा उभिएको छ जहाँ पुरानो राजनीतिक संरचना र नयाँ पुस्ताको चेतनाबीच तीव्र टकराव सुरु भइसकेको छ । यो केवल सरकार परिवर्तनको समय होइन । यो समय राजनीतिक संस्कृतिको पुनर्परिभाषाको समय हो । सडकमा उठेका नाराहरू, सामाजिक सञ्जालमा फैलिएका व्यंग्यहरू, युवाहरूको मौन वितृष्णा र पुराना दलहरूप्रतिको गहिरिँदो अविश्वास–यी सबै अहिले दक्षिण एशियाको साझा मनोविज्ञान बनेका छन् ।
नेपालमा लामो समयदेखि नयाँ पुस्ता परम्परागत राजनीतिक दलहरूप्रतिको वितृष्णाभित्र बाँचिरहेको थियो तर त्यो वितृष्णा अब मौन छैन । त्यसले प्रत्यक्ष राजनीतिक परिणाम दिन थालेको छ । नेपालमा नयाँ दलहरूको उदय भयो । नयाँ पुस्ताका नेतृत्वहरू देखा परे र दशकौंदेखि स्थापित राजनीतिक मनोविज्ञान भत्किन थाल्यो । यो केवल चुनावी परिणाम थिएन । यो पुस्तागत चेतनाको परिवर्तन थियो ।
बंगलादेशका विश्वविद्यालयहरूमा विद्यार्थीहरू गोलीसँग ठोकिए, श्रीलंकामा जनताले राष्ट्रपतिको दरबार घेरेर सत्ता ढालिदिए, नेपालमा नयाँ पुस्ताले परम्परागत दलहरूको राजनीतिक एकाधिकारलाई चुनौती दिँदै पुराना शासकलाई तहस-नहस पारे र आज फेरि दक्षिण एसियाकै शक्तिसाली राष्ट्र भारतमा एउटा साङ्लो डिजिटल विद्रोहको प्रतीक बनेर फैलिरहेको छ । पहिलो नजरमा यी घटना फरक देखिन्छन् तर गहिरिएर हेर्दा यी एउटै युग परिवर्तनका फरक दृश्य हुन् । यस पुस्ताले अब पुरानो राजनीतिक भाषामाथि विश्वास गर्न छोडेको छ । उनीहरूलाई विकासका चम्किला भाषणमा आफ्नो भविष्य देखिँदैन । उनीहरू लोकतन्त्रको नाम सुन्छन् तर प्रतिनिधित्व अनुभव गर्दैनन् । उनीहरूलाई चुनाव हुन्छ भन्ने थाहा छ तर परिवर्तन हुन्छ भन्ने विश्वास हराउँदै गएको छ । दक्षिण एशियाको अहिलेको सबैभन्दा ठूलो संकट आर्थिकमात्र होइन राजनीतिक विश्वासको संकट पनि हो ।
बंगलादेश : जब शिक्षित युवा भविष्यविहीन बन्छन्, बंगलादेशमा उठेको विद्यार्थी आन्दोलन सतहमा आरक्षणविरोधी आन्दोलन जस्तो देखिन्छ तर वास्तविकता त्यसभन्दा धेरै गहिरो छ । सरकारी जागिरमा स्वतन्त्रता सेनानी परिवारलाई दिइएको आरक्षण आन्दोलनको तत्काल कारण थियो तर आन्दोलनलाई विष्फोटक बनाउने शक्ति बेरोजगारी, अवसरमाथिको कब्जा, भ्रष्टाचार र लामो समयदेखि सञ्चित राजनीतिक आक्रोश थियो । शिक्षित युवाहरू विश्वविद्यालयबाट निस्किरहेका छन् तर उनीहरूको अगाडि भविष्यको ढोका खुलिरहेको छैन । राज्यका अवसरहरू योग्यता होइन, पहुँच र राजनीतिक सम्बन्धका आधारमा बाँडिएको अनुभूति युवाहरूमा गहिरिँदै गएको छ ।
प्रधानमन्त्री शेख हसिनाको लामो शासनकाल, विवादित निर्वाचन, विपक्षीमाथिको दमन र लोकतान्त्रिक संस्थामाथिको अविश्वासले युवाहरूमा एउटा गम्भीर प्रश्न जन्मायो । ‘यो राज्य आखिर कसका लागि चलिरहेको छ ?’ यही कारणले आन्दोलन केही दिनमै विद्यार्थी आन्दोलनबाट जनआन्दोलनमा रूपान्तरण भयो तर बंगलादेशले दक्षिण एशियालाई अर्को गम्भीर सन्देश पनि दिएको छ । सत्ता परिवर्तनमात्रै समाधान हुँदैन । यदि पुरानै शक्ति संरचना नयाँ अनुहारका साथ फर्किन्छ भने जनताको वितृष्णा समाप्त हुँदैन । किनकि अहिलेको समस्या कुनै एक दल वा एक नेतासँग मात्र सम्बन्धित छैन । समस्या राज्यको चरित्रसँग सम्बन्धित छ ।
श्रीलंका : जब भोकले राजनीति ढाल्छ श्रीलंकाको आन्दोलन दक्षिण एशियाली इतिहासको एउटा निर्णायक दृश्य थियो । त्यहाँ जनताले केवल सरकारविरुद्ध नाराबाजी गरेनन् । उनीहरूले सत्ता संरचनाको नैतिक वैधतामाथि प्रश्न उठाए । भोक, महँगी, इन्धन संकट, भ्रष्टाचार र वंशवादी राजनीतिको चरम परिणाम अन्ततः राष्ट्रपति भवनसम्म पुग्यो । जब जनता राष्ट्रपतिको दरबारभित्र पसे, त्यो केवल एउटा भवन कब्जा गरिएको घटना थिएन । त्यो जनताको ऐतिहासिक घोषणा थियो, ‘यदि राज्यले हाम्रो जीवन जोगाउन सक्दैन भने, हामी राज्यको पवित्रता स्वीकार गर्दैनौं ।’
श्रीलंगाले दक्षिण एशियाका युवाहरूलाई एउटा गहिरो सन्देश दियो, सत्ता अजेय हुँदैन । जनताको धैर्यको सीमा हुन्छ । दक्षिण एशियाका धेरै सरकारहरूले श्रीलंगाको संकटलाई आर्थिक व्यवस्थापनको असफलता मात्र ठाने तर त्यो वास्तवमा राजनीतिक अहंकारको पतन थियो । जब सत्ताले जनताको पीडा सुन्न छोड्छ, त्यही क्षणदेखि विद्रोह जन्मिन थाल्छ ।
नेपाल : मौनताभित्रको विद्रोह
नेपालमा लामो समयदेखि नयाँ पुस्ता परम्परागत राजनीतिक दलहरूप्रतिको वितृष्णाभित्र बाँचिरहेको थियो तर त्यो वितृष्णा अब मौन छैन । त्यसले प्रत्यक्ष राजनीतिक परिणाम दिन थालेको छ । नेपालमा नयाँ दलहरूको उदय भयो । नयाँ पुस्ताका नेतृत्व देखापरे र दशकौंदेखि स्थापित राजनीतिक मनोविज्ञान भत्किन थाल्यो । यो केवल चुनावी परिणाम थिएन । यो पुस्तागत चेतनाको परिवर्तन थियो । नेपालको नयाँ पुस्ताले पुराना दलहरूलाई एउटा स्पष्ट सन्देश दियो ‘हामी अब पुरानो शैलीको राजनीति स्वीकार गर्दैनौं ।’
आज बालेन साह जस्ता युवा नेतृत्वहरू त्यसै परिवर्तनको प्रतीक बनेका छैनन् । उहाँ आज काठमाडौं महानगरको मेयर हुँदै देशको कार्यकारी युवा प्रधानमन्त्रीको रूपमा आसीन हुनुहुन्छ । यो परिवर्तनको मुख्य जग जेन-जी विद्रोह नै थियो । आज उहाँले एउटा पुस्ताको मनोविज्ञानको प्रतिनिधित्वमात्र नभई समग्र मुलुकको नेतृत्व गरिरहनुभएको छ । आजको पुस्ता, जसले पुरानो सत्ता संस्कृतिसँग सम्झौता गर्न चाहँदैन । जसले भ्रष्टाचार, ढोंग र राजनीतिक अभिनयप्रति धैर्य गुमाइसकेको छ ।
नेपालमा यति ठूलो राजनीतिक परिवर्तन, सशस्त्रयुद्ध, आन्दोलन, संविधान निर्माण र बलिदानपछि पनि राज्य संरचना सीमित शक्तिकेन्द्रहरूको नियन्त्रणमा पुग्दा आमयुवाहरूमा असन्तोष बढ्नु स्वाभाविक थियो । त्यसको पछिल्लो आक्रोश गत भदौ २३/२४ को जेन-जी विद्रोह हुँदै फागुन २१ को आमचुनावले दिएको जनआक्रोशको अप्रत्याशित परिणामले आज मुलुक नवयुवाहरूको काँधमा उभिएको छ । विडम्बना आज पनि नेपालको संसद्मा परिवर्तित अनुहार देखिए तापनि जनताको आशा, भरोसा र आकांक्षाको थलोभन्दा पनि सत्ता समीकरणको खेलमैदान जस्तो देखिन थालेको छ । सिद्धान्तभन्दा समीकरण ठूलो भएको छ । नैतिकताभन्दा सत्तामहत्त्वपूर्ण भएको छ । यही कारणले आज नयाँ पुस्ता सडक, सामाजिक सञ्जाल, निर्वाचन र सार्वजनिक बहसमार्फत मौनप्रतिकार गरिरहेको छ । यो प्रतिकार केवल व्यक्तिप्रतिको होइन ।
यो पुरानो राजनीतिक संस्कृतिप्रतिको अस्वीकार हो तर फेरि पनि यति ठूलो परिवर्तनपछि पनि संसद् जनताको भाग्य र मुलुकको भविष्य कोर्ने थलो कम र जुवारी क्लब बढीजस्तो देखिन थालेको छ । नयाँ भन्नेहरू नयाँ जस्ता देखिनन् । पुरानाहरू अझ नयाँलाई स्वीकार गर्ने पक्षमा देखिँदैनन् । यसले सत्ता र सरकार जबर्जस्त घिस्रेर चल्ला तर जनताको अपेक्षा भने कमजोर हुने निश्चित छ ।
भारत : जब साङ्लो विद्रोहको प्रतीक बन्छ भारतमा देखापरेको ‘कक्रोच जनता पार्टी’ सुरुमा व्यंग्य जस्तो लाग्नसक्छ तर यसको लोकप्रियता भारतीय युवाहरूमा गहिरिँदै गएको असन्तोषको संकेत हो । सत्ताले युवालाई ‘परजीवी’ भन्यो । युवाहरूले त्यसैलाई आफ्नो प्रतीक बनाए । साङ्लो किन ? किनकि त्यो जीव घृणित मानिन्छ तर सबैभन्दा कठिन परिस्थितिमा पनि बाँच्छ । आज दक्षिण एशियाको ठूलो हिस्सा त्यही मनोविज्ञानभित्र बाँचेको छ । डिग्री छ तर स्थिर भविष्य छैन । इन्टरनेट छ तर अवसर छैन । लोकतन्त्र छ तर प्रतिनिधित्व छैन । त्यसैले डिजिटल व्यंग्य लाखौं युवाको सामूहिक राजनीतिक भावनामा बदलियो । यसले एउटा गम्भीर कुरा स्पष्ट गरिदियो । अब विद्रोह केवल सडकमा हुँदैन । त्यो स्क्रिनमा पनि जन्मिन्छ ।
सत्ताले युवालाई ‘परजीवी’ भन्यो । युवाहरूले त्यसैलाई आफ्नो प्रतीक बनाए साङ्लो भनेर । साङ्लो किन ? किनकि त्यो जीव घृणित मानिन्छ तर सबैभन्दा कठिन परिस्थितिमा पनि बाँच्छ । आज दक्षिण एशियाको ठूलो हिस्सा त्यही मनोविज्ञानभित्र बाँचेको छ । डिग्री छ तर स्थिर भविष्य छैन । इन्टरनेट छ तर अवसर छैन । लोकतन्त्र छ तर प्रतिनिधित्व छैन ।
दक्षिण एशियाको राजनीति किन संकटमा छ ? किनकि दक्षिण एशियाका धेरै राजनीतिक दलहरूले समाज बदल्ने राजनीति छोडेर सत्ता जोगाउने राजनीति गर्न थाले । दलहरू आन्दोलनका संस्था कम र निर्वाचन मेसिन बढी बन्दै गए । नेतृत्व सीमित परिवार र गुटमै केन्द्रित रह्यो । युवालाई प्रयोग गरियो, सहभागी बनाइएन । चुनावका बेला युवालाई पोष्टर बोक्न बोलाइयो । नारा लगाउन बोलाइयो तर निर्णय प्रक्रियामा उनीहरूलाई स्थान दिइएन । यही कारणले अहिले दक्षिण एशियाको नयाँ पुस्ता दलभन्दा बाहिर आफ्नै राजनीतिक भाषा निर्माण गरिरहेको छ ।
यो पुस्ता विचारविहीन छैन । बरू पुरानो राजनीतिक ढाँचाप्रति अविश्वासी भएको हो । अब के हुन सक्छ ? यदि दक्षिण एशियाका राज्यहरूले युवाको आक्रोशलाई समयमै बुझ्न सकेनन् भने आगामी दशक अझ अस्थिर हुनसक्छ । किनकि अहिलेको पुस्ता चुप लागेर बस्ने पक्षमा छैन । उनीहरूसँग परम्परागत नेतृत्वन हुनसक्छ तर उनीहरू डिजिटल रूपमा जोडिएका छन् । उनीहरूसँग हतियार नहुन सक्छ तर उनीहरूसँग साझा निराशा छ र इतिहासले बारम्बार प्रमाणित गरेको छ-साझा निराशाभन्दा शक्तिशाली राजनीतिक ऊर्जा अर्को हुँदैन । अब दलहरू सुध्रिनै पर्छ ।
दक्षिण एशियाका राजनीतिक दलहरूले अब एउटा कठोर सत्य स्वीकार गर्नुपर्छ-युवा पुस्ता अब नारामात्र लगाउने भिड बन्न तयार छैन । उनीहरू हिस्सेदारी चाहन्छन् । निर्णय प्रक्रियामा स्थान चाहन्छन् । सम्मान चाहन्छन् । दलहरूले पुस्तान्तरण गर्नुपर्छ । वंशवादी राजनीति अन्त्य गर्नुपर्छ । युवालाई वास्तविक शक्ति दिनुपर्छ । लोकतन्त्रलाई निर्वाचनमै सीमित राखेर अब समाजलाई धेरै समय थाम्न सकिँदैन । राजनीतिले नैतिकता फर्काउनुपर्छ । भ्रष्टाचारलाई संरक्षण गर्ने, अपराधीलाई शक्तिशाली बनाउने र जनतालाई भाषणले थाम्ने राजनीति अब धेरै लामो समय टिक्दैन ।
निष्कर्ष : नयाँ दक्षिण एशिया जन्मिँदैछ । आज दक्षिण एशियामा एउटा नयाँ युग जन्मिँदैछ । बंगलादेशका सडक, श्रीलंकाको विद्रोह, नेपालको पुस्तागत प्रतिरोध र भारतको डिजिटल साङ्लो-यी सबै एउटै ऐतिहासिक परिवर्तनका फरक रूप हुन् । यो पुस्ता अब केवल सत्ता परिवर्तन चाहँदैन । यो राजनीति गर्ने संस्कृतिको परिवर्तन चाहन्छ । यदि राज्यहरूले यो आवाज सुन्न सकेनन् भने भोलिको विद्रोह अझ डिजिटल, अझ तीव्र र अझ अनियन्त्रित हुनेछ ।
किनकि अहिले जन्मिँदै गरेको आन्दोलन कुनै एक देशको आन्दोलन होइन । यो सम्पूर्ण दक्षिण एशियाली पुस्ताको साझा चेतना हो र इतिहासको सबैभन्दा खतरनाक क्षण त्यो हुन्छ जब एउटा पुस्ताले सामूहिक रूपमा यो निष्कर्ष निकाल्छ- ‘अब पुरानो व्यवस्था हाम्रो भविष्य होइन ।’ त्यो समय संसारको कुनै पनि तागत युवाको चेतना र जागरण सामु एक पल पनि टिक्न सक्दैन ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र