काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित छ चिनियाँ चलचित्रको प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजित कार्यक्रमको उद्घाटन निर्देशक सागर झानको चलचित्र ‘ट्रयाप्ड’ प्रदर्शनसँगै गरिएको हो ।
चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा सञ्चालन भइरहेको छ ।
उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मन्त्री परामर्शदाता चउ पान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, नेपाल कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन तथा अभिनेता प्रमोद अग्रहरीलगायत चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्षले यस्ता सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले चिनियाँ बजारमा नेपाली चलचित्रको वितरण र प्रदर्शनका लागि पनि यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।
मन्त्री परामर्शदाता पानले चलचित्र मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र राजनीतिक परिवेश बुझ्ने प्रभावकारी साधन भएको उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई अझ नजिक बनाउन सहयोग गर्ने धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रमले दुवै देशका चलचित्रकर्मीबीच व्यावसायिक सहकार्यको अवसरसमेत सिर्जना गर्ने बताउनुभयो ।
निर्देशक घिमिरेले चिनियाँ बजारमा नेपाली चलचित्रको प्रदर्शन र वितरणका लागि थप सहयोग तथा सहकार्य आवश्यक रहेको बताउँदै सम्बन्धित पक्षसँग सहजीकरणको आग्रह गर्नुभयो ।
उद्घाटनपश्चात प्रदर्शन गरिएको ‘ट्रयाप्ड’ का निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीहरूले अन्तरक्रिया गर्नुभएको थियो । निर्देशक झानले किशोरावस्थामा आफूले देखेका र अनुभूत गरेका परिवेशलाई आधार बनाएर चलचित्र निर्माण गरिएको सुनाउनुभयो । उहाँले चलचित्रको कथा भने पूर्ण रूपमा काल्पनिक रहेको स्पष्ट पार्नुभयो ।
दर्शकहरूसँगको संवादका क्रममा उहाँले नेपाली दर्शकको चलचित्र रुचिबारे आफू केही हदसम्म जानकार रहेको उल्लेख गर्दै अपराध र रहस्यप्रधान शैली नेपाली दर्शकका लागि नयाँ स्वाद नभएको बताउनुभयो ।
दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको आयोजकले जनाएको छ । एक चिनियाँ दर्शकले विदेशमा आफ्नै भाषाको चलचित्र हेर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएकी थिइन् ।
काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्र, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गतको कन्फुसियस संस्थानको सहयोग रहेको उक्त कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन ‘बियोन्ड द स्काइज’ ‘समर डायरी’समेत प्रदर्शन गरिएको थियो ।




राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र