काठमाडौं । पाँच दिने भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ । सोमबार नयाँदिल्ली पुग्नुभएका सभापति लामिछानेले आज (बुधबार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । मंगलबार नयाँ दिल्लीस्थित भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो । भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो ।
लामिछाने सवार कार दिनदयाल मार्गस्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्यद्वारमा नरर्सिंगा बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । रवि सवार डिएल वान-एनए ४०८६ नम्बरको मर्सिडिज बेञ्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नीतिन नवीन लगायतले भव्य स्वागत गरेका थिए । लामिछाने कारबाट ओर्लिंदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो । बिजेपी नेता, कार्यकर्ताको घुइँचो लागेको थियो । सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नीतिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला लगाइदिनु भएको थियो ।
सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो । स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमण टोली र भाजपाका नेताहरूबीच भेटवार्ता भएको थियो । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए । यस्तै, सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी रास्वपा सचिवालय सदस्य दीपक बोहोराले जानकारी दिनुभएको छ ।
मंगलबार नै सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच पनि भेटवार्ता भएको थियो । भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श भएको बताइएको छ । भाजपाकै मुख्यालयमा मंगलबार रविले भारतीय विदेशमन्त्री एस.जयशंकरसँग पनि भेटवार्ता गर्नुभएको थियो । भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्तामा नेपाल-भारतबीचको विकास साझेदारी र जनस्तरको सम्बन्धबारे छलफल भएको जानकारी दिनुभएको छ । जयशंकरले नेपाल र भारतबीचको विकास साझेदारी तथा दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभएको छ ।
भाजपाको मुख्यालयले रविको स्वागतमा मंगलबारै रात्रिभोजको आयोजना गरिएको थियो । यसअघि सोमबार नयाँदिल्ली विमानस्थलमा लामिछानेलाई भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गर्नुभएको थियो । सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा उहाँको तस्वीर राखिएको छ ।
अध्यक्ष नितिन र सभापति लामिछानेबीच भेटवार्ता
भारत भ्रमणमा रहनुभएका रास्वपा सभापति रवि लामिछाने र भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा नेताद्वयबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई अभिवृद्धि गर्ने, दुई छिमेकी देशहरूबीच सहयोगका क्षेत्रहरूको अन्वेषण गर्ने र राजनीतिक संवादलाई सुदृढ पार्ने विषयमा कुराकानी भएको बताइएको छ । रास्वपाका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले नेपालमा चर्को आलोचना खेपिरहनु भएको छ । यही बीचमा रहेको रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
रविको भ्रमणले सीमापार राजनीतिक समझदारीलाई सुदृढ पार्ने लक्ष्य राखेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भ्रमणले रास्वपा र भाजपाबीच पार्टी-टु-पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनताकेन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखिएको बताइएको छ । भाजपाले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै रचनात्मक संवादको लागि तत्पर रहेको बताएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौँ : सभापति लामिछाने
रास्वपा सभापति रवि लामिछानेले अतिराष्ट्रवादी भाषा मन नपराउने बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले मंगलबार त्यहाँको अखबार हिन्दुस्तान टाइम्समा लेख लेखेर नेपाल-भारत सम्बन्ध र कूटनीतिबारे आफू र पार्टीको धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषालाई हामी मन पराउँदैनौँ । हामीले दिने विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यावहारिक दृष्टिकोण हो ।’ नेपाल–भारत कूटनीतिलाई भू–राजनीतिक तनावबाट हटाएर विकास केन्द्रित कूटनीतिमा आधारित बनाउने चाहना रास्वपाको रहेको उल्लेख गर्दै सभापति लामिछानेले भन्नुभएको छ, ‘हामी अतीतको बोझ बोकेका छैनौँ । हामी पुराना दुश्मनी वा कटुताले बाँधिएका छैनौँ । हामी सार्वभौम सम्झौताहरू र जनस्तरका अनौपचारिक सम्बन्धले जोडिएका छौँ, तर विगतका नेताहरूका साना स्वार्थ वा गोप्य समझदारीमा अल्झिएका छैनौँ ।’ नेपालको आर्थिक रूपान्तरणका लागि भारत र विश्वलाई खुला दृष्टि र पारदर्शी उद्देश्यका साथ हेर्ने उहाँको भनाइ छ ।
भारतसँगको सम्बन्धबारे अघिसारे आधा दर्जन प्रस्ताव
रास्वपा सभापति लामिछानेले भारतसँगको सम्बन्धले अहिलेसम्म के उपलब्धि हासिल गर्यो भन्दा यसले के हासिल गर्न सक्थ्यो र भविष्यमा के बन्नसक्छ भन्नेमा ध्यान दिएर सुरुवात गर्न चाहने उल्लेख गर्नुभएको छ । नेपाल–भारत सम्बन्धबारे सभापति लामिछानेले केही प्रस्तावसमेत अघि सार्नुभएको छ । लामिछानेले भारत विश्वकै ठूलो र तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक रहेको र त्यसको साझेदार नेपाल पनि बन्न चाहेको बताउनुभएको छ । उहाँले नेपालबाट भारतका विभिन्न ठाउँहरूमा सिधा उडान सञ्चालनको पनि प्रस्ताव अघि सार्नुभएको छ । भारतको आन्ध्र र तेलंगानाले आइटी क्षेत्रमा गरेको प्रगतिबारे पनि लामिछानेले लेखमा उल्लेख गर्नुभएको छ । नेपाल-भारत सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्य गर्नुपर्ने उल्लेख गर्नुभएका लामिछानेले आइआइटी र एम्स जस्ता संस्थाहरू नेपालमा पनि ल्याउने चाहना राख्नुभएको छ ।
नेपालको जलविद्युत्ले उदीयमान भारतका औद्योगिक क्षेत्रलाई ऊर्जा दिनसक्ने उल्लेख गर्नुभएका लामिछानेले पर्यटनको सम्भावना पनि एक-अर्कामा निर्भर रहेको स्पष्ट पार्नुभएको छ । मुख्य समस्याहरूलाई बेवास्ता गरेर वा दबाएर साँचो मित्रता बनाउन नसकिने सभापति लामिछानेको स्पष्टोक्ति छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर सनसनीपूर्ण विवादास्पद अभिव्यक्ति दिएको भोलिपल्ट सोमबार भारत भ्रमणमा जानुभएका सभापति लामिछानेले मंगलबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा नेपाल-भारत सम्बन्धका विषयमा लेख लेख्नुभएको हो । उहाँले सीमा विवादको प्रसंग पनि थोरै कोट्याउने कोसिस गर्नुभएको छ ।
नेपाल र भारतबीचको सम्बन्धबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा बताएको कुरा स्मरण गराउँदै उहाँले त्यहीअनुरूप मतभेद हटाएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ । जेठ २२ अर्थात् जुन ५ तारिखसम्म तय भएको भारत भ्रमणका क्रममा सभापति लामिछानेले भारतस्थित नेपाली समुदाय तथा शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य रहनुभएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र