विद्यावतां भागवते परीक्षा
व्यासले लेखेका पुराणमध्ये पाँचौं नम्बरको पुराण हो श्रीमद्भागवत । मैले लोकमा सुनेको थिएँ : व्यासले सत्रवटा पुराण लेखेपछि पनि सन्तोष नभएर मन व्यथित रहेका बेला नारदले वैष्णवभक्तिको पुराण लेख भन्दै चतुःश्लोकी भागवत सुनाएपछि तिनै चार श्लोकलाई विस्तार गरी अठार हजार श्लोकसंख्याको भक्ति र लीलाले भरिएको पुराण लेखे । त्यसो भएको हुनाले अरू अरू पुराणभन्दा यसको शैली अधिक परिमार्जित छ, व्याकरणसम्मत र आर्ष प्रयोगका शब्दरूपको पनि बाहुल्य छ । चतुश्लोकी भागवत, परिमार्जित शैली, विद्वान्को परीक्षा भागवतमा गर्न सकिने पाणिनीय व्याकरण्ले सिद्ध नगरी ऋषिले प्रयोग गरेका भनेर छाडेका शब्दको प्रयोग भेटिँदोरहेछ तर उनले लेखेका पुराणमध्ये यो नै अन्तिम पुराण हो भन्ने कुरो चाहिँ पूरै मिथ्या रहेछ । शास्त्रीय साक्ष्यका आधारमा मत्स्यपुराणको ५३औं अध्यायमा
यत्राधिकृत्य गायत्रीं वर्ण्यते धर्म विस्तरः
वृत्रासुरवधोपेतं तद् भागवतमुच्यते
...तद्वृत्तान्तोद्भवं लोके तद् भागवतमुच्यते ।।
जहाँ गायत्रीलाई आधार मानेर धर्मको चर्चा गर्दै वृत्रासुर बधसम्मका कुरा गरिएको छ । त्यसलाई भागवत भनिन्छ । सारस्वत कल्पपर्यन्त उत्तम चरित्रका मानवको वृत्तान्तबाट उद्भव हुने आख्यानसम्मका कुरालाई भागवत भनिन्छ भनेर परिचय दिइएको देखिन्छ । यसैगरी नारदीय पुराणको ९६औं अध्यायमा हे मारीच सुन, व्यासले जुन ब्रह्मसम्मित श्रीमद्भागवत नामक पुराण रचना गरे त्यो अठार हजार श्लोक संख्याको र पापनासक छ । यो देवताको पाउ समानको पवित्र शब्दवृक्ष मानिन्छ । बार स्कन्धयुक्त छ । हेविप्रेन्द्र भागवन्कै स्वरूप भएको हुनाले यो विश्वविख्यात छ भनी परिचय दिएको भेटिन्छ । लोकमा अनेकौं यस्तै कपोलकल्पित कुरा प्रचलित रहेका कुरा सुनिन्छन् तर यथार्थ भने भिन्न रहेछ ।
नेपाली समाजमा अहिले श्रीमद्भागवत संस्था खोल्ने अर्थ जम्मा गर्ने, केही पण्डितको जीविका चलाउने, नाना दन्त्यकथा जोडेर पितृमुक्तिका नाममा सर्वसामान्य मान्छेलाई संवेदनशील मूर्ख बनाउने अनेकौं कुराको कल्पवृक्ष जस्तै या मनचिन्ते झोला जस्तै बनेर प्रचारित पनि भएको देखिन्छ । धन्नुकारीको मिथक, परीक्षित मुक्तिको आख्यान र नृगचरित्रको आख्यानबाहेक पितृमुक्तिका कुरा खासै श्रीमद्भागवतमा भेटिँदैनन् ।
नेपाली समाजमा अहिले श्रीमद्भागवत संस्था खोल्ने अर्थ जम्मा गर्ने, केही पण्डितको जीविका चलाउने, नाना दन्त्यकथा जोडेर पितृमुक्तिका नाममा सर्वसामान्य मान्छेलाई संवेदनशील मूर्ख बनाउने अनेकौं कुराको कल्पवृक्ष जस्तै या मनचिन्ते झोला जस्तै बनेर प्रचारित पनि भएको देखिन्छ । धन्नुकारीको मिथक, परीक्षित मुक्तिको आख्यान र नृगचरित्रको आख्यानबाहेक पितृमुक्तिका कुरा खासै श्रीमद्भागवतमा भेटिँदैनन् । तुलसीकृत रामायणको नवाह, यदाकदा सन्तानप्राप्तिका लागि हरिवंश पुराण लाउने, कसैकसैले शिवपुराण लाउने प्रचलन नेपाली समाजमा रहेको भेटिन्छ । सिन्धुली जिल्लाको ग्वाल्टार नामक गाउँमा घर भएका रामप्रसाद अधिकारीका घरमा साम्बभक्त सुवेदीले साँढे तीन वर्ष लगातार व्यासासनमा बसेर अठार पुराण भनेको सुनेबाहेक अठारपुराण अन्यत्र लाएको मैले सुनेको छुइँन । श्रीमद्भागवत चाहिँ एकाह, चतुर्मासा र सप्ताह तथा पन्चाहका रूपमा लाउने प्रचलन भेटिन्छ ।
प्रथम स्कन्धमा अठासी हजार ऋषि र सूतपौराणिकसँग भेट हुन्छ । पुण्यकारी व्यासको चरित्र तथा पाण्डवहरूको चरित्र वर्णनका साथै परीक्षितको उपाख्यानमा आएर यो स्कन्ध समाप्त भएको देखिन्छ । द्वितीय स्कन्धमा परीक्षित र शुकदेवको संवादबाट आरम्भ भएर दुई प्रकारका सृष्टिको निरूपण गर्दै ब्रह्मा र नारदको संवादका साथै अवतार चरित्रलाई अमृतको उपमा दिँदै पुराणको अभिलक्षण बताई सृष्टिको कारण र सृष्टिसम्भव भएको वर्णन पनि गरिएको छ । यत्ति नै कुरालाई बुद्धिमान् व्यासले दोस्रा स्कन्धमा वर्णन गरेका छन् । तृतीय स्कन्धमा विदुरको चरित्रान्तर्गत मैत्रेयसँगको भेट भएपछि सृष्टिप्रकरणको व्यख्यानपछि परमात्मा ब्रह्माले महामुनि कपिल जसले संसारको जेठो सांख्यदर्शनको आविष्कार गरेथे । तिनको अवतरणका साथै उनले प्रतिपादन गरेको सांख्यदर्शनका सम्बन्धमा पनि बताएर यस स्कन्धलाई पूरा गरेका छन् ।
चतुर्थ स्कन्धमा पहिला सत्यको चरित्र वर्णन, त्यसपछि ध्रुवचरित्र वर्णन गरी राजा पृथु जसले रत्नगर्भा पृथ्वीलाई गाई बनाएर सारा किम्मति द्रव्य, सर्वौषधि, अमूल्य धातुलगायत् दुहेका थिए । यो दुहुनु भनेको आज पृथ्वीका गर्भमा रहेका सुन, हीरा, मणि तथा युरेनियम पत्ता लगाए जस्तै गरी उद्योग गरेर देश र जनतालाई सुखीसम्पन्न बनाउनु हो । यसरी उनको पुरुषार्थ वर्णनका साथै प्राचीन बर्हिषको कुरा गरेर चतुर्थ स्कन्धलाई पूरा गरिएको छ ।
पञ्चम स्कन्धमा प्रियव्रतका चरित्र कथनबाट आरम्भ गरी उनका वंशको वर्णन गर्दै ब्रह्माण्डान्तर्गतका सारा समस्त लोकहरूको वयान सकेर नरकको स्थिति वर्णन गरेर व्यासले यस स्कन्धलाई पनि पूरा गरेका छन् । नरक दण्डको त्रास हो भने स्वर्ग पुरस्कार हो भनेर बुझ्नुपर्दछ । षष्ठ स्कन्धमा अजामिलको उपाख्यान दक्षसृष्टि निरूपण वृत्रासुरको आख्यानका साथै मरुतादिको जन्म प्रसंगको कथाका साथै षष्ठस्कन्धलाई पूरा गरेको देखिन्छ । यसमा सद्वृत्ति र असद्वृत्तिको भिन्नता देखाउने चेष्टा गरेका छन् । सप्तम स्कन्धमा पुण्यप्रदायक मानिने प्रह्लाद चरित्र, वर्णाश्रम निरूपण र वासना या कर्मबन्धनादिका कुरा पनि यसै स्कन्धमा गरिएको भेटिन्छ । राम्रा कामको राम्रो फल नराम्रा कामको नराम्रै फलको चित्रण यसमा भएको देखिन्छ ।
अष्टम स्कन्ध गजेन्द्रमोक्ष वर्णनका साथै मन्वन्तर निरूपण, समुद्रमथन, बलिवैभव बन्धन, विष्णुले मत्स्यावतार लिएर गरेका चरित्रको वर्णन गरेपछि आठौं स्कन्ध समाप्त हुन्छ । समुद्र मथन भनेको अनेकौं विचार, द्रव्य र पदार्थलाई घोलेर मिसाएर राम्रानराम्रा कुरा निकालेर समाजमा वितरण गर्नु हो । उद्योगको महिमा देखाएर अति नगर्नु भन्ने उदाहरण बलीबन्धनले दिएको देखिन्छ । समुद्रमन्थन भनेको नवउद्योग, वादविवादबाट प्राप्त हुने सुन्दर परिणामलाई देखाइएको देखिन्छ । नवम स्कन्ध सूर्यवंशीय र चन्द्रवंशीय राजाहरूको वर्णनका साथै तिनका वंशानुचरित वर्णनका साथै यो स्कन्ध सकिन्छ । वंशवर्णन र वंशानुचरित भनेको इतिहास हो ।
दशम स्कन्धमा श्रीकृष्णको बालचरित्रको वर्णन, किशोरावस्थासम्मको वर्णन गरेर व्रजका गाउँमा देखापरेका विभिन्न परिस्थितिको वर्णन गर्दै कृष्ण र बलरामको युवावस्थामा पुग्दानपुग्दै मथुरा पुगेर गरेका यावत् कर्मको वर्णनका साथै युवावस्थामा द्वारकामा गरेका कर्मको वर्णन, भूभारहरणका लागि उनले निर्वाह गरेका कर्मको वर्णन गरेर दशम स्कन्ध समाप्त भएको छ । एकादश स्कन्धमा नारद वसुदेव संवाद, यदु र दत्तात्रयका कुरा कृष्ण र उद्धवसँग भएको कुरो वर्णन गरी प्रभास क्षेत्रमा पुगेर पारस्परमा भिडेका यादवादिको परिसमाप्तिका कुरा गरेर एकादश स्कन्ध समाप्त भएको देखिन्छ । द्वादश स्कन्धमा भविष्यमा आउने कलियुग कस्तो हुन्छ, मानव कस्ता हुन्छन् भन्ने कुराको वर्णन गर्दागर्दै राजा परीक्षितको मोक्षत्वको वर्णन, वेदका शाखाप्रशाखाको वर्णनपछि मार्कण्डेय ऋषिको तपश्चरण सौरी विभूति वर्णनपछि सत्यवतीको तपोवर्णन र पुराणहरूको संख्याको समाख्यानपछि यो स्कन्ध पनि समाप्त भएको देखिन्छ ।
भगवतका पात्रहरू
श्रीमद्भागवतका पात्रहरू विविधतायुक्त छन् । प्रवृत्ति, गुण र आचरणका दृष्टिले बहुरंगी देखिन्छन् । कृष्ण, बलरामलगायत् गोपगोपिनी विष्णु, शेष र देवीदेवता मानवीय रूपमा अवतरित भएका हुन् भनेर वर्णन गरिएको छ । यसरी आद्भुतिकतालाई परिष्कार गरेर अवतारमा रूपान्तरण गरिएको देखिन्छ । हात्ती, ग्राहा, भ्रमर, गाई, बकुल्लो, अजिंगर कालीयनाग, नदी, वनपर्वत आदिले पनि भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । यस प्रकारको काव्यिक या औपन्यासिक या आख्यानिक स्वरूप ग्रहण गर्न अव्यक्त पृष्ठभूमिको कल्पना गर्दा असम्भव कल्पना पनि भनिएला तर तिलस्मिक, आद्भुतिक, जादुगरीयुक्त चरित्रबाटै मानवीय शक्ति सामर्थ्ययुक्त चरित्र अवतरित भएका हुन् ।
अयनवाटले उपन्यासको उद्भवका सम्बन्धमा प्रस्तुत गरेको तर्क विश्वसनीय देखिन्छ । कुनै पात्र दिव्यगुण र शक्तिसामर्थ्ययुक्त छन् । कृष्ण, राधा, बलराम, यमुना, मायादेवी, यस कोटिमा पर्दछन् भने वसुदेव, देवकी, गोपगोपिनी, नन्द, रोहिणी, ग्वालबालबालिका यज्ञ गर्ने ब्राह्मणहरू कुब्जा, मालीधोबी धनुषयज्ञ हेर्न आएको समाज साधारण मानवीय प्रवृत्तिका देखिन्छन् । कारागारका पाले प्रहरेदार अनपढ दुःखी असचेत मानव रहेका छन् । गोबरधन पर्वत, कालीय, कृष्णको दिव्यगुणमा प्रकाश पार्ने विशेष विद्युतीय साधन जस्ता बनेर आएका छन् । तृणार्वत, पुतना, अघासुर, बकासुर, धेनुकासुर आदि पनि कृष्णको शक्तिसामर्थ्यलाई उद्भाषित गराउने सजीव माध्यम बनेका देखिन्छन् ।
कंस र कृष्णको संघर्षाख्यान यस महापुराणको अधिकृत आख्यान हो भने यसलाई फलागमसम्म पुर्याउन यहाँ दुई प्रकारका कथाको प्रक्षेपण गरिएको भेटिन्छ । ती दुई हुन् प्रकरी र पताका । भूभार हरणको कथापताका हो भने बाँकी अनेकौं पात्रसँग सम्बद्ध घटनाहरू प्रकरी हुन् । प्रकरी प्रसंग विशेषमा देखापरेर वरपरका आनुषंगिक परिस्थितिलाई झलक्क देखाएर हराउँछ ।
यिनको दोहोरो भूमिका पनि छ । एकातिर यी कंसको ज्यदती प्रदर्शन गर्न र अर्कातिर कृष्णको शक्तिवत्तामा प्रकाश पार्दछन् । कंसले मारेका कृष्णका दाजुहरूको जन्म र वसुदेव देवकीलाई कागारागारमा राख्ने, उग्रसेनलाई जेलमा राखेर आफैं राजगद्दीमा बस्ने कंस चरित्रले नृशंस मानवीय प्रवृत्ति नै दानवीय प्रवृत्तिमा रूपान्तरित हुने सत्य प्रकट गर्ने साधन बनेका देखिन्छन् । कंस मायालु थियो । आकाशवाणीले आठौं गर्भको कुरो गरेपछि ऊ शत्रुदमन गरी निष्कण्टक बन्ने चाहनाको वशीभूत भएर दुष्टताको प्रतिमूर्ति बनेको देखिन्छ ।
आख्यानमा विविधता
कंस र कृष्णको संघर्षाख्यान यसको अधिकृत आख्यान हो भने यसलाई फलागमसम्म पुर्याउन यहाँ दुई प्रकारका कथाको प्रक्षेपण गरिएको भेटिन्छ । ती दुई हुन् प्रकरी र पताका । भूभार हरणको कथापताका हो भने बाँकी अनेकौं पात्रसँग सम्बद्ध घटनाहरू प्रकरी हुन् । प्रकरी प्रसंग विशेषमा देखापरेर वरपरका आनुषंगिक परिस्थितिलाई झलक्क देखाएर हराउँछ । रामायणको कालनेमी प्रसंग प्रकरी हो । कंस र कृष्णको संघर्षको कथा उग्रसेन, कुन्तीभोज, सत्राजीत, वसुदेव आदि यादवहरूको तीन चार पुस्तादेखि चल्दै आएको राजनीतिक सङ्घर्ष हो ।
नेपालमा चन्द्रशमशेर र कृष्णप्रसाद कोइरालाका बीचको प्रेम, व्यापार र शक्तिको होडबाजीलाई बीपीको आधुनिक तीव्र चेतनाले धपक्क बालेको जस्तै गरी कृष्णको अति बौद्धिक चतुर शालीन सोच र व्यवहारले परिणामदायी स्वरूप लिएको देखिन्छ । चणक र महानन्द राजाका बीचको द्वन्द्व पनि यस सन्दर्भमा तुलनीय रहेको छ । लोकमा प्रचलित राजगाथा, देवगाथा, ऋषिगाथा र लोकगाथाको मिश्रणबाट भागवती कथा निर्माण गरिएको देखिन्छ :
भक्तिसुतौ तौ तरुणौगृहीत्वा
प्रेमैकरूपा सहसाभिरासित् ।
श्रीकृष्ण गोविन्द हरे मुरारे
नाथेतिनामानिमुहुर्वदन्ति ।।
प्रत्येक अध्यायान्तमा वक्ताश्रोता सबैले शंखघण्ट बजाउँदै धूपदीप गर्नेगरेको देखिन्छ । यो चाहिँ पौराणिकले श्रोताको मनलाई आकर्षित गर्ने उपाय हुनसक्छ । भागवत नामका दुईवटा पुराण देखिन्छन् । श्रीमद्भागवत र श्रीमद्देवीभागवत । यी दुवैमा अठार हजार श्लोक संख्या छन् भने दुवै द्वादश स्कन्धमा प्रबन्धित रहेका देखिन्छन् । श्रीमद्भागवतले परमहंसका रूपमा प्रस्तुत गरेका शुकदेव देवीभागवतमा गृहस्थ धर्मसिक्न राजा जनकनेर पुगेर घरमा गएर बिहा गरी छोरा जन्माएरमात्र सन्यास आश्रममा प्रविष्ट भएको कथा आएको छ । आजका अत्यधिक पठनशील मानिसहरू पुराणका घटना कपोलकल्पित हुन् भन्छन् तर पनि समाजको प्रतिबिम्ब पुराणमा भेटिने हुनाले त्यहाँ जीवनका उकालीओराली भेटिन्छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र