कैलाली । एक समय थियो, गाउँघरका हरेक गोठ गाईगोरुले भरिएका हुन्थे । बिहान सबेरै किसानहरू हलो काँधमा बोकेर खेततिर निस्कँदा गोरु उनीहरूका मुख्य साथी हुन्थे । खेत जोत्न, मल उत्पादन गर्न, दूध दिन र घरपरिवारको आर्थिक आधार बन्न गाईगोरुको महत्त्वपूर्ण भूमिका थियो । गाउँको सम्पन्नता गोठमा बाँधिएका चौपायाको सङ्ख्यासँग तुलना गरिन्थ्यो ।
तर समयसँगै कृषि प्रणाली बदलिँदै गयो । आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेत जोत्न ट्रयाक्टर भित्रिए । दूध नदिने गाई र काम गर्न नसक्ने गोरु किसानका लागि उपयोगीभन्दा बढी आर्थिक भार बन्न थाले । पालनपोषण खर्चिलो बन्दै जाँदा धेरै किसानले गाईगोरु खुला छाड्न थाले । यही प्रवृत्तिले अहिले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा छाडा चौपाया समस्या गम्भीर सामाजिक र वातावरणीय चुनौतीका रूपमा देखापरेको छ । राजमार्गदेखि ग्रामीण सडकसम्म छाडा गाईगोरु देखिन्छन् । बजार क्षेत्र, सार्वजनिक स्थान, खेतबारी र वन क्षेत्रसम्म उनीहरूको पहुँच पुगेको छ । सडक दुर्घटना, खेतीपातीमा क्षति, वन विनाश र व्यवस्थापनको अभावले समस्या दिनप्रतिदिन जटिल बन्दै गएको छ ।
सडकमा बढ्दो जोखिम
पूर्वपश्चिम राजमार्ग हुँदै रातिको समयमा यात्रा गर्ने धेरै चालकका लागि छाडा चौपाया त्रासको विषय बनेका छन् । सडकको बीचमै सुतेका वा अचानक सडक पार गर्ने गाईगोरुका कारण दुर्घटनाको जोखिम बढेको छ । विशेषगरी राति र हिउँदको कुहिरो लागेको समयमा दुर्घटनाको सम्भावना झनै बढी हुने गरेको छ ।
घोडाघोडी नगरपालिका-१, सुख्खडका हरिलाल सापकोटा छाडा चौपायाका कारण स्थानीयले समस्या झेलिरहेको बताउनुहुन्छ । उहाँका अनुसार सडकमा अचानक गाईगोरु निस्किँदा मोटरसाइकल चालकहरू धेरै जोखिममा पर्ने गरेका छन् । कतिपय अवस्थामा दुर्घटनामा मानिसले ज्यानसमेत गुमाएका छन् भने चौपायाहरूसमेत मर्ने गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कैलालीको अध्ययनअनुसार कैलाली र कञ्चनपुरका सडक क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी छाडा चौपाया रहेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार प्रदेशमा हुने सडक दुर्घटनामध्ये दुई प्रतिशत दुर्घटना छाडा पशुचौपायाका कारण हुने गरेका छन् । उहाँ भन्नुहुन्छ, “राजमार्ग क्षेत्रमा गाईगोरु नियन्त्रणका लागि पटकपटक अभियान सञ्चालन गरिए पनि दिगो समाधान नहुँदा समस्या रहेको छ । सडकमा छाडा चौपायाले निम्त्याएको समस्या केवल दुर्घटनामा सीमित छैन । यसले यात्रुमा मानसिक त्राससमेत सृजना गरेको छ । रातिको समयमा लामो दूरीमा यात्रा गर्ने चालकहरू विशेष सतर्क रहनुपर्ने अवस्था छ ।”
खेतबारीमा सङ्कट
छाडा चौपायाको सबैभन्दा ठूलो असर किसानको खेतबारीमा देखिएको छ । मिहिनेत गरेर लगाइएको बाली रातारात गाईगोरुले खाइदिँदा किसान चिन्तित बन्न थालेका छन् । हाल धानको बीउ छर्ने समय भए पनि बीउ नै जोगाउनसमेत समस्या हुने हो कि भन्ने चिन्ताले सताएको किसान डम्बर विष्ट बताउनुहुन्छ । कैलालीकी किसान पार्वती खत्रीका अनुसार खेतमा लगाएको धान, गहुँ, मकै र तरकारी जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । “दिनभर खेतमा काम गरियो, राति फेरि बाली जोगाउन चौपाया धपाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।
घोडाघोडी नगरपालिका-३ का किसान टेकबहादुर चौधरी पनि छाडा चौपायाका कारण खेतीपाती गर्नै कठिन बन्दै गएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाईगोरुले खेतको मकै र तरकारी नष्ट गरिदिने गरेका छन् । महिनौँको मिहिनेत केही घण्टामै सकिन्छ, बाली हुर्काउन नै कठिन हुन्छ ।” विशेषगरी बाली हुर्काउने समयमा किसानलाई बढी समस्या हुने गरेको छ । गाउँका धेरै किसानले खेत वरिपरि काँडेतार लगाउने वा राति पालैपालो खेत कुरुवा बस्ने गरेका छन् ।
छाडा पशुचौपायाको समस्या समाधानका लागि स्थानीय तहहरूले विभिन्न प्रयास गरिरहेका छन् । घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतका अनुसार नगरपालिकाले कान्जी हाउस निर्माण गरेर छाडा चौपाया व्यवस्थापनको प्रयास गरेको छ । तर सीमित स्रोतसाधन र बढ्दो समस्याका कारण प्रभावकारी व्यवस्थापन गर्न चुनौती भइरहेको उहाँको भनाइ छ । कान्जी हाउस निर्माण गरिए पनि धेरै स्थानमा व्यवस्थापन कमजोर देखिएको छ । घोडाघोडी, लम्कीचुहा, भजनी, जोशीपुर र गोदावरी क्षेत्रमा निर्माण गरिएका गौशाला तथा कान्जी हाउसमा आहारा, पानी र उचित हेरचाहको अभाव देखिएको छ ।
कतिपय स्थानमा गाईगोरु भोकभोकै मर्ने अवस्थासमेत आएको छ । छाडा चौपाया समस्या बढ्नुमा समुदायकै मुख्य भूमिका रहेको स्थानीय रामु बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार मानिसहरूले दूधमात्र उपभोग गर्ने तर गाईगोरुको हेरचाहमा बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो समस्या उत्पन्न भइरहेको छ । दूध दिन छाडेका वा काम गर्न नसक्ने गाईगोरुलाई खुला छाड्ने प्रवृत्ति अझै रोकिएको छैन । छाडा चौपायाको समस्या समाधानका लागी स्थानीय तहले मात्र नभई समुदाय स्वयं जिम्मेवार बन्नुपर्ने घोडाघोडीका नगरप्रमुख खडक रावतको भनाइ छ ।
समाधान खोज्दै गौशालाको अभ्यास
समस्याकै बीच केही सकारात्मक अभ्यासहरू पनि भइरहेका छन् । कैलालीको टीकापुरमा सञ्चालन भइरहेको व्यवस्थित गौशालाले धेरैको ध्यान तानेको छ । टीकापुरस्थित गौशालामा छाडा गाईगोरुको संरक्षणसँगै उनीहरूबाट आर्थिक आम्दानी गर्ने अभ्यास सुरु गरिएको छ । यहाँबाट मल उत्पादन गरिन्छ । उक्त मल किसानमाझ लोकप्रिय बन्दै गएको छ ।
गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहका अनुसार पहिले किसानलाई मल लैजान आग्रह गर्नुपर्ने अवस्था थियो । अहिले भने अग्रिम बुकिङ हुने गरेको छ । प्रतिट्रली रु छ हजार ५०० मा गोबर मल बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । गौशालामा हाल १० जना कर्मचारी कार्यरत छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले व्यवस्थापनका लागि बजेट विनियोजन गर्दै आएका छन्, जसले कर्मचारीको तलब तथा अन्य व्यवस्थापनमा सहयोग पुगेको छ । अध्यक्ष शाहका अनुसार गौशालालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित काम भइरहेको छ । गोबरबाट मल उत्पादन, गहुँतको प्रयोग र अन्य आयमूलक गतिविधिमार्फत सञ्चालन खर्च धान्ने योजना बनाइएको छ ।
गौशालामा गोबर ग्यास प्लान्टसमेत निर्माण गरिएको छ । उक्त प्लान्टबाट स्थानीय ४० भन्दा बढी घरधुरीलाई प्रतियुनिट ४५ रुपैयाँका दरले ग्यास वितरण गरिएको थियो । तर वनक्षेत्र नजिक भएकाले धेरै स्थानीयले दाउरा प्रयोग गर्न सहज ठानेपछि गोबर ग्यासको प्रयोग घट्दै गयो । त्यसपछि हाल ग्यास उत्पादन बन्द अवस्थामा छ । गौशाला व्यवस्थापन समितिका सदस्य दिलबहादुर ठकुल्ला भन्नुहुन्छ, अब टीकापुर बजार क्षेत्रलाई लक्षित गरेर ग्यास वितरण गर्ने लक्ष्य रहेको छ । उहाँ भन्नुहुन्छ, “सिलिन्डरमा ग्यास भरेर वितरण गर्ने योजना बनाइएको छ । यदि यो योजना सफल भयो भने गौशालालाई थप आम्दानीको स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ ।”
चरिचरनले वन वातावरणमा असर
छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएका गौशाला र कान्जी हाउसले चुनौती पनि थपिँदै गएको छ । अधिकांश यस्ता संरचना सामुदायिक वन क्षेत्रभित्र वा वन नजिकै निर्माण गरिँदा वन अतिक्रमणको समस्या देखिन थालेको छ । गौशाला र कान्जी हाउसमा राखिएका गाईगोरुहरूलाई चरिचरनका लागि वन क्षेत्रमा लगिने गर्दा वन संरक्षणमा थप दबाब सृजना भएको छ ।
डिभिजन वन कार्यालय कैलालीका वरिष्ठ वन अधिकृत विश्वराज पण्डितका अनुसार खुला र अव्यवस्थित चरिचरनका कारण वनको प्राकृतिक संरचना गम्भीर रूपमा प्रभावित भएको छ । उहाँका अनुसार वनभित्र छाडा चौपाया प्रवेश गर्दा साना बिरुवा उम्रिन र हुर्किन नपाउने अवस्था सृजना भएको छ, जसले वनको पुनरुत्पादन प्रक्रियामा दीर्घकालीन नकारात्मक असर पारिरहेको छ । “साना बिरुवा उम्रिए पनि टिक्नै सक्दैनन्”, उहाँ भन्नुहुन्छ, “गाईगोरुले खाइदिने, कुल्चिने वा नष्ट गर्ने कारण वन पुनरुत्पादन कमजोर हुँदै गएको छ ।”
वन क्षेत्रमा अनियन्त्रित चरिचरनले केवल वनस्पतिमात्र होइन, माटोको संरचना र गुणस्तरमा समेत असर पारिरहेको संरक्षणकर्मीहरू बताउँछन् । चौपाया धेरै चराउँदा माटो कडा हुने, घाँस-झाडी हराउने र वर्षायाममा माटो बग्ने समस्या देखिने संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ । वनभित्र चौपायाको अत्यधिक प्रवेशले जैविक सन्तुलनमा समेत असर पु¥याइरहेको छ । उहाँ भन्नुहुन्छ, “वन्यजन्तुका बासस्थान सङ्कुचित हुने, शान्त वातावरण खल्बलिने र वन्यजन्तु विस्थापित हुने अवस्था पनि बढ्छ ।”







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र