डाँडाकाँडा छिचोल्दै मनोरम यात्रापछि हामी पुग्यौं तराईका फाँट र हरियालीको बीचमा । वैशाख महिना र तराईको गर्मी भए तापनि बिहानको घाम चर्किन नपाउँदै स्वास्थ्य शिविर स्थलमा महिलाहरूको भिड लागिसकेको थियो । कोही नजिकैबाट त कोही केही घण्टाको यात्रा गरेरसमेत आएका थिए । त्यो भिडमा कोही साना बच्चा बोकेर आएका थिए भने कोही वृद्ध आमाहरूलाई साथमा लिएर पालो कुरिरहेका थिए । धेरैका अनुहारमा आशा र जिज्ञासा देखिन्थ्यो, तर सबैमा एउटै अपेक्षा थियो- ‘कुनै गम्भीर रोग नहोस् ।’
तथ्यांकले एउटा मौन तर गम्भीर यथार्थ उजागर गछन् ः नेपालका धेरै महिलाहरू अझै पनि नियमित स्वास्थ्य परीक्षणको पहुँचभन्दा बाहिर छन् । विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकिरहेका छैनन् । कतिपय महिलाहरू समस्या लुकाएर बस्ने, लाज वा डरका कारण परीक्षण नगराउने तथा आर्थिक अभावका कारण अस्पताल नपुग्ने अवस्था अझै व्यापक छ ।
भक्तपुर क्यान्सर अस्पतालको हाम्रो टोलीको मुख्य उद्देश्य महिलाहरूमा हुने पाठेघरको मुख तथा स्तन क्यान्सरको प्रारम्भिक परीक्षण गर्नु, यी रोगका संकेत र लक्षणबारे स्वास्थ्यसम्बन्धी सचेतना फैलाउनु, कुनै संकेत नदेखिए पनि नियमित रूपमा परीक्षण गराउन तथा समयमै रोग पत्ता लगाई यसको निदान र उपचार गर्न प्रोत्साहन गर्नुथियो । उक्त शिविर हाम्रो अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीसहित १९ सदस्यीय टोलीले सञ्चालन गरेको थियो भने त्यहाँका स्थानीय आयोजक र स्वयंसेवकहरूले पनि साथ दिनुभएको थियो । शिविरमा महिलाहरूलाई निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण (प्याप स्मियर), स्तन परीक्षण, निःशुल्क औषधि वितरण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो ।
गत वैशाख २६ गते ब्लड डोनर्स एसोसिएसन नेपाल, बाराको सहकार्यमा आयोजित शिविरमा २२७ महिलाको प्याप स्मियर परीक्षण र २४४ जनाको स्तन परीक्षण गरिएको थियो । परीक्षणका क्रममा एक महिलामा पाठेघरको क्यान्सरको संकेत देखिएको थियो । उहाँ अहिले भक्तपुर क्यान्सर अस्पतालमा आइसक्नुभएको छ र उहाँको थप जाँच तथा उपचार प्रक्रिया अगाडि बढिसकेको छ । अन्य ३० जनालाई थप जाँच तथा फलोअपका लागि सिफारिश गरिएको थियो ।
त्यसको दुई दिनपछि, वैशाख २८ गते महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको सहकार्यमा जनकपुरमा सञ्चालन गरिएको अर्को शिविरमा २३० जनाको प्याप स्मियर परीक्षण र २४० जनाको स्तन परीक्षण गरिएको थियो । त्यहाँ एक महिलामा पाठेघरको क्यान्सर तथा दुई महिलामा स्तन क्यान्सरको सम्भावना देखिएको थियो भने ३६ जनालाई थप निगरानी तथा परीक्षणका लागि परामर्श दिइएको थियो ।
यी तथ्यांकले एउटा मौन तर गम्भीर यथार्थ उजागर गछन् : नेपालका धेरै महिलाहरू अझै पनि नियमित स्वास्थ्य परीक्षणको पहुँचभन्दा बाहिर छन् । विशेषगरी ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका महिलाहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राख्न सकिरहेका छैनन् । कतिपय महिलाहरू समस्या लुकाएर बस्ने, लाज वा डरका कारण परीक्षण नगराउने तथा आर्थिक अभावका कारण अस्पताल नपुग्ने अवस्था अझै व्यापक छ ।
नेपालमा क्यान्सर नियन्त्रणका लागि उपचारभन्दा पनि प्रारम्भिक पहिचान र जनचेतना प्रभावकारी रणनीति बन्न सक्छ । यदि स्थानीय तह, अस्पताल र सामाजिक संस्थाबीच समन्वय गरी समुदायस्तरमै नियमित मोबाइल स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न सकियो भने धेरै महिलाको जीवन समयमै बचाउन सकिने विश्वास छ ।
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर नेपालमा महिलामाझ सबैभन्दा बढी देखिने क्यान्सरमध्ये पर्छन् । अहिलेको अवस्थामा रोग लागेर अस्पतालसम्म आइपुग्दा धेरैजसो बिरामीहरू रोगको अन्तिम चरणमा पुगिसकेका हुन्छन् र उपचार गर्न धेरै ढिलो भइसकेको अवस्था हुन्छ । तर, प्रारम्भिक अवस्थामै परीक्षण गर्न सकिए उपचारको सम्भावना धेरै उच्च हुन्छ । स्तनको स्व-परीक्षण तथा प्याप स्मियरजस्ता सामान्य परीक्षणहरूले क्यान्सरको सुरुवाती संकेत पहिचान गर्नसक्ने भए पनि गाउँ-बस्तीमा यसको पहुँच अझै सीमित छ ।
शिविरमा सहभागी धेरै महिलाहरूले पहिलोपटक स्तन परीक्षण गराएका थिए । कतिपयले वर्षौंदेखिका समस्या पहिलोपटक स्वास्थ्यकर्मीसमक्ष खुलेर बताएका थिए । यही कारणले यस्ता शिविरहरूको आवश्यकता अझ बढी महसुस भइरहेको छ । नेपालमा क्यान्सर नियन्त्रणका लागि उपचारभन्दा प्रारम्भिक पहिचान र जनचेतना प्रभावकारी रणनीति बन्नसक्छ । यदि स्थानीय तह, अस्पताल र सामाजिक संस्थाबीच समन्वय गरी समुदायस्तरमै नियमित मोबाइल स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न सकियो भने धेरै महिलाको जीवन समयमै बचाउन सकिने विश्वास छ ।
यी शिविरहरूले एउटा स्पष्ट सन्देश दिएका छन् : क्यान्सरविरुद्धको लडाइँ अस्पतालको शैय्याबाट मात्र सुरु हुँदैन, यो गाउँ-टोलमै चेतना फैलाउने अभियानबाट सुरु हुन्छ । समयमै परीक्षण, सही परामर्श र प्रारम्भिक निदान नै क्यान्सर नियन्त्रणको सबैभन्दा बलियो आधार बन्नसक्छ ।
(लेखक डा. कृति लामिछाने भक्तपुर क्यान्सर अस्पतालमा सेवारत हुनुहुन्छ ।)







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…