काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल र भुटानबीच सम्पन्न खेलमा भुटानी ब्याटरलाई ‘टाइम आउट’ गरिएको घटनाप्रति क्षमायाचना व्यक्त गरेको छ।
क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त घटना आफूहरूले प्रवर्द्धन गर्न खोजेको क्रिकेटको मूल्य, मान्यता र खेलभावनाअनुसार नभएको स्पष्ट पारेको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आजको खेलमा भुटानी ब्याटरलाई टाइम आउट गरिएको घटनाले नेपाल क्रिकेट संघले अंगीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेलभावनालाई प्रतिबिम्बित गर्दैन।'
क्यानले नेपालको महिला राष्ट्रिय टोलीको उक्त कदमप्रति संस्थागत रूपमा क्षमा माग्दै खेलका नियमअनुसार निर्णय भएको भए पनि क्रिकेटको वास्तविक भावना केवल लिखित नियममा सीमित नहुने उल्लेख गरेको छ। विज्ञप्तिमा खेलभावना, पारस्परिक सम्मान तथा निष्पक्ष प्रतिस्पर्धा सधैं खेलको केन्द्रमा रहनुपर्नेमा जोड दिइएको छ।
क्यानका अनुसार नेपाल क्रिकेट विकासको क्रममा रहेको राष्ट्र भएकाले खेलमा अनुशासनसँगै खेलभावना र सम्मानलाई उच्च प्राथमिकता दिइन्छ। तर उक्त घटनाले ती मापदण्डहरू पूर्ण रूपमा आत्मसात् गर्न नसकेको स्वीकार गर्दै यसबाट कसैलाई निराशा पुगेको भए त्यसप्रति दुःख व्यक्त गरिएको छ।
साथै क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडीहरू तथा अन्य सरोकारवालाप्रति पनि क्षमायाचना प्रकट गरेको छ।
उक्त खेलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले इनिङ्सको पहिलो बलमै पहिलो विकेट गुमाएको थियो। त्यसपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आउनुपर्ने भुटानी ब्याटर रिट्सी छोडेन निर्धारित ९० सेकेन्डभित्र क्रिजमा उपस्थित हुन सकेकी थिइनन् ।
ब्याटर समयमै मैदानमा नआएपछि नेपाली खेलाडीहरूले क्रिकेट नियमअनुसार अम्पायरसमक्ष ‘टाइम आउट’ को अपिल गरेका थिए। त्यसपछि अम्पायरले नियमबमोजिम उनलाई आउट घोषणा गरेका थिए ।
घटनापछि सामाजिक सञ्जाल तथा क्रिकेट वृत्तमा खेलभावनासम्बन्धी व्यापक बहस सुरु भएको थियो। त्यसै सन्दर्भमा क्यानले आधिकारिक धारणा सार्वजनिक गर्दै भविष्यमा खेलभावनालाई अझ सुदृढ रूपमा आत्मसात् गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।








निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि