भक्तपुर । स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार मानिन्छ। नागरिकका अपेक्षा, गुनासा र सुझावहरू प्रत्यक्ष रूपमा यही तहमा पुग्ने भएकाले वडा कार्यालयहरू विकास र सेवा प्रवाहको पहिलो जवाफदेही निकायका रूपमा रहने गर्छन्। यही सन्दर्भमा सूर्यविनायक नगरपालिका–७ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि र स्थानीयवासीबीच प्रत्यक्ष संवाद भएको छ।
क्रियाशील पत्रकार मञ्च भक्तपुर र सूर्यविनायक नगरपालिकाको आयोजनामा वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा गरेका कामको विवरण प्रस्तुत गर्नुका साथै स्थानीयवासीका प्रश्न, सुझाव र गुनासोहरू सुन्ने र सम्बोधन गर्ने काम गरिएको थियो।
कार्यक्रममा वडा सचिव सूर्यबहादुर माकजुले वडाले आर्थिक वर्षभरि सञ्चालन गरेका योजना तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार नगरसभाबाट स्वीकृत ५४ योजनामध्ये ५० वटा योजना सम्झौतामा गई कार्यान्वयनको चरणमा रहेका छन्। तीमध्ये १४ वटा योजना सम्पन्न भइसकेका छन् भने ३४ वटा योजना निर्माणाधीन अवस्थामा छन्। बाँकी दुई योजना सम्झौता भए पनि कार्य प्रारम्भ हुन बाँकी रहेको तथा चार वटा योजना कोटेशन प्रक्रियामार्फत सञ्चालन गरिने जानकारी उहाँले दिनुभयो।
उहाँले वडाले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा पनि प्राथमिकता दिएको उल्लेख गर्नुभयो। ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो। बालमैत्री वडा निर्माण अभियान, बालबालिकामा लगानी कार्यक्रम, कृषकलाई विद्युतीय स्प्रेयर वितरण, एसईई उत्तीर्ण विद्यार्थी सम्मान तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको पनि उहाँले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा वडाका लागि २ करोड ६० लाख रुपैयाँ तथा नगर कार्यपालिकाबाट थप ४ करोड ७३ लाख रुपैयाँ बजेट विनियोजन भएको पनि प्रस्तुत गरिएको थियो।
तर कार्यक्रमको मुख्य आकर्षण विकासका विवरणभन्दा स्थानीयवासीका प्रश्न बने। सहभागीहरूले सडक, खानेपानी, स्वास्थ्य सेवा, विद्यालय व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण, खेलमैदान, सांस्कृतिक सम्पदा संरक्षण तथा स्वरोजगारका अवसरबारे चर्को प्रश्न र सुझाव राखेका थिए।
स्थानीयवासी रामकृष्ण श्रेष्ठले जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै निर्वाचित भएपछि नियमित रूपमा जनतासँग सम्पर्कमा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले विकासका अपेक्षा धेरै भए पनि कार्यान्वयनको गति सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो।
सडक दुर्घटना नियन्त्रण तथा शान्ति सुरक्षासम्बन्धी प्रश्नको जवाफ दिँदै गुण्डू प्रहरी प्रभागका प्रमुख इन्द्रप्रसाद बोयजुले मापसे जाँच, ट्राफिक निगरानी तथा सुरक्षा व्यवस्थामा आवश्यक कडाइ गरिएको जानकारी दिनुभयो। विशेषगरी लिखुनारायण क्षेत्रमा बिदाका दिन हुने भीडभाड नियन्त्रण तथा चोरी–लुटपाट रोकथाममा ध्यान दिइएको उहाँको भनाइ थियो।
वडाध्यक्ष रविन्द्र सापकोटाले सीमित स्रोत र साधनका बाबजुद सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउनुभयो। कर्मचारी आन्दोलनलगायत चुनौतीका बीच पनि वडा कार्यालयले छिटो र छरितो सेवा दिने रणनीति अपनाएको उहाँको भनाइ थियो।
“जनताको अपेक्षा धेरै छन्, तर स्रोत सीमित छ,” उहाँले भन्नुभयो, “त्यसैले नयाँ योजना थप्नुभन्दा सुरु भएका योजनालाई सम्पन्न गर्ने दिशामा केन्द्रित छौं।” उहाँले अधिकांश सेवा १५ देखि ३० मिनेटभित्र उपलब्ध गराउने व्यवस्था गरिएको पनि जानकारी दिनुभयो।
स्वीमिङ पुल निर्माण संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयको बजेटमार्फत सुरु गरिएको परियोजना भएको उल्लेख गर्दै उहाँले राजनीतिक अस्थिरताका कारण केही योजना प्रभावित भएको स्वीकार गर्नुभयो। बजेट प्राप्ति र कार्यान्वयनमा समन्वय तथा पहुँचको भूमिका महत्वपूर्ण हुने भन्दै उहाँले विकासमा राजनीतिक अस्थिरताको प्रत्यक्ष असर पर्ने धारणा व्यक्त गर्नुभयो।
धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनबारे बोल्दै उहाँले विकासका नाममा इतिहास र सम्पदा मास्न नहुनेमा जोड दिनुभयो। “हामी विकास चाहन्छौं, तर आफ्नो इतिहास, संस्कृति र पहिचान जोगाएर,” उहाँले भन्नुभयो, “धार्मिक पर्यटन, योग प्रवर्द्धन र सांस्कृतिक सम्पदाको संरक्षण योजनाबद्ध रूपमा अघि बढाइनेछ।”
केही घण्टा चलेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताले खुलेर प्रश्न सोध्ने र जनप्रतिनिधिले सार्वजनिक रूपमा जवाफ दिने अभ्यासले स्थानीय शासनमा पारदर्शिता र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि