लण्डन । सन् २०२२ को फिफा विश्वकपको फाइनलमा फ्रान्सका लागि सनसनीपूर्ण ह्याट्रिक गरे पनि टोली पराजित भएपछि केलियन एम्बाप्पेले ट्रफी बुझ्दै गर्दा आफ्नो अनुहारमा खुसी ल्याउन सक्नुभएको थिएन । फुटबलमा गोलले मात्रै टोलीको जित र उपाधिको ग्यारेन्टी गर्दैन, तर एउटा प्रभावशाली स्ट्राइकरले आफ्नो टोलीलाई उपाधि नजिक पुर्याउने बलियो सम्भावना भने सधैँ कायमै राख्छ । विश्वकपको नयाँ संस्करण नजिकिँदै गर्दा इतिहासका गोल्डेन बुट विजेताहरूको साझा विशेषता र यसपटक यो प्रतिष्ठित पुरस्कार जित्न सक्ने प्रमुख खेलाडीहरूको अवस्था निकै रोचक देखिएको छ ।
विश्वकप इतिहासको तथ्यांकलाई हेर्ने हो भने पाका उमेरका खेलाडीहरूले गोल्डेन बुट जित्ने सम्भावना निकै कम हुन्छ, जसले इंल्याण्डका ह्यारी केनका लागि केही चिन्ता थप्न सक्छ । इतिहासमा ३० वर्ष वा सोभन्दा बढी उमेरको खेलाडीले गोल्डेन बुट जितेको घटना एक पटकमात्र घटेको छ । सन् १९९८ को फ्रान्स विश्वकपमा क्रोएसियाले स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक तेस्रो स्थान हासिल गर्दा ३० वर्षीय डाभोर सुकरले ६ गोल गर्दै यो इतिहास रच्नुभएको थियो । सुकरबाहेक अन्य सबै विजेताहरू युवा अवस्थाकै छन् र सामान्यतया गोल्डेन बुट विजेताहरूको औसत उमेर २४.७ वर्ष हुने गर्दछ ।
सन् २०२२ मा २४ वर्षकै उमेरमा एम्बाप्पेले ३५ वर्षीय लियोनेल मेस्सीलाई एक गोलले पछि पार्दै यो औसतलाई कायम राख्नुभएको थियो । विश्वकपकै सबैभन्दा कान्छो उमेरमा गोल्डेन बुट जित्ने कीर्तिमान भने हंगेरीका फ्लोरियन अल्बर्टको नाममा छ, जसले सन् १९६२ को चिली विश्वकपमा २० वर्ष ८ महिनाको उमेरमा संयुक्त रूपमा यो उपाधि जित्नुभएको थियो । यसपटक १८ वर्षीय स्पेनी युवा स्टार लामिन यमालको नजर यो कीर्तिमानतर्फ हुन सक्छ ।
एउटा स्ट्राइकरले एक्लैको बलमा मात्र गोल्डेन बुट जित्न सक्दैन, त्यसका लागि उसलाई टोलीका अन्य खेलाडीबाट बलको निरन्तर आपूर्ति हुनुपर्छ र उसको टोली प्रतियोगिताको अन्तिम चरणसम्म पुग्नुपर्छ । यही कारणले गर्दा पाँच पटकको विश्व विजेता ब्राजिलले इतिहासमा सबैभन्दा बढी ६ पटक गोल्डेन बुट विजेता स्ट्राइकरहरू जन्माएको छ, जसमा सन् १९३८ मा लियोनिदासदेखि सन् २००२ मा रोनाल्डोसम्म पर्दछन् । समूह चरणमा अत्यधिक गोल गर्नु गोल्डेन बुटको यात्राका लागि राम्रो सुरुवात हो, तर टोली नकआउट चरणको सुरुवातमै बाहिरियो भने खेलाडी ठूलो बेफाइदामा पर्छन् ।
सन् २०१८ को रसिया विश्वकपमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समूह चरणमा ४ गोल गरे पनि टोली अन्तिम १६ बाटै बाहिरिँदा उहाँ पछि पर्नुभयो भने इंग्ल्याण्ड सेमिफाइनलसम्म पुग्दा केनले ६ गोल गर्दै बुट जित्नुभयो । यद्यपि यसमा सन् १९९४ को युएसए विश्वकपमा रुसका ओलेग सालेन्को अपवाद बन्नुभएको थियो, जसको टोली समूह चरणबाटै बाहिरिए पनि क्यामरुनविरुद्ध एकै खेलमा ५ गोलसहित कुल ६ गोल गरेर उहाँले गोल्डेन बुट सुरक्षित गर्नुभएको थियो ।
विश्वकपमा चम्किन खेलाडीले आफ्नो क्लब सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेको हुनुपर्छ । सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा जर्मनीका थोमस मुलरले डेब्यु गर्नुअघि देशका लागि एउटै गोल गर्नुभको थिएन, तर बायर्न म्युनिखमा लुइस भान गालको आगमनसँगै नियमित स्थान बनाउनुभएका उहाँले १३ गोल र ११ असिस्टको मद्दतले टोलीलाई लिग जिताएर उच्च लयमा विश्वकप पुग्नुभएको थियो र गोल्डेन बुट जित्न सफल हुनुभयो । इतिहासमा घरेलु लिगको शीर्ष चारभन्दा बाहिरको क्लबमा खेल्ने खेलाडीले विश्वकपमा शीर्ष गोलकर्ता बनेको घटना दुई पटक मात्र भएको छ । मुलरले २०१० मा उरुग्वेका डिएगो फोर्लान, स्पेनका डेभिड भिल्ला र नेदरल्याण्ड्सका वेस्ली स्नाइडर समान ५ गोल गरे पनि तीनवटा असिस्ट (गोल पास) गरेका कारण उपाधि जित्नुभएको थियो । फिफाको नियमअनुसार गोल र असिस्ट दुवै बराबर भएको खण्डमा सबैभन्दा कम मिनेट मैदानमा बिताउने खेलाडीलाई गोल्डेन बुट प्रदान गरिन्छ ।
विश्वकप इतिहासमा अहिलेसम्म कसैले पनि दुई पटक गोल्डेन बुट जित्न सकेको छैन, तर यसपटक एम्बाप्पे र ह्यारी केनका लागि यो ऐतिहासिक अवसर हुन सक्छ । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको फ्रान्स र रियाल म्याड्रिडका स्टार एम्बाप्पे यसपटक पनि मुख्य दाबेदार हुन् । यता ३२ वर्ष पुगिसक्नुभएका केनले यस सिजन आफ्नो क्लबका लागि ५४ गोल गरिसक्नुभएको छ र थोमस टुचेलको नेतृत्वमा रहेको इंग्ल्याण्ड प्रतियोगिताको अन्तिम चरणसम्म पुगेमा उहाँले गोलको वर्षा गर्ने निश्चित छ ।
आठ पटकका ब्यालोन डी’ओर विजेता ३८ वर्षीय लियोनेल मेस्सीका लागि आफ्नो ट्रफी क्याबिनेटमा रहेको गोल्डेन बुटको अभाव खड्किन नदिने यो अन्तिम अवसर हुनेछ । अर्कोतर्फ स्पेनका लामिन यमाल र प्रिमियर लिगमा म्यानचेस्टर सिटीका लागि २६ गोल गर्नुभएका नर्वेका अर्लिङ हालान्ड पनि बलिया दाबेदार हुन्, यद्यपि हालान्डको सम्भावना नर्वे प्रतियोगितामा कति अगाडि बढ्छ भन्ने कुरामा निर्भर हुनेछ ।
यसैगरी साउदी अरेबियामा सफल सिजन बिताउनुभएका ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोको नजर पनि यसै ट्रफीमा हुनेछ, जसलाई पोर्चुगलको बलियो टोली र असिस्ट किङ ब्रुनो फर्नान्डेजको साथ रहनेछ । रियाल म्याड्रिडका २५ वर्षीय भिनिसियस जुनियरले २१ गोल र १४ असिस्टसहित सानदार सिजन बिताउनुभए पनि ब्राजिलको टोली अहिले पाका खेलाडीमा बढी निर्भर रहेकाले उहाँलाई केही गाह्रो हुन सक्छ । फ्रान्सका ओस्मान डेम्बेलेले पेरिस सेन्ट जर्मेनका लागि १९ गोल गर्दै एम्बाप्पेलाई नै चुनौती दिन सक्नुहुन्छ भने अर्जेन्टिनाबाट मेस्सीका अलावा कोपा अमेरिका २०२४ का गोल्डेन बुट विजेता लाउटारो मार्टिनेज र एथ्लेटिको म्याड्रिडका जुलियन अल्भारेज पनि उच्च दौडमा छन् ।
यसबाहेक केही अनपेक्षित खेलाडीहरूले पनि गोल्डेन बुटको दौडमा आश्चर्यजनक चुनौती दिन सक्छन् । स्पेनका मिकेल ओयार्जाबालले छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै ला लिगामा १५ गोल गर्नुभएको छ भने उहाँलाई यमाल र निको विलियम्स जस्ता विंगरहरूको साथ रहनेछ ।
लिभरपुलका अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसले स्विडेनका लागि तथा ब्राजिलका राफिन्हा र इगोर थियागोले पनि आश्चर्यजनक नतिजा निकाल्न सक्छन् । बायर्न म्युनिखका लागि २२ गोल र ३० असिस्ट गरेका फ्रान्सका माइकल ओलिसे र नापोलीका अनुभवी बेल्जियन स्ट्राइकर रोमेलु लुकाकु पनि शारीरिक र प्राविधिक रूपमा बलियो रहेकाले समूह चरणको कुनै एक खेलमा धेरै गोल गर्दै गोल्डेन बुटको दौडमा सनसनी मच्चाउन सक्ने क्षमता राख्दछन् । एजेन्सी







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि