काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट-२०२६ अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित हात पारेको छ । बिहीबार सिंगापुरमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०८ रनमा सीमित भएपछि नेपाल सहज विजयी बनेको हो ।
मलेसियाका कप्तान सयेद अजिजले ४५ बलमा ६ चौका र दुई छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सक्नुभएन । सर्विन मुनैयान्डीले १८ तथा मुहमद हाजिक ऐमानले १३ रन जोड्नुभयो भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १४ रन खर्चेर तीन विकेट लिनुभयो । कुशल मल्ल, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र करन केसीले समान एक–एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७५ रनको विशाल योगफल तयार गरेको थियो । ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि शतकीय साझेदारी गर्नुभएको थियो । नेपालले पावरप्लेमा ९५ रन जोड्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उच्चतम पावरप्ले स्कोरको कीर्तिमानसमेत बनायो ।
आसिफ शेखले २४ बलमा पाँच चौका र सात छक्काको मद्दतले ६८ रन बनाउनुभयो भने भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५४ बलमा १४ चौका र आठ छक्कासहित १२६ रनको शतकीय इनिङ्स खेल्नुभयो । यो उहाँको टी-२० अन्तर्राष्ट्रिय करियरको लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो ।
यस शतकीय इनिङ्ससँगै भुर्तेल नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडीसमेत बन्नुभएको छ । उहाँले ७८ खेलमै यो उपलब्धि हासिल गर्दै दीपेन्द्र सिंह ऐरीको नाममा रहेको दुई हजार १८० रनको कीर्तिमानलाई उछिन्नुभयो ।
नेपालका कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा एक चौका र चार छक्कासहित ३१ रनको तीव्र इनिङ्स खेल्नुभयो । लोकेश बमले १०, सन्दीप जोराले १५, कुशल मल्लले नौ तथा करन केसीले सात रन जोड्नुभयो । रोहित पौडेल भने पहिलो बलमै आउट हुनुभयो ।
मलेसियाका लागि वीरनदीप सिंहले २२ रन खर्चेर तीन विकेट लिनुभयो भने विजय उन्नी र सयेद अजिजले समान दुई-दुई विकेट हात पार्नुभयो ।
समूह ‘ए’ मा रहेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई २२१ रनले पराजित गरेको थियो । उक्त खेलमा नेपालले २० ओभरमा दुई विकेट गुमाउँदै ३१३ रनको कीर्तिमानी योगफल बनाएको थियो भने चीन ९२ रनमै समेटिएको थियो ।
जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा नेपालसँगै मलेसिया र चीन थिए । चीनलाई नेपाल र मलेसिया दुवैले हराएका थिए । नेपाल र मलेसिया दुवै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि