अर्जुन प्रधान । भूटान पिपल्स पार्टी (बीपीपी)ले आफ्नो ३६औं स्थापना दिवसका अवसरमा भूटानमा जारी राजनीतिक दमन, नागरिक अधिकार हनन तथा भूटानी शरणार्थी समस्याबारे पुनः गम्भीर चासो व्यक्त गरेको छ ।
स्थापना दिवसका अवसरमा अध्यक्ष बलराम पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीले सन् १९९० जुन २ मा स्थापना भएयता संवैधानिक राजतन्त्र, बहुदलीय लोकतन्त्र, विधिको शासन तथा सबै नागरिकका लागि समान अधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको जनाएको छ ।
पार्टीले स्वदेश, निर्वासन, प्रवास तथा तेस्रो मुलुकमा पुनर्स्थापित भूटानी नागरिकलाई शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनका क्रममा ज्यान गुमाएका ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै संस्थापक अध्यक्ष स्वर्गीय आर.के.बुढाथोकीको योगदानको स्मरण गरिएको छ । विज्ञप्तिमा भूटान सरकारको ‘एक राष्ट्र, एक जनता’ नीतिका कारण करिब डेढ लाख भूटानी नागरिक विस्थापित भएको दाबी गरिएको छ । तीमध्ये करिब एक लाख २० हजार नागरिक नेपालमा शरणार्थी बन्न बाध्य भएको र ठूलो संख्यामा शरणार्थीहरू विभिन्न विकसित मुलुकमा पुनर्स्थापित भइसकेको उल्लेख गरिएको छ । पुनर्स्थापनाको निर्णय बाध्यात्मक परिस्थितिको परिणाम भएको पार्टीको भनाइ छ ।
बीपीपीले संयुक्त राज्य अमेरिकाबाट पुनर्स्थापित केही भूटानी नागरिकलाई पुनः भूटानमा गोप्य रूपमा सुपुर्दगी गरिएको भनिएको घटनाप्रति आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेको छ । पार्टीले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न, पीडितको सुरक्षा सुनिश्चित गर्न तथा संयुक्त राष्ट्रसंद्दीय निकाय र मानवअधिकार संस्थाहरूलाई हस्तक्षेप गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भूटानी शरणार्थी समस्याको न्यायपूर्ण र दिगो समाधानका लागि नेपाल सरकारले कूटनीतिक तथा राजनीतिक पहल गर्नुपर्ने माग पनि गरिएको छ । त्यसैगरी, भूटानमा भारतीय सैन्य तथा अर्धसैनिक उपस्थितिले राष्ट्रिय सार्वभौमिकतामाथि प्रश्न उठाएको तथा चीनसँगको सीमा विवादबारे भूटान सरकारको मौनताले राष्ट्रिय सुरक्षासम्बन्धी गम्भीर चिन्ता उत्पन्न गरेको पार्टीको दाबी छ ।
पार्टीले भूटानी समुदायलाई आफ्नो ऐतिहासिक विरासत, सांस्कृतिक पहिचान र मातृभूमिसँगको सम्बन्ध जोगाइराख्न एकजुट हुन आह्वान गर्दै लोकतन्त्र, मानवअधिकार र न्यायको पक्षमा संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि