काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम १० महिना अर्थात् साउनदेखि वैशाखसम्ममा नेपालको कुल वैदेशिक व्यापार (वस्तु) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.७५ प्रतिशतले बढेर १९ खर्ब ४१ अर्ब ६१ करोड पुगेको छ । कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः १२.८२ प्रतिशत र ८७.१८ प्रतिशत रहेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालको कुल निर्यात १४.२५ प्रतिशतले बढेर दुर्ई खर्ब ४८ अर्ब ९६ करोड पुगेको छ भने कुल आयात १४.८२ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब ६४ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८२/८३ को प्रथम १० महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यातभन्दा आयात बढ्दा व्यापारघाटा १४.९२ प्रतिशतले बढेर कुल व्यापारघाटा १४ खर्ब ४३ अर्ब ६८ करोड पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रथम १० महिनामा निर्यात-आयात व्यापार अनुपात १ः६.७७ रहेकोमा चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो अनुपात १ः६.८० रहन आएको छ ।
कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको १० महिना अवधिमा चीनतर्फको हिस्सा १.१० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त हिस्सा ०.५६ प्रतिशतमा सीमित भएको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम १० महिनामा नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा सोयाबिन तेल, अलैंची, यार्न, जुट तथा जुटका सामान, ऊनी गलैंचा, तयारी पोशाक, पामतेल, सूर्यमुखी तेल, ऊनी फेल्ट उत्पादन, जुस, चिया, फलाम तथा फलामजन्य उत्पादन, प्लाइउड, पश्मिना शल, पिना, चाउचाउ, जुत्ता चप्पल, कत्था, सिमेन्ट, कपडा, कुकुर बिरालाका आहारा, जडीबुटी र नेपाली हातेकागज प्रमुख रूपमा रहेका छन् ।
सो अवधिमा यार्न निर्यात ०.१७ प्रतिशतले बढेर ११ अर्ब ६८ करोड पुगेको छ भने ऊनी गलैंचा निर्यात ४.११ प्रतिशतले घटेर आठ अर्ब ४८ करोडमा सीमित भएको छ । तयारी पोशाक निर्यात पनि ४.८९ प्रतिशतले बढेर सात अर्ब ३२ करोड पुगेको छ । प्लाइऊड निर्यात २७.६० प्रतिशतले घटेर चार अर्ब ४८ करोडमा सीमित भएको छ भने जुट तथा जुटका उत्पादन निर्यात २०.७३ प्रतिशतले बढेर आठ अर्ब ३६ करोड पुगेको छ ।
अर्को प्रमुख निर्यातजन्य वस्तु ऊनी फेल्ट निर्यात पनि १२.९२ प्रतिशतले बढेर चार अर्ब ६२ करोड पुगेको छ । समीक्षा अवधिमा जुस निर्यात २.७१ प्रतिशतले घटेर छ अर्ब ४५ करोडमा सीमित भएको छ भने फलाम तथा तिनको उत्पादन निर्यात पनि ७५.४५ प्रतिशतले घटेर तीन अर्ब ४० करोडमा सीमित भएको छ । सोयाबिन तेल निर्यात भने २८.५८ प्रतिशतले बढेर एक खर्ब एक अर्ब २७ करोड पुगेको छ ।
पामतेलको निर्यात पनि दुई सय ४२ प्रतिशतले बढेर छ अर्ब ६१ करोड पुगेको छ भने सूर्यमुखी तेल निर्यात २६.५८ प्रतिशतले घटेर सात अर्ब ४१ करोडमा सीमित भएको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यात ७१.२२ प्रतिशतले बढेर ११ अर्ब ४२ करोड पुगेको छ भने कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चिया निर्यात १५.७२ प्रतिशतले घटेर तीन अर्ब ३५ करोडमा सीमित भएको छ ।
अदुवा निर्यात १०७.१५ प्रतिशतले बढेर एक अर्ब नौ करोड पुगेको छ भने पिना (आयलकेक) निर्यात १.०१ प्रतिशतले बढेर तीन अर्ब छ करोड पुगेको छ । चालु आर्थिक वर्षको प्रथम १० महिनामा नेपालबाट भारततर्फ हुने निर्यात १६.०८ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ४१.७१ प्रतिशतले घटेको छ । नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चीनतर्फको हिस्सा १.१० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त हिस्सा ०.५६ प्रतिशतमा सीमित भएको हो ।
भारत र चीनबाहेकका तेस्रो मुलुकतर्फको समग्र निर्यात ९.४८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको प्रथम १० महिनामा नेपालको कुल निर्यातमा भारत, चीन र तेस्रो मुलुक (चीन र भारतबाहेक)हरूको हिस्सा क्रमशः ८२.०९ प्रतिशत, ०.५६ प्रतिशत र १७.३५ प्रतिशत रहेको छ । नेपालको कुल निर्यातमा भारत, चीन र तेस्रो मुलुक(चीन र भारतबाहेक)को हिस्सा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा क्रमशः ८०.८० प्रतिशत, १.१० प्रतिशत र १८.११ प्रतिशत रहेको थियो । भारततर्फको निर्यातमा खाद्यतेल, मसलाजन्य उत्पादन (अलैंची, अदुवा), सेन्थेटिक यार्न, प्लाइऊड, जुस, जुट तथा जुटका उत्पादन, खाद्य उद्योगका सहउत्पादनहरू(पिना, ढुटो), रोजिन र रेजिन एसिड, चिया, अम्रिसो र कत्था प्रमुख वस्तुका रूपमा रहेका छन् ।
नेपालको कुल निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चीनतर्फको हिस्सा १.१० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त हिस्सा ०.५६ प्रतिशतमा सीमित भएको छ । चीनतर्फको निर्यातमा प्रमुख स्थान हासिल गर्ने वस्तुमा ऊनी गलैंचा, तामाका उत्पादन, तयारी पोशाक, ऊनी फेल्टका उत्पादन, फर्निचर, ट्रेसिङ कपडा, जडीबुटी, छाला, संगीत साधन, खाद्य परिकारहरू प्रमुख निर्यातित वस्तुका रूपमा रहेका छन् ।
आयाततर्फ समग्रमा चालु आर्थिक वर्षको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयात १४.२० प्रतिशतले बढेर दुई खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात १.६४ प्रतिशतले बढेर एक खर्ब ४० अर्ब १९ करोड पुगेको छ । मेसिनरी तथा पार्ट्स आयात २३.६० प्रतिशतले बढेर एक खर्ब २३ अर्ब ६० करोड पुगेको छ ।
औषधि आयात १.०२ प्रतिशतले घटेर ३५ अर्ब १९ करोड पुगेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री आयात ७.९९ प्रतिशतले बढेर ६४ अर्ब ८२ करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जा आयात १७.६९ प्रतिशतले बढेर ९६ अर्ब ७९ करोड पुगेको छ । खाद्यान्न आयात २.५९ प्रतिशतले घटेर ५१ अर्ब २६ करोड पुगेको छ । दूरसञ्चारका सामग्री आयात ३५.७३ प्रतिशतले बढेर ४७ अर्ब ३९ करोड पुगेको छ भने सुन आयात ४२.३८ प्रतिशतले बढेर २७ अर्ब ९४ करोड पुगेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…