काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजित भएको छ । महामन्त्री डा. धवलशमशेर राणा समूह पार्टीबाट अलग्गिएको हो । उहाँसहित पार्टीका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा विभिन्न तहका नेता-कार्यकर्तासहित १८३ जनाले संयुक्त रूपमा पार्टी परित्याग घोषणा गरेका हुन् । बुधबार जारी गरिएको घोषणापत्रमा उनीहरूले राप्रपाको मूल विचार, संवैधानिक राजसंस्थासहितको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धता र पार्टीको स्थापनाकालीन उद्देश्यप्रति आफूहरू अझै अडिग रहेको उल्लेख गरेका छन् । तर, पार्टी नेतृत्वले पार्टीको वैचारिक आधार, एकता महाधिवेशनको मर्म तथा लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाएको आरोप लगाएका हुन् । घोषणापत्रमा राप्रपाको एकता महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको ढोका खोले पनि मूल नेतृत्वको ‘हीनभाव, कमजोरी र आत्मकेन्द्रित शैली’का कारण ती सम्भावनाहरू क्षीण भएको दाबी गरिएको छ । पार्टी नेतृत्वले केन्द्रीय कार्यसमिति र अन्य संरचनालाई बेवास्ता गर्दै एकल निर्णय गर्ने प्रवृत्ति अपनाएको आरोप पनि उनीहरूले लगाएका छन् ।
पार्टीले लिएको संवैधानिक राजसंस्था पुनःस्थापनाको मूल एजेण्डाबाट नेतृत्व विचलित भएको, संगठनभित्र जवाफदेहिता र आन्तरिक लोकतन्त्र कमजोर बनेको तथा विधानविपरीत गतिविधि बढेको उनीहरूको आरोप छ । यस्ता कारणले पार्टी जनताबाट टाढिँदै गएको र पछिल्ला निर्वाचनहरूमा अपेक्षित परिणाम हासिल गर्न नसकेको दाबी घोषणापत्रमा गरिएको छ । पार्टी परित्याग गर्ने प्रमुख नेताहरूमा पूर्वमन्त्री तथा नेता डा. राणा, मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायणप्रसाद कोइराला, प्रवक्ता सगुन सुन्दर लावतीलगायत नेता छन् । सूचीमा केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरू समेत रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावलगत्तै पार्टी छाडेको घोषणा गर्नुभएको थियो ।
संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र र उदार अर्थतन्त्रको जगमा स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ३५/३६ वर्षे इतिहास विभाजन र एकताकै दुष्चक्रमा बितेको छ । विचार मिल्ने तर स्वार्थ नमिल्ने पूर्वपञ्च नेताहरूको टकरावका कारण यो पार्टी स्थापनाकै दिनदेखि आजसम्म पटक-पटक फुट र जुटको शृंखलाबाट गुज्रिरहेको छ । २०४६ सालमा स्थापना भएको पार्टी एक वर्षमै २०४७ सालमा विभाजित भएको थियो । २०४८ सालमा फेरि बाध्य भएर राप्रपा एकीकरण भएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जितेर संसद्मा निर्णायक तेस्रो शक्तिको रूपमा उदय भयो । त्यसपछि सत्ताको दाउपेचका कारण दोस्रो पटक विभाजित भएको पार्टी २०५६ को निर्वाचनपछि २०५७ सालमा पुनः एकीकृत भएको थियो । २०५९ सालमा राजा ज्ञानेन्द्रले देउवा सरकारलाई बर्खास्त गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएपछि राप्रपाभित्र फेरि दरार आएको थियो । २०६२ पुसमा कमल थापाले राप्रपा नेपाल र सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी (राजपा) गठन गरेका थिए ।
२०६४ को निर्वाचनमा नराम्रो पराजय भोगेका राप्रपा र राजपाबीच २०७० मा एकता भयो र उनीहरूले गणतन्त्रलाई स्वीकार गरे । यता, कमल थापा नेतृत्वको राप्रपा नेपाल भने राजतन्त्रकै एजेण्डामा अडिग रह्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि संसद्मा ३७ सिट पुर्याउँदै यी दुई घटकबीच पुनः एकता भए पनि सरकारमा सहभागी हुने विवादका कारण २०७४ मा पशुपतिशमशेर राणाले राप्रपा (प्रजातान्त्रिक) गठन गरे । २०७६ फागुनमा राणा, थापा र लोहनीका तीनवटा घटकबीच फेरि एकता भयो । तर, २०७८ मंसिरमा भएको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष चुनिएपछि असन्तुष्ट बनेका कमल थापा फेरि बाहिरिएर राप्रपा नेपाल पुनर्गठन गरे । हाल उहाँ पनि राप्रपामै आइसक्नु भएको छ ।
नयाँ पार्टी खोल्ने घोषणा
राप्रपा छोड्नुभएका डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणाले नयाँ पार्टी गठनको औपचारिक घोषणा गर्नुभएको हो । राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्दै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यसहित अभियान अघि बढाइएको उहाँले बताउनुभयो । नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पार्नुभयो । दुर्गा प्रसाईंको अभियानलगायत अन्य राजावादी, राष्ट्रवादी र हिन्दूवादी संघ–संस्था तथा व्यक्तिहरूलाई समेट्ने उहाँको योजना छ । ‘धेरै परिश्रम र गाली खाएर मैले नै जोडेको, बनाएको घरबाट म अलग हुनुपरेको छ । म पार्टी छोडेर अर्को घर निर्माण गर्न गइरहेको छु, जो एउटा मजबुत राष्ट्रवादी पार्टी जसमा राजासहितको प्रजातन्त्र हुनेछ’, उहाँले भन्नुभयो ।
मैले पार्टी खोलेको होइन, अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न लागेको हो : डा. राणा
राप्रपा परित्याग गर्नुभएका धवलशमशेर राणाले आफ्ना निम्ति राजनीतिक जीवनको सबैभन्दा दुःखद क्षण विगत चार वर्ष भएको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित पार्टी परित्याग घोषणा कार्यक्रममा उहाँले राप्रपामा लागेयता विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा दुःखद क्षण भएको बताउनुभएको हो । ‘घरै छोड्नुपर्ने दिन आयो, यो दुःखको दिन हो । पार लाग्दैन भनेर ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो छोडेर अर्को घर पनि बनाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘राप्रपालाई मैले एजेण्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिइनँ कि ?
आन्दोलनको नेतृत्व गरेको थिइनँ कि ? सुधारेर राष्ट्रकै पहिलो पार्टी बनाउन खोजेको थिइनँ कि ? तर, सबै प्रयासहरू अगाडि बढाउन दिइएन ।’ चार वर्षको कार्यकाल सकिएर ६ महिना थपिँदा पनि जेठमा महाधिवेशन गर्न नेतृत्वले चासो नदेखाएको उहाँको भनाइ थियो । अझै यही परिस्थितिमा गए राप्रपाले स्थानीय तहमा लड्ने उम्मेदवार पनि नपाउने उहाँले बताउनुभयो । ‘मक्किइसकेको चर्किसकेको घरबाट पार लाग्दैन’, उहाँले भन्नुभयो, ‘मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ’, उहाँले भन्नुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम