भोजपुर । सरकारद्वारा एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्गको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यले ‘आठौं संस्करण मुन्दुम मनसुन ट्रेल रेस’ आयोजना गरिने भएको छ।
आयोजक रिमाचुङ एजुकेशन एण्ड स्पोर्ट्स एकेडेमीले बिहीबार चखेवामा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २५ गते प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो।
एकेडेमीका अध्यक्ष पावीहाङ राईका अनुसार १८ किलोमिटर दूरीको ट्रेल रेस पुरुष तथा महिला खुला र ४० वर्षमाथिका महिला–पुरुष (भेट्रान) विधामा सञ्चालन गरिनेछ। प्रतियोगितामा महिला तथा पुरुष गरी कुल ७५ जना खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ।
अध्यक्ष राईले मुन्दुम पदमार्गमा वर्षायामसहित सबै मौसममा भ्रमण गर्न सकिने सन्देश प्रवाह गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार रेस चखेवाबाट सुरु भई बेसक्याम्प, टेम्के र तावाभञ्ज्याङ हुँदै पाँचधारेसम्म सञ्चालन हुनेछ।
यस्ता प्रतियोगिताले मुन्दुम पदमार्गको पर्यटन प्रवर्द्धनका साथै साहसिक खेल पर्यटनलाई समेत थप टेवा पुग्ने आयोजकको विश्वास छ।
पुरस्कारतर्फ खुला महिला तथा पुरुष दुवै विधामा प्रथम हुने खेलाडीले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार रुपैयाँ र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस विधामा सातौँ स्थानसम्मका विजेतालाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। चौथो हुनेले २ हजार रुपैयाँ, पाँचौँले १ हजार ५ सय रुपैयाँ, छैटौँले १ हजार रुपैयाँ र सातौँले ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।
त्यसैगरी भेट्रान महिला तथा पुरुषतर्फ प्रथमलाई १५ हजार रुपैयाँ, द्वितीयलाई १० हजार रुपैयाँ र तृतीयलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सबै विधाका उत्कृष्ट तीन स्थान हासिल गर्ने खेलाडीलाई ट्रफीसहित नगद पुरस्कार प्रदान गरिनेछ।
पूर्वी नेपालको चर्चित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्ला वर्षहरूमा ट्रेल रेसलगायत विभिन्न खेलकुद तथा पर्यटन प्रवर्द्धनका गतिविधि सञ्चालन हुँदै आएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि