काठमाडौं । विगत २० वर्षदेखि संसारका १९९ पासपोर्ट र २२७ गन्तव्यहरूको जानकारी दिँदै आएको हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को प्रतिवेदन सार्वजनिक भएको छ । उक्त प्रतिवेदनअनुसार नेपालले गत वर्षभन्दा चार स्थान माथि उक्लिएर आफ्नो ग्लोबल र्यांकिङमा सुधार गरेको हो । तर, भिसाविना वा अनराइभल भिसामार्फत यात्रा गर्न मिल्ने देशको संख्या भने घटेकाले नेपालको पासपोर्टको वास्तविक शक्ति भने अझै कमजोर देखिएको छ ।
अघिल्लो वर्ष नेपालले ३६ देशहरूमा बिना भिसा र अनअराइभल भिसा लिएर यात्रा गर्ने पहुँच पाएको थियो भने यो वर्ष नेपालले एक देश गुमाएर केवल ३५ देशहरूमा यस्तो पहुँच खुम्च्याएको छ । भिसा पहूँच घटेपनि अन्य देशहरूको स्थानमा आएको परिवर्तनका कारण नेपाल १०१औं स्थानबाट उक्लिएर ९७औं स्थानमा पुगेको हो ।
हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार नेपाल र उत्तर कोरिया समान ३५ देशमा भिसाविना पहुँचसहित संयुक्त रूपमा ९७औं स्थानमा रहेका छन् । उत्तर कोरिया विश्वकै सबैभन्दा बन्द मुलुकमध्ये एक मानिने भएकाले नेपालको राहदानी पनि सोही स्तरमा देखिनुले कूटनीतिक प्रभावकारितामाथि प्रश्न उठाएको छ । यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ । सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना (भिसा-फ्री) यात्रा गर्न सक्छन् ।
जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स १८७ देशमा पहुँचसहित संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । सरसर्ती हेर्दा नेपालको स्थान १०१ बाट ९७ मा पुगेर सुधार भएको जस्तो देखिन्छ । तर, वास्तविकतामा नेपालले एउटा देशको भिसा-फ्री पहुँच गुमाएको छ । अन्य देशहरू तलमाथि परेका कारण मात्र नेपालको र्यांकमाथि सरेको हो ।
दक्षिण एसियाली राष्ट्रहरूको तुलनामा पनि नेपालको अवस्था कमजोर देखिएको छ । माल्दिभ्स ९२ देशमा पहुँचसहित ५०औं स्थानमा रहेको छ भने भारत ५७ देशमा पहुँचसहित ७८औं स्थानमा रहेको छ । त्यसपछि भुटान ८७औं (४७ देश), श्रीलंका ९४औं (३९ देश) र बंगलादेश ९६औं (३६ देश) स्थानमा छन् ।
नेपाल ९७औं (३५ देश) स्थानमा छ भने नेपालभन्दा तल पाकिस्तान १००औं (३० देश) र अफगानिस्तान १०३औं (२३ देश) स्थानमा मात्र छन् । सार्क राष्ट्रहरूको तुलनात्मक अवस्था हेर्दा नेपाल एकदम कमजोर अवस्थामा रहेको छ । आर्थिक र राजनीतिक संकट भोगेका श्रीलंका र बंगलादेशको पासपोर्टसमेत नेपालको भन्दा बलियो हुनुले नेपालको अन्तर्राष्ट्रिय साखमा प्रश्न खडा गरेको छ ।
नेपालको राहदानीको अवस्था युद्ध, राजनीतिक अस्थिरता तथा दीर्घकालीन संकट भोगेका देशहरूसँग नजिक देखिएको छ । नेपाल भन्दा तल सोमालिया, यमन, इरान र सिरिया रहेका छन् । शान्तिपूर्ण र लोकतान्त्रिक मुलुक हुँदाहुँदै पनि राहदानीको पहुँच विस्तार गर्न नसक्नु नेपालका लागि चुनौतिको रूपमा देखिएको छ । नेपालभन्दा लगत्तै तल सोमालिया ३२ देशमा पहुँचसहित ९८औं, ३१ देशमा पहुँचसहित यमन ९९औं, २९ देशमा पहुँचसहित इराक १०१औं र २६ देशमा पहुँचसहित सिरिया १०२औं स्थानमा रहेका छन् । नेपाल दशकौँदेखि शान्तिपूर्ण देश हो । तर, राहदानीको शक्तिको हिसाबले नेपाल अझै पनि चरम गृहयुद्ध, आतंकवाद र अस्थिरता भोगेका देशहरूकै लहरमा उभिएको देखिन्छ ।
उता, छिमेकी राष्ट्र चीनले उल्लेखनीय सुधार गर्दै ८२ देशमा पहुँचसिहत ५६औँ स्थान हासिल गरेको छ । गत बर्ष ६४औं स्थानमा रहेको चीनले छोटो अवधिमै उल्लेखनिय कूटनीतिक फड्कमे मारेको देखिन्छ । भारतले पनि ५७ देशमा पहुँचसिहत आफनो स्थिति बलियो बनाइरहेको छ ।
नेपालको स्थानमाथि उक्लिए पनि भिसा फी पहुँच घटेकाले यसलाई वास्तविक प्रगति भन्न सकिँदैन । राहदानीको शक्ति वृद्धि गर्न द्विपक्षीय सम्बन्ध विस्तार, कूटनीतिक पहल र अन्तर्राष्ट्रिय विश्वास अभिवृद्धि आवश्यक रहेको विज्ञहरू बताउँछन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…