काठमाडौं । मुस्ताङको कोरोला नाकाबाट भित्रिएका बिवाइडीका ७७४ वटा विद्युतीय सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति र बिहीबार बिहान सशस्त्र प्रहरीले ती गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन भएका थिए । नुवाकोटको पासाङल्हामु सडकबाट पनि दुईवटा गाडी नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।
डिआइजी भट्टका अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानविनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो । उहाँले अधिकांश सवारीसाधन नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा फेलापरेको बताउनुभयो । ‘करको दर हेरफेर भएको सूचना लिक भएको आशंकामा थप छानविनका लागि सवारीसाधन नियन्त्रणमा लिइएको हो’, उहाँले भन्नुभयो, ‘छानविनबाट भन्सार प्रक्रिया, कर निर्धारण तथा बजेटअघिको आयात गतिविधिमा कुनै अनियमितता भएको पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही अघि बढाइनेछ ।’
भन्सारका कर्मचारी, भन्सार एजेण्ट र व्यापारीको मिलेमतोमा बजेट वक्तव्यअगावै गाडी जाँचपास गरेर छिराइएको सूचनापछि त्यस्ता गाडीको खोजविनमा सरकारी संयन्त्र परिचालन गरिएको थियो । सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय सवारीसाधनसम्बन्धी कर संरचनामा हेरफेर गरेको छ ।
पटक–पटकको विवादमा ‘साइमेक्स इंक’
यसअघि नै चिनियाँ विद्युतीय गाडी ‘बिल्ड योर ड्रिम’ (बिवाइडी)को नेपालस्थित बिक्रेता ‘साइमेक्स इंक’ प्रालिले भन्सारमा गाडी नआउँदै जाँचपास गराएको तथ्य बाहिरिएको थियो । बजेटपछि मूल्य बढ्ने सुइँको पाएर भन्सारका कर्मचारीहरूसँगको मिलेमतोमा साइमेक्स इंकले गाडी नै नभए पनि सयौँ सवारीसाधनको जाँचपास गरी भन्सार क्लियरेन्स गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले साइमेक्स इंक र रसुवा भन्सार कार्यालयका अधिकारीमाथि अर्थ मन्त्रालय र भन्सार विभागले छानविन गरिरहेको छ ।
घटनापछि मन्त्रालय र विभागले रसुवागढी नाकामा विशेष अनुसन्धान टोली खटाएर छानविन थालेको उच्च स्रोतले जनाएको छ । भन्सार ऐनअनुसार सामान्य अवस्थामा जाँचपास हुनुअघि सम्बन्धित वस्तु भौतिक रूपमा भन्सार क्षेत्रमा आइसकेको हुनुपर्छ । बिवाइडी ब्राण्डका विद्युतीय गाडी आयातसँग जोडिएको कर छली प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहित ६ कर्मचारीलाई भन्सार विभागले फिर्ता बोलाएको छ ।
भन्सार विभाग उच्च स्रोतका अनुसार भट्टराईसहित अधिकृत ठाकुर गौतम, भन्सार अधिकृत खड्गबहादुर माझी, कम्प्युटर अधिकृतद्वय सविना अधिकारी र प्रकाश पुडासैनी तथा नायब सुब्बा तेजबहादुर बललाई विभागमा तानेर अनुसन्धान अघि बढाएको हो । उनीहरूमाथि बिवाइडीका विद्युतीय गाडीको कर छली योजनामा सहयोग गरेको आरोप लागेको छ ।
गाडी नियन्त्रणको विषयमा थप जानकारी लिन हामीले बिवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उहाँको मोबाइल स्विच अफ रहेको थियो ।
साइमेक्स इंक प्रालिमाथि यसअघि पनि न्यून बिजकीकरण गरी कर छली गरेको आरोप लागेको थियो । एउटै कम्पनीसँग सम्बन्धित यस्ता विवादहरू पटक–पटक दोहोरिनुले नियामकीय निगरानीको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ ।
यसअघि उच्च क्षमताका इभीलाई कम देखाएर भन्सार तथा अन्तःशुल्कमा छुट लिएको विषयमा राजस्व अनुसन्धान विभाग तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायत निकायबाट भएको छानविन अन्तिम चरणमा पुगेको छ । साइमेक्स इंकमाथि बिवाइडीका उच्च क्षमताका इभीलाई कम क्षमताको देखाई भन्सार तथा अन्तःशुल्कमा करोडौँ रुपैयाँ छुट लिएको आरोपमा राजस्व अनुसन्धान विभागले २०८१ असार ४ गते छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो । तर, दुई वर्ष बितिसक्दा पनि अनुसन्धान निष्कर्षमा पुगेको छैन । यस अवधिमा विभागमा आधा दर्जनभन्दा बढी महानिर्देशक फेरिए पनि प्रकरण टुंगोमा पुग्न सकेको छैन ।
महालेखा परीक्षकको प्रतिवेदनले समेत रसुवा र तातोपानी नाकाबाट आयात भएका केही विद्युतीय सवारीमा वास्तविक क्षमताभन्दा कम, विशेषगरी ९९ किलोवाट देखाएर न्यून कर तिरिएको औँल्याएको थियो । प्रतिवेदनले यसबाट करिब तीन अर्ब ७७ करोड रुपैयाँ बराबर राजस्व जोखिममा परेको प्रारम्भिक निष्कर्षसमेत प्रस्तुत गरेको थियो । विद्यमान व्यवस्थाअनुसार १०० किलोवाटभन्दा कम क्षमताका इभीमा कम कर लाग्छ भने सोभन्दा माथिका सवारीमा उच्च दरको भन्सार तथा अन्तःशुल्क लागू हुन्छ । यही व्यवस्थाको फाइदा उठाएर बिवाइडी गाडी मोटर क्षमतासम्बन्धी विवरणमा हेरफेर गरेको आरोप लामो समयदेखि उठ्दै आएको छ ।
बीवाइडी आयातमा कुनै विशेष सुविधा लिइएको छैन : साइमेक्स इंक
बीवाइडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इंकले हालै सार्वजनिक रूपमा उठाइएका आयात तथा भन्सार जाँचपाससम्बन्धी आरोपहरू निराधार रहेको स्पष्ट पारेको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि नेपाल भित्रिएका तथा भन्सार जाँचपास भएका बीवाइडीका सवारीसाधनहरू प्रचलित कानुन, भन्सार नियमावली र निर्धारित प्रक्रियाअनुसार नै आयात तथा जाँचपास गरिएको जनाएको छ । साइमेक्सका अनुसार हाल चर्चामा रहेका सवारीसाधनमध्ये केही नेपाल भित्रिसकेर भन्सार जाँचपास सम्पन्न भइसकेका छन् भने २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा आइपुगे पनि हालसम्म जाँचपास प्रक्रिया पूरा भएको छैन ।
कम्पनीले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको दाबी गरेको छ । साथै त्यस्तो कुनै सुविधा माग नगरेको र प्राप्त पनि नगरेको स्पष्ट पारेको छ । साइमेक्सले ग्राहकबाट प्राप्त अग्रिम बुकिङ पूरा गर्न तथा विद्युतीय सवारीसाधनको बढ्दो माग सम्बोधन गर्न नियमित व्यावसायिक योजना, उत्पादन तालिका, ढुवानी उपलब्धता र मौज्दात व्यवस्थापनका आधारमा सवारीसाधन आयात गरिएको जनाएको छ ।
कम्पनीले सरकारी निकायसँग समन्वय गरी कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप असत्य, निराधार तथा आफ्नो प्रतिष्ठामा आघात पुर्याउने खालको भएको उल्लेख गरेको छ । साइमेक्सले उक्त खण्डन विज्ञप्तिमार्फत पठाएपनि त्यसमा कम्पनीको छाप, आधिकारी नाम र हस्ताक्षर भने कसैको पनि राखिएको छैन ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…