काठमाडाैं । विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव, पूर्वाधार विकास मन्त्रालयका सचिव लगायत उच्च सरकारी अधिकारी पनि सहभागी थिए ।
यस्तो छ उबरले जारी गरेको विज्ञप्ति
विश्वव्यापी राइड-सेयरिङ एप उबरले आज नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ । यससँगै दक्षिण एशियाका तीव्र गतिमा विकसित हुँदै गएका शहरी बजारहरूमध्ये एक नेपालमा उबरको विश्वसनीय यातायात प्लेटफर्म उपलब्ध भएको छ । यो सुरुवातसँगै नेपाल उबरको APAC क्षेत्रको ११औँ बजार बनेको छ र एक दशकयता दक्षिण एशियामा उबरले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ, जसले उबरको विश्वव्यापी विस्तार यात्रामा यस क्षेत्रको रणनीतिक महत्त्वलाई थप सुदृढ बनाएको छ ।
नेपालमा उबरले चारपाङ्ग्रे सवारीअन्तर्गत Uber Go र Uber Comfort, तथा दुईपाङ्ग्रे सवारीअन्तर्गत Uber Bike सेवा सञ्चालनमा ल्याएको छ । यी सेवाहरूले यात्रुहरूलाई शहरभित्र आवतजावतका लागि सरल, भरपर्दो र सहज विकल्प प्रदान गर्नेछन् ।
नेपाल अब ७० भन्दा बढी देशहरूमा फैलिएको उबरको विश्वव्यापी सञ्जालको हिस्सा बनेको छ । यसले यात्रुहरूलाई विश्वका प्रायः जुनसुकै स्थानमा पनि एउटै परिचित एपमार्फत यात्रा गर्न सकिने सुविधा प्रदान गर्दछ । काठमाडौंभित्र दैनिक आवतजावत होस् वा अन्तर्राष्ट्रिय यात्रा, यात्रुहरूले एउटै एपमार्फत सहज रूपमा सेवा लिन सक्नेछन् ।
उबरको एशिया-प्रशान्त क्षेत्र (APAC) का राइड्स विभागका क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले भने, “हामी नेपालमा उबर सेवा सुरु गर्न पाउँदा उत्साहित छौँ र नेपाललाई उबरको विश्वव्यापी मोबिलिटी बजारको सञ्जालमा स्वागत गर्दछौँ । बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र फस्टाइरहेको पर्यटन अर्थतन्त्रले नेपाललाई एक गतिशील तथा तीव्र रूपमा विकसित भइरहेको बजार बनाएको छ । दक्षिण एशियामा एक दशकयता हाम्रो पहिलो नयाँ बजारका रूपमा नेपालले उबरको विकास यात्रामा महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ । हामी नेपालका यात्रु, चालक र पर्यटकहरूको बदलिँदो आवश्यकताहरू पूरा गर्न योगदान पुर्याउने अपेक्षा राख्दछौँ ।”
नेपालमा उबरको सुरुवातलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय सचिव श्री मुकुन्द प्रसाद निरौलाले भन्नुभयो, “पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधारहरूमध्ये एक हो र यातायात तथा पहुँचको सहजताले यस क्षेत्रको भावी विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । विश्वका ८० भन्दा बढी देशका लाखौँ यात्रुहरूले प्रयोग गर्ने विश्वसनीय प्लेटफर्मको रूपमा उबरको नेपाल आगमनले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नेपालको स्थानलाई थप मजबुत बनाउनेछ । यो सेवाले विदेशी पर्यटक तथा नेपाली नागरिक दुवैका लागि यात्रालाई अझ सहज र सुविधाजनक बनाउने विश्वास लिएका छौँ ।”
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय सचिव श्री गोपाल प्रसाद सिग्देलले भन्नुभयो, “नेपाल सरकार उबरलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी छ । यो आधुनिक, डिजिटल र समावेशी यातायात प्रणाली निर्माणतर्फको हाम्रो यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो । उबरको प्रवेशले नेपालको आर्थिक सम्भावनाप्रति अन्तर्राष्ट्रिय विश्वास बढिरहेको तथा विश्वव्यापी लगानी र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी दिगो पूर्वाधार निर्माणमा केन्द्रित भइरहेका बेला स्मार्ट मोबिलिटी समाधानहरूले महत्त्वपूर्ण भूमिका खेल्नेछन् । यस पहललाई हामी दिगो रोजगारी सिर्जना, शहरी यातायात सुधार तथा पर्यटन क्षेत्रको समृद्धिका लागि उत्प्रेरकका रूपमा हेर्दछौँ ।”
नेपालको मोबिलिटी (यातायात) प्रणाली पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकसित भएको छ । स्मार्टफोनको बढ्दो प्रयोग, उपभोक्ताहरूको बदलिँदो अपेक्षा, पर्यटन क्षेत्रको विस्तार तथा सहज शहरी यातायातको मागका कारण यो परिवर्तन सम्भव भएको हो । उबरको नेपाल प्रवेशले स्थानीय आवश्यकताअनुसार अनुकूलित, विश्वव्यापी रूपमा विश्वास गरिएको प्लेटफर्ममार्फत यात्राका थप विकल्पहरू उपलब्ध गराउने अवसरलाई प्रतिबिम्बित गर्दछ ।
उबरबारे
उबरको उद्देश्य “यात्रा र आवागमनमार्फत अवसर सिर्जना गर्नु” हो । सन् २०१० मा एउटा सरल प्रश्नको समाधान खोज्दै यसको सुरुवात भएको थियो- “एउटा बटन थिचेर सवारी कसरी पाउन सकिन्छ?” ७५ अर्बभन्दा बढी यात्रापछि, उबरले मानिसहरूलाई उनीहरू जान चाहेको स्थानसम्म अझ नजिक पुर्याउने विभिन्न सेवाहरू विकास गरिरहेको छ । मानिस, खाना र सामानहरूको शहरभित्रको आवागमनको स्वरूप परिवर्तन गर्दै उबरले विश्वभर नयाँ सम्भावनाका ढोकाहरू खोल्ने काम गरिरहेको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि